Comments Add Comment

जाजरकोटमा हावाहुरी, पशुचौपाया छाड्न गएका ७ जना तीन दिनदेखि बेपत्ता

फाइल तस्वीर

३ असार, सुर्खेत । जाजरकोटको कुशे पाटनमा हावाहुरी चल्दा ७ जना बेपत्ता भएका छन् । ६ दर्जनभन्दा बढी पशुचौपाया हावाहुरीका कारण मरेको आशंका गरिएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

‘३१ गते बेलुका स्थानीयहरु पाटनमा पशुचौपाया छाड्न गएका रहेछन्, अत्याधिक हावाहुरीका कारण ७ जना बेपत्ता भएको खबर आएको छ,’ डीएसपी थापाले भने, ‘सँगै गएका एक जनाले हिजो बिहान प्रहरीलाई जानकारी दिए । उनीहरु दुई दिनदेखि बेपत्ता छन् ।’

डीएसपी थापाका अनुसार गाई, भैंसी र भेंडालगायत पशुचौपाया लिएर ११ जना गत जेठ ३१ गते पाटन पुगेका थिए । उनीहरु गत मंगलबारदेखि हावाहुरीमा परेर पाटनको जलजलाबाट बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कुशे गाउँपालिका–८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया रहेका छन् ।

उनीहरुसँगै गएका ११ जनामध्ये सोही ठाउँका २४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय ईश्वर रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा रोकाया घर फर्किएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जना प्रहरी र ५ जना हराएका आफन्तहरु गरी १२ जनाको टोली पाटनतर्फ गएको डीएसपी थापाले जानकारी दिए ।

‘हिजो नै प्रहरी र स्थानीयसहित १२ जनाको टोली पाटनतर्फ गएको छ । तर, पाटनमा पुग्न मात्रै दुई दिन लाग्छ,’ उनले भने, ‘भारी वर्षा र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिन भइरहेको छ ।’

प्रहरी र स्थानीयको टोली कुशे हिमालको फेदीमा पुगे पनि अत्याधिक हावाहुरी र चट्याङका कारण लेक चढ्न नसकेको डीएसपी थापाले बताए । उनका अनुसार हावाहुरी र चट्याङले कुशे पाटनमा ६ दर्जन बढी गाईभैंसी र भेंडाबाख्रा लगायतका पशुचौपाया मरेको आशंका गरिएको छ । कुशे पाटन ४ हजारदेखि ४ हजार ८०० मिटरको उचाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment