Comments Add Comment

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

२८ जेठ, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख पौडेलले शुक्रबार अपरान्ह संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेकी थिइन् ।

प्रदेश प्रमुखले आहृवान गरेको केही घण्टामै पोखरेल बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गर्न पुगेका थिए । कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे स्वयंम प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

चार दल र स्वतन्त्र सांसद मनाङेले लिखित पत्र समेत दिएका छन् ।

प्रदेश प्रमुखसँग भएको भेटमा मुख्यमन्त्रीमा दाबी पेश गरेका पोखरेलले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । ‘यहाँ सशरीर उपस्थित हुनु भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङलगायतलाई सनाखत गरियोस् भनेका छौं । हामी त्यसैको प्रतीक्षामा छौं’  पोखरेलले भने ।

प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

लगतै ३१ सांसदले प्रमुख प्रमुखको कार्यालयमै पोखरेलको मुख्यमन्त्री दाबीको पक्षमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका नेता पोखरेलले समयको चापका कारण छिटो निर्णय होस् भनेर अनुरोध गरेको जानकारी दिएका छन् । उनले भने, ‘उहाँले भोलिसम्म हेरेर तपाईंहरुलाई बोलाउँछु भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment