Comments Add Comment

फर्नान्डो रापालिनी : युरोकप खेलाउने अर्जेन्टिनी रेफ्री

४ असार, काठमाडौं । अहिले विश्वमा दई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका भइरहेको छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न ११ शहरमा र कोपा अमेरिकाको ४७ औं संस्करण ब्राजिलमा भइरहेको छ ।

युरोकप खेलाउने रेफ्रीहरु युरोपकै हुने गर्छन् । तर यस पटक एक जना रेफ्री दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका छन् । उनी हुन फर्नान्डो रापालिनी । यी ४३ वर्षीय रापालिनी यस पटक युरोकप खेलाउने १० रेफ्रीमध्ये युरोप बाहिरका एक जनामात्र हुन् ।

रापालिनीले बिहीबार समूह सी मा रहेका युक्रेन र नर्थ मेसेडोनियाबीचको खेल खेलाए । उनलाई कडा निर्णय लिने र खेलाडीले गल्ती गरे कार्ड दिन नहिच्किचाउने रेफ्रीको रुपमा चिनिन्छ ।

युरोकपको पहिलो खेलमै उनले त्यस विशेषता देखाए । एकै खेलमा दई पेनाल्टी दिए । उक्त खेलमा उनले युक्रेनका एक र नर्थ मेसेडोनियाका दुई खेलाडीलाई पहेँलो कार्ड देखाए । दुवै टिमलाई एक-एक पेनाल्टी दिए । दुवै पेनाल्टी बचाउ भएको उक्त खेलमा युक्रेन २-१ ले विजयी भएको थियो ।

को हुन् फर्नान्डो रापालिनी ?

रापालिनी सन् १९७८ मा अर्जेन्टिनाको ला प्लाटामा जन्मिएका हुन् । उनी सन् २०१४ देखि फिफा रेफ्री छन । उनले सन् २०१५ जुनमा चिली र एल शाल्भाडोरबीच पहिलो अन्तर्राष्ट्रिय खेल खेलाएका थिए ।

दक्षिण अमेरिकाको उत्कृष्ट अफिसियलमध्ये एक रहेका रापालिनीले आफ्नो देश र महादेशमा ठूला खेलहरु खेलाएका छन् । उनले सन् २०१३ र २०१८ को अर्जेन्टिना सुपर कप, २०१७ को अर्जेन्टिना कप फाइनल, २०१९ को अर्जेन्टिना सुपर लिग च्याम्पियनसिप र २०२० को कोपा अमेरिका खेलाएका छन् ।

कार्ड देखाउन माहिर

रापालिनी कार्ड देखाउन नहिचकिचाउने रेफ्री हुन् । उनले गत सिजन लिगमा १६ खेलमा १११ पहेँको कार्ड देखाएका थिए । अर्जेन्टिना प्रिमियर डिभिजनमा उनले एक खेलमा ६:८१ को औषतका पहेँको कार्ड देखाएका थिए ।

यस्तै उनले १६ खेलमा ५ रातो कार्ड समेत देखाए । यस्तै कोपा लिबर्टाडोरेसको ६ खेलमा उनले ३८ पहेँको कार्ड र १० रातो कार्ड देखाए ।

किन युरोकपमा ?

युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफए र दक्षिण अमेरिकी पुटबलको सर्वोच्च निकाय कन्मेबोलबीच एक अर्कासंग रेफ्री आदान प्रदान गर्ने कार्यक्रममा सम्झौता भएको छ । त्यसै अनुसार रापालिनीसहित उनको टिमले युरोकपमा खेल खेलाएको हो ।

त्यही कार्यक्रम अनुसार रापालिनी युरोकपमा रेफ्री नियुक्त भएका थिए । यस्तै स्पेनिस रेफ्री जेसस गिल मान्जानोले कोपा अमेरिकामा रेफ्री गर्नेछन् । मान्जोनाले ला लिगामा बार्सिलोना र गिरोनाबीचको खेल खेलाएका थिए ।

मान्जोनाले कोपा अमेरिकामा चिली र बोलिभियाबीच खेल खेलाउनेछन् । युईएफएका अध्यक्ष अलेक्जान्डर केफेरिनले रेफ्री आदानप्रदानले गर्दा दुवै प्रतियोगितालाई समृद्ध बनाउने र शीर्ष रेफ्रीहरुको अनुभव वृद्धि हुने बताए ।

‘युरोप र दक्षिण अमेरिकासंग रेफ्रीसहित धेरै फुटबल गुण र परम्परा छ । यो आदानप्रदान हाम्रो सहयोग कार्यक्रमको एक परिभाषित हिस्सा हो । जसले हामीलाई हाम्रो प्रतियोगिता सुधार गर्न मद्दत गर्दछ’ उनले भनेका छन् ।

यस्तै कन्मेबोलका अध्यक्ष अलेजान्द्रो डोमिन्गुएजले कन्मेबोलको आफ्नो रेफ्रीलाई प्राविधिक उपकरण प्रयोगका लागि व्यवसायिक र राम्रो प्रशिक्षण दिनु आफूहरुको उद्देश्य रहेको बताए ।

‘हामी विश्वस्त छौं कि यस क्षेत्रमा युईएफएसँगको सहयोगले दुबै संघलाई ठूलो फाइदा पुर्‍याउनेछ । यो सुरुवात मात्र हो । हामी सहयोग सम्झौताहरू विस्तार र सुदृढ पार्न युईएफएका साथीहरूसँग निरन्तर सहकार्य गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment