२५ जेठ काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ५-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । लगातार छैटौं जितपछि अष्ट्रेलियाले १८ अंक जोडेको छ र एसिया कप छनोटको निकै नजिक पुगेको छ । साथै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण नजिक पनि पुगेको छ ।
कुवेत सिटीमा भएको खेलमा अष्ट्रेलियाको लागि मिचेल डुकले दुई गोल गरे भने ह्यारी सुटर, जेमी म्याकक्लेरन र ट्रेन्ट सैन्सबरीले एक-एक गोल गरे । ताईपेका वि जी गोआले एक गोल फर्काए ।
त्यसअघि नेपाललाई ३-० ले पराजित गरेको जोर्डन ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट कुवेत १० अंकसहित तेस्रो स्थानमा छ । नेपाल ७ खेलबाट ६ अंकसहित चौथोमा रहँदा सातौं हार बेहोरेको चाइनिज ताइपेई अंकविहिन हुँदै पाँचौ स्थानमा छ ।
अब नेपालले अन्तिम खेल अष्ट्रेलियासंग शुक्रबार खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टोली एसिया कपमा सिधै छनोट हुनेछ भने विश्वकपको तेस्रो चरणको छनोटमा पुग्नेछ । यस्तै ८ समूहका दोस्रो हुने टोलीमध्ये उत्कृष्ट चार टोली पनि सिध एसिया कपमा पुग्नेछ र विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया 4