Comments Add Comment

वर्षभरिमा पर्ने पानी पाँच दिनमै पर्‍यो

मनाङमा धेरै क्षति किन ?

३ असार, काठमाडौं । वर्षभरिमा पर्ने पानी पाँच दिनमै परेपछि यसवर्ष मनसुनको सुरुमै बाढी र पहिरोले जनधनको अकल्पनीय क्षति पुर्‍याएको छ ।

मनसुनको सुरुमै भएको अत्यधिक वर्षा र त्यसको कारण आएको बाढीले पुर्‍याएको क्षतिबाट नयाँ चुनौती थपिएको महसुस मौसमविदहरुले गरेका छन् ।

मनाङमा धेरै क्षति किन ?

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो र दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिएको थियो । मनसुन सुरु भएदेखि असार १ गतेको बीचमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठ भन्छन्, ‘मनाङ, मुस्ताङमा धेरै ठूला खोला पनि छैनन् । साना खोल्साखोल्सी छन् । तर त्यहाँ आएको बाढीले नसोचेको क्षति पुर्याएको छ । यो हाम्रो पहिलो अनुभव हो ।’

गण्डकी प्रदेशका केही जिल्लाहरुमा त दुई सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । दुई सय मिलिमिटरभन्दा धेरै पानी परेका केन्द्रहरुमा म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्ले र पाल्पाको गण्डाकोट हुन् ।

मनाङमा वर्षभरिमा सरदर ३९५ मिलिमिटर पानी पर्दछ । मनसुन अवधिको चार महिनामा मात्रै सरदर २३४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

तर, यस वर्षको मनसुन सुरु भएपछिको दुई दिनकै अवधिमा मनाङमा झण्डै एक सय मिलमिटर वर्षा मापन भएको मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जानकारी दिए ।

प्रि–मनसुन सिजनमा मनाङको हुम्देमा १२४ मिलिमिटर पानी पर्ने गरेकोमा यस वर्षको प्रिमनसुन सिजनमा २३१ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले भनिन्, ‘प्रिमनसुनको पनि मे महिनामा मनाङमा सरदर पानी पर्ने भनेको ४७ मिलिमिटर हो । तर यो वर्षको मे महिनामै १६५ मिलिमिटर पानी परेको छ । जुन महिनाको १६ तारिखसम्म (असार २ गतेसम्म) १९६.८ मिलिमिटर वर्षा भएको छ ।’ प्रिमनसुनमै धेरै पानी पर्दा जमिन कमजोर भइसकेकाले पनि मनसुन सुरु हुनासाथ धेरै क्षति भएको मौसमविद कँडेलको भनाइ छ ।

यस्तै मुस्ताङमा मनसुन अवधिभर सरदर २७१ मिलिमिटर पानी परेको रेकर्ड मौसम विज्ञान विभागसँग छ । तर त्यसको ३० प्रतिशतभन्दा बढी पानी दुई दिनकै अवधिमा परेको छ । मुस्ताङमा दुई दिनको बीचमा ५० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ ।

मनसुनको सुरुवातमै भएको भारी वर्षा र बाढीको अवस्थालाई मौसमविदहरु ‘अनौठो’ भन्छन् । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठ भन्छन्, ‘मनाङ, मुस्ताङमा धेरै ठूला खोला पनि छैनन् । साना खोल्साखोल्सी छन् । तर त्यहाँ आएको बाढीले नसोचेको क्षति पुर्याएको छ । यो हाम्रो पहिलो अनुभव हो ।’

हिमालका यी दुई जिल्लालाई बाढीको हिसाबले मौसमविदले संवेदनशील क्षेत्र मानेका थिएनन् । तर, मनाङ हुँदै बग्ने मर्स्याङ्दी नदीको बाढीले सदरमुकाम चामे र नासो गाउँपालिकाको तालगाउँमा गरी १ सय बढी घरपरिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा पनि ‘अनौठो’

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सो प्रक्षेपणमा हिमाली र पहाडी भागमा धेरै पानी पर्ने उल्लेख छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा आएको बाढी–पहिरोले त्यो पूर्वानुमान मिलेको छ ।

बाढी–पहिरोले मनाङ, मुस्ताङ भन्दा धेरै बितण्डा सिन्धुपाल्चोकमा पनि पुर्‍यायो । माथिल्लो भागमा धेरै पानी नपरे पनि मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिलाई पनि मौसमविदले अनौठो मानेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकमा असार १ गते २९.२ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ । विभागका प्रवक्ता एवम् वरिष्ठ मौसमविद श्रेष्ठ भन्छन्, ‘बलेफीमा त पूर्वसंकेत पाएर राति नै सूचना सम्प्रेषण गर्यौं, जसले गर्दा धेरै क्षति भएन । तर, मेलम्चीको सन्दर्भमा त्यति ठूलो क्षति पुर्‍याउने बाढी आउने गरी वर्षा नै भएको छैन ।’

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा गएको ठूलो पहिरोले मेलम्ची नदी एक घण्टासम्म थुनिएर ताल बनेको र पछि बाँध फुटेर ठूलो बाढी आउँदा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

लेदोमाटोसहित एक्कासी आएको बहावका कारण मेलम्ची बजार भन्दा माथि नाकोटे भन्ने स्थानमा जडान गरिएको स्वचालित जल सतह मापन उपकरणले कामै नगरेको मौसम विज्ञान विभागले जनाएको छ ।

असार १ गते साँझ ६ बजेसम्म नाकोटे जलमापन केन्द्रमा जलसतह एक्कासी ४.७ मिटरबाट घटेर ३ मिटर मापन भएको थियो । तर साँझ पौने ७ बजेदेखि ७ बजेसम्मको बीचमा अकस्मात् जलसतह बढेर ६ मिटर पुगेको थियो ।

त्यसपछि स्वचालित जलसतह मापन उपकरणबाट तथ्यांक सम्प्रेषण हुन सकेन । विभागका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘२० मिनेटकै बीचमा यसरी पानी बढ्यो कि हाम्रो सिस्टम नै बगायो । वार्निङ हामीकहाँ आउनु अगाडि नै सिस्टम गइसक्यो ।’ ‘हामीलाई एसएमएस पठाउनै १५–२० मिनेट लाग्छ, खोला विस्तारै बढेर बाढी आउने खालको भएको भए हामी पनि सतर्क हुन्थ्यौं, एसएमएस पठाएर सतर्क रहन भन्थ्यौं । तर त्यो मौकासमेत हामीले पाएनौं,’ उनले भने ।

उत्तरी भेगमा जलमापन केन्द्र आवश्यक

बाढीको पूर्व खतराको संकेत पाउनासाथ जल तथा मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरुको मोबाइलमा एसएमएस पठाउँछ र मानिसहरु बाढी आउनु अगाडि नै सुरक्षित स्थानमा गएर बस्न सक्छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखालाई खतराको सूचना दिने यस्ता तीन सय वटा स्टेशन छन् ।

अत्यन्त जोखिम क्षेत्र मानिएका इम्जा र च्छोरोल्पा हिमतालको पूर्वसूचना दिने सिस्टम जडान गरिएको छ । लाङटाङ र अन्नपूर्णमा पनि छन् । यस वर्ष तातोपानी, किमाथांका र टिमुरेमा पनि यस्ता पूर्वसूचना दिने प्रणाली जडान गर्न बजेट छुट्याइएको विभागका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो वर्षको मनसुनको सुरुवातमै भएको क्षतिलाई हेरेर स्वचालित मौसम तथा जल मापन केन्द्रहरुको सञ्जाल विस्तार गर्नुपर्ने देखिएको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद कँडेल बताउँछिन् ।

उनले भनिन्, ‘देशको उत्तरी जिल्लाहरुमा आएको बाढी र पहिरोबाट पाठ सिक्दै स्वचालित मौसम तथा जल मापन केन्द्रहरुको सञ्जाल स्थापना गर्नुपर्ने र मौसम पूर्वानुमान गर्ने निकायलाई आवश्यक स्रोत–साधनले सम्पन्न गराउनु पर्ने भएको छ ।’

कार्यक्षेत्र बाझियो

मनाङ र सिन्धुपाल्चोकमा भएका घटनाक्रमलाई जल तथा मौसम विज्ञान विभागका अधिकारीहरु नयाँ अनुभव मान्छन् । वर्षा र बाढी एकअर्कासँग सम्बन्धित भए पनि यो क्षेत्रमा काम गर्ने सरकारका फरक–फरक विभागहरु छन् । पहिरोको क्षेत्रमा काम गर्ने विशेषज्ञहरु खानी तथा भूगर्भ विभागमा छन् । वर्षाको क्षेत्रमा काम गर्ने मौसम विज्ञान विभाग छ ।

खानी तथा भूगर्भ विभाग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत छ भने मौसम विज्ञान विभाग ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालय अन्तर्गत छ ।

अन्तरसम्बन्धित विषयमा एकीकृत ढंगले काम गर्नुपर्ने आवश्यकता देखिएको मौसमविद श्रेष्ठ बताउँछन् । उनले भने, ‘पहिरोको पनि र वर्षाको पनि ज्ञान भएकालाई एकठाउँमा राखेर एकीकृत रुपमा काम गर्नुपर्छ । एकीकृत ढंगले काम गर्ने बेला कार्यक्षेत्र नै बाझिएको अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विनोद घिमिरे

ट्रेन्डिङ

Advertisment