Comments Add Comment

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, नेवानिले घटायो भाडा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए ।

सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।

यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गर्ने निर्णय लिएको हो ।

निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाका कारण सिर्जना भएको यो अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा बढीमा १५ प्रतिशत मात्र नाफा राखेर घटाउने निर्णय गरेको हो ।

आयल निगमको यो निर्णयसँगै अब नेपाल वायुसेवा निगमको वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment