Comments Add Comment

इटलीको लोभलाग्दो लय

३ असार, काठमाडौं । लगातार दुई जित । दुवै खेलमा समान ३–० को जित । अनि नकआउट राउण्डमा स्थान बनाउने पहिलो टिम ।

अहिले भइरहेको युरोपियन च्याम्पियनसिप (युरोकप–२०२०) मा इटलीको सुरुवाती प्रदर्शन हो यो । इटलीको यात्रा कहाँसम्म पुग्छ त भन्न सकिन्न, तर ११ देशमा भइरहेको १६औं संस्करणको युरोकपमा इटलीले सुरुवातमै लय लिएको छ ।

समूह ए मा सुरुवाती दुई खेल जित्दै ६ अंक जोडिसकेको उसले अन्तिम खेल वेल्ससँग खेल्नेछ । यो खेलमा हार टारे इटली समूह विजेता बन्ने छ भने हारले उपविजेता हुनेछ ।

युरोकप सुरु हुनुअघि कमैले मात्र इटलीलाई उपाधि दाबेदार टिमको रुपमा हेरेका थिए । तर जब दुई खेलमा गज्जबको प्रदर्शन गर्‍यो, इटली उपाधिको दाबेदारको रुपमा अघि आएको छ । यद्यपि नकआउट चरणमा सुरुमै ठूला टिमसँग भिड्नुपर्ने अवस्था आउन सक्छ, त्यस्तोमा इटलीको पनि परीक्षा अवश्य हुनेछ ।

लोभलाग्दो यात्रा

इटलीको खेल र युरोकपसम्मको यात्रा लोभलाग्दो छ । २०१८ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली अपराजित छ । युरोकपअघि २७ खेलमा अपराजित रह्यो । युरोकप छनोटमा शतप्रतिशत खेल जित्ने दुई टिममध्ये इटली पनि एक थियो । इटली र बेल्जियमले आफ्नो समूहमा सबै १० खेल जितेका थिए ।

युरोकपमा सुरुवाती दुई खेल जित्दै इटलीले अपराजित यात्रालाई २९ खेलसम्म पुर्‍याएको छ, र झण्डै ९ दशकअघिको आफ्नै कीर्तिमान नजिक पुगेको छ । समूह चरणको अन्तिम खेलमा वेल्सविरुद्ध जित वा बराबरीले १९३० को दशकमा लगातार ३० खेलमा अपराजित रहेर बनाएको कीर्तिमान भेट्टाउने छ ।

पछिल्लो २९ खेलमा अपराजित इटलीले २४ खेल जित्दा ५ खेल बराबरी खेलेको छ । पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा कुल ३० गोल गरेको छ भने कुनै गोल बेहोरेको छैन । बरु हरेक खेलमा दुई वा त्योभन्दा बढी गोल गरेको छ ।

उसो त बुधबार राति स्वीट्जरल्याण्डमाथि ३–० को जित हात पर्दा बनाएको रेकर्ड कम होइन । स्वीट्जरल्याण्डसँग पछिल्लो ९ खेलमा इटली अपराजित छ । स्वीट्जरल्याण्डले इटलीलाई १९९३ को विश्वकप छनोटमा पराजित गरेको थियो । त्यसयता भएको ५ खेल जित्दा ४ खेल बराबरी भएको थियो ।

कसरी सम्भव भयो यो यात्रा ?

चार पटक विश्वकप जितिसकेको इटली एक पटकको युरो च्याम्पियन पनि हो । तर २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको इटली २०१८ को विश्वकपमा छनोट नै हुन सकेन । यसलाई लिएर इटलीको फुटबल आलोचित भयो ।

२०१८ मे मा रोवर्टो मान्सिनी प्रशिक्षक बनेयता इटलीको फुटबल फेरिएको छ । इन्टर मिलान, गालातासारे, जेनिथ सेन्ट पिटर्सवर्ग, म्यानचेष्टर सिटी जस्ता क्लब सम्हालिसकेका मान्सिनीले इटलीको टिम सम्हाल्दा सुरुमा त संघर्ष गर्नुपरेको थियो ।

तर इटलीले गज्जबको प्रदर्शन गर्दै आएको छ । मान्सिनीले ४–३–३ को फर्मेसन लागू गरेका छन्, जसमा १७ खेलमा ५३ गोल गरेको इटलीले ३ गोल मात्र खाएको छ ।

मान्सिनीले अनुभवीसँगै युवा खेलाडीलाई पनि अवसर दिएका छन् । २०१७ मा युरोपियन यू–२१ च्याम्पियनसिपको सेमिफाइनल पुगेका ६ खेलाडीलाई टिममा स्थान दिए । २१ वर्षीय फरवार्ड जिएकोम्पो रास्पाडवरीलाई चेक रिपब्लिकविरुद्ध डेब्यु गराए, जसको तुलना लेजेण्ड पाउलो रोसीसँग हुने गरेको छ ।

युरोपकपमा लगातार दुई खेल जितेपछि एभर्टनका पूर्व मिडफिल्डर लिओन ओस्मानले बीबीसी रेडियो फाइभ लाइभसँग कुरा गर्दै इटलीलाई ‘अ विनिङ मेसिस’ को संज्ञा दिएका छन् । यद्यपि ठूला टिमसँग खेल्न बाँकी रहेको उनले बताए ।

सिरी ए का पूर्व मिडफिल्डर पाउल ओकोन इटलीको जितको श्रेय प्रशिक्षक मान्सिनीलाई दिनुपर्ने बताए ।

ओप्टस स्पोर्टसँग उनले बताएअनुसार मान्सिनीले टिम बनाउँदा कुन खेलाडी कुन टिममा खेलिरहेका छन् भन्ने हेरेनन् । जो इटलीका लागि खेल्न चाहन्छन् र क्षमता पनि छ भन्ने हेरे । त्यसको उदाहरण सुसुलाको मिडफिल्डर जिएकोम्पो रास्पाडवरी हुन् । ६ महिना अगाडिसम्म उनको नाम धेरैलाई थाहा थिएन, तर स्वीट्जरल्याण्डमाथि ३–० को जित हात पार्दा हेडलाइन बनाउने खेलाडी बनेका छन् ।

यूईएफए, बीबीसी र ओप्टस स्पोर्टको सहयोगमा गोविन्दराज नेपालले तयार पारेको सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment