
२८ जेठ, विराटनगर । प्रदेश-१ को प्रदेशसभामा विपक्षी दलले ढुंगा गिटी विदेश निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेका हुन् ।
‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा गर्नुपर्यो, कि माटो बचाऊ अभियान चलाउनु पर्यो, उनले भने,‘यदि सरकारले नगर्ने भए विपक्षी र नागरिक समाजले ढुंगा माटो जोगाउने अभियान सञ्चालन गर्नुपर्छ ।’
विगतमा राणा र पञ्चायतले आफ्नो सत्ता टिकाउन तराईको जंगल फडानी गरेको भन्दै सांसद खड्काले अहिलेको सरकारले पनि सत्ता टिकाउन ढुंगा गिटीको योजना ल्याएको आरोप लगाए ।
‘राणाहरुले आफ्नो सत्ता टिकाउन चार कोसे झाडी बेचे, पञ्चायतले तराईको वन फाँडेर लकडी बेचेर सत्ता टिकाउने कसरत गरे,’ उनले भने,‘तर न राणा शासन टिक्यो न पञ्चायत, अहिले नेपालको माटो बेच्ने नीति ल्याएछन्, यस्तो सरकार र सत्ता टिक्दैन ।’
पञ्चायत र राणाशासकका कारण चारकोसे झाडी केही भाग मात्र बाँकी रहेको भन्दै उनले ढुंङ्गा गिटी निकासी गर्दा पानीको मुहान सुक्ने र माटो सकिने बताए ।
‘यो सरकारको प्रक्रियाले पानीको मुहान र माटो सकिन्छ,’ उनले अघि भने,‘ माटोको रक्षाका निमित्त प्रदेश सरकारले आफ्नो धारणा क्लियर गर्न जरुरी छ ।’
प्रतिक्रिया 4