Comments Add Comment

आन्तरिक हवाई उडान अन्यौलमा

३० जेठ, काठमाडौं । नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान अन्यौलमा परेको छ । सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण तत्काल उडान खोल्ने सम्भावना पनि छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयबाट कुनै पनि सिफारिस आइसकेको छैन । पछिल्लो समय सरकारले काठमाडौं उपत्यकासहितका जिल्लामा घोषणा गरेको निषेधाज्ञाको समय सोमबार सकिँदै छ ।

उपत्यकामा आर्थिक गतिविधिहरु खुकुलो पारेर निषेधाज्ञा थप्ने तयारी समेत गरिएको छ । तर, हवाई उडान के गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘हामीले यो बारे निर्णय लिन सक्दैनौं, सीसीएमसी र मन्त्रिपरिषद्को निर्णय कुर्दैछौं ।’ सरकारले वैशाख अन्तिम साता अर्को निर्णय नभएसम्मका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।

उता, लामो समय बन्द हुँदा हवाई यात्रुसँगै व्यवसायी समेत संकटमा पर्दै गएका छन् । व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि उडान संचालनको वातावरण बनाउन समेत सरकारसँग आहृवान गरेका छन् । उनीहरुले १ असारबाट उडान खोल्न माग गरेका छन् ।

वायुसेवा संचालकले पहिले निषेधाज्ञा अवधिभरका लागि नेपाल सरकारबाट प्राप्त सुविधा दोस्रो लहरको निषेधाज्ञामा समेत निरन्तरता दिन आहृवान गरेका छन् । अन्तराष्ट्रियतर्फ घटेको हवाई इन्धनको मूल्य आन्तरिकमा समेत कार्यान्वयनमा ल्याई यात्रुलाई सुविधा दिन व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान खोल्नु पर्ने पक्षमा छन् । संक्रमणको जोखिम हेरेर कम जोखिम भएका गन्तब्यमा क्रमशः उडान खोल्नु पर्ने प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन् ।

‘उडान ठप्प बनाएर मात्र समस्या समाधान हुँदैन,’ उनले भने, ‘हाम्रो राय पनि मापदण्ड पालना गरी उडान सूचारु गर्नुपर्छ भन्ने नै हो ।’

नेपालमा दैनिक १४/१५ हजार यात्रुले जहाजमार्फत यात्रा गर्ने गरेको तथ्याङ्क छ । तर, सरकारले कोरोना भाइरसको महामारी बढेसँगै उडान रोक्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रियतर्फ समेत खासगरी खाडी मुलुकमा नियमित उडान खोल्नुपर्ने माग उच्च रहेको छ ।

अहिले कतार, टर्की र भारतमा मात्र नियमित उडान खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment