Comments Add Comment

रौतहटको हजमनियामा चार वर्षमा पनि बनेन सडक

२५ जेठ, रौतहट । रौतहटको गौर गंगापिपरा सडकखण्डको हजमिनियामा सडक निर्माणको काम लामो समयदेखि अवरुद्ध भएपछि स्थानीयहरु पीडित बनेका छन् ।

राजदेवी नगरपालिका वडा नं. २ र ५ मा पर्ने हजमिनियामा मुल सडकको निर्माण कार्य ४ वर्षदेखि अधुरो रहेको छ। सडक डिभिजन कार्यालयको लागतमा निर्माण सम्पन्न हुने भनिएको सो बाटो नबन्दा वर्षामा डुबान र गर्मीमा धुलोका कारण स्थानीय पीडित बनेका हुन ।

झण्डै सय मिटर लम्बाइको सो सडकमा दुवै तथा ढल बिचमा डिभाइडरसहितको डिजाइन छ । सो सडक निर्माणका लागी राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहको आफन्तको नाममा रहेको फर्म एल एक्स कन्सट्रक्सनले कुल ९६ लाखको टेण्डर आर्थिक वर्ष ७३/७४ मा ५६ लाखमा साकार गरेको थियो । सडक विभागले गरेको सो टेण्डरको हाल सम्म कार्य सम्पन्‍न हुन सकेको छैन ।

बाटो बनाउने भन्दै भएको कालोपत्रे सडक खनेर काम अधुरो पार्दै ठेकेदार कम्पनीले काम बन्द गरे वर्षौं बितिसक्दा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानियको आरोप छ । नगरप्रमुखको बदनियताका कारण आफूहरुले दुःख भोग्नु परेको स्थानिय नन्दलाल महतोले बताए । आफन्तको फर्ममा टेण्डर लिएर भएको सडक समेत बिगारेर वर्षौं देखी डुबान र धुलोमा मेयर सिंहले बस्न बाध्य बनाएको महतोको आरोप छ ।

यसैगरी सोही सडकखण्डमा बनाइने भनिएको डिभाइडरमा समेत गुणस्तरहिन काम भएको स्थानियको आरोप छ । गुणस्तरहिन ढलान र प्लास्टरका कारण डिभाइडर दिगो नहुने स्थानिय हरिन्द्र पण्डितले बताए । न्यून गुणस्तरको बालुवा र सिमेन्ट प्रयोग गर्दै भइरहेको सो कामको छानबिन हुनुपर्ने उनले बताए ।

स्थानियहरुले सडक डिभिजन कार्यालय, राजदेवी नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत अधुरो बाटो निर्माण कार्य सम्पन्न गराइ दिन बारम्बार निवेदन दिए पनि हालसम्म कसैले चासो देखाएका छैनन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment