
सुखानुभूतिका सन्दर्भमा धेरै अध्ययन भएको पाइन्छ । अध्यात्म र विज्ञान दुवैले सुख वा खुशीलार्ई कसरी अनुभूति गर्न सकिन्छ भन्ने विषयमा विभिन्न खालका धारणा प्रस्तुत गरेका छन् ।
साधारणतया खुशीलाई एक विशेष घटनासँग जोडेर हेर्ने गरिन्छ भने सुखलाई निरन्तर प्रक्रियाको रुपमा हेर्ने गरिन्छ । अर्थात् जो लामो समयसम्म खुशी छ उसलाई सुखी भन्न सकिन्छ । जो कोही मानिस सुख प्राप्तिको निम्ति तल्लीन हुन्छ । तथापि प्रायः मानिसहरू दुःखी भेटिन्छन् । कारण सोध्ने हो भने हरेकसँग अनेक कारणहरू भेटिन सक्छन् ।
तर तपाईं दुःखी हुनुको प्रमुख कारण भनेको तपाईं खुशी हुन नचाहनु हो । धेरैले भन्नुहोला यो झुट हो । यो केही हदसम्म ठीक पनि हो तर हामीले आफ्ना बानीहरूलाई यसरी विकसित गरेका छौं कि हामी चाहेर पनि खुशी हुन सक्दैनौं । त्यसो हो भने खुशी हुन के गर्ने ? यो प्रश्नको उत्तर खोज्ने प्रयत्न गरौं ।
खुशी हुन नसक्नुका दुई कारण छन् । एक– आन्तरिक, दोस्रो– वातावरणीय वा बाह्य कारण । हामी वातावरणीय कारणलाई प्रमुख ठान्ने गर्छौं । जस्तै कि आफ्नो नजिकको मान्छेले तपाईंको इच्छा विपरीत कुनै कार्य गर्नु, धोका दिनु वा कहिलेकाहीं तपाईंले भन्दै नभनेका भावना बुझ्न नसक्नु लगायतका कारणले तपाईंले दुःखी अनुभव गर्नुहुन्छ ।
अझ कतिपय अवस्थामा त कसैले ठूलो स्वरमा बोल्यो मात्रै भने पनि हाम्रो मन दुख्छ । कति कुराहरू त हामीसँग सम्बन्धित नहुँदा पनि हामी खराब महसुस गरिरहेका हुन्छौं । जस्तै कि कोभिड महामारीमा आफू सुरक्षित रहँदा पनि मृत्युदर बढेको खबरले हामीलाई त्रसित तुल्याउँछ, फलस्वरुप हामी दुःखी हुन पुग्छौं ।
वातावरणमा हुने हाम्रा इच्छा विपरीतका घटनाहरूले हामीलाई दुःखी तुल्याउँछन्, जुन घटना हाम्रो नियन्त्रण बाहिरका हुन्छन् । आन्तरिक रुपमा हेर्ने हो भने हामी विगतमा रुमल्लिएर वा भविष्यको चिन्ता गरेर पनि दुःखी बनिरहेका हुन्छौं । हामीमध्ये कति त हुनै नसक्ने प्रकृतिका समस्याहरूको कल्पना गरेर समेत दुःखी बनिरहेका हुन्छौं ।
खुशी हुनका लागि सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि वातावरणमा हुने घटना र हाम्रो खुशी अन्तरसम्बन्धित विषय होइनन् र वातावरणमा घट्ने घटनामा हाम्रो नियन्त्रण पनि हुँदैन । तर यी परिस्थितिमा हामीले जनाउने प्रतिक्रियामा हाम्रो नियन्त्रण रहन्छ ।
त्यसैले कुनै परिस्थिति विशेषले कसैलाई एकदम ठूलो चोट पुर्याउँछ भने सोही विषयले कसैलाई केही असर समेत गर्दैन । यस अर्थमा खुशी नितान्त हाम्रो सोच वा हामीले जनाउने प्रतिक्रियाद्वारा निर्मित हुने विषय हो ।
वातावरणमा जस्तो परिस्थिति आए पनि आफूलाई शान्त र धैर्य राख्न सक्नु नै वास्तविक सुख हो । यो कुरालाई बुझ्न र कार्यान्वयन गर्न निश्चय नै केही समय लाग्न सक्छ । किनकि हामीले सत्य मानिरहेको कुरालाई नकार्दै नयाँ ढाँचामा ढल्न केही कसरत गर्नैपर्ने हुन्छ । तर यो सम्भव छ, भन्ने नयाँ चिन्तनले तपाईंलाई विषम परिस्थितिमा पनि सकारात्मक रहन प्रेरित गर्नेछ ।
यसबाहेक हाम्रो दैनिकीमा सामान्य फेरबदल कसरत र योग, स्वस्थ्य खाना, साँझ बिहान भगवानसँग प्रार्थनाले हामीलाई फूर्तिलो तथा मानसिक रुपले बलियो बनाउँछ । आजको समयमा त अनावश्यक र अत्याधिक मात्रामा नकारात्मक सूचनाको प्रवाहले हामीमा यस्तै सूचना ग्रहण गर्ने बानी परेको छ । यसले गर्दा पनि हामीमा कुनै पनि घटनाप्रति नकारात्मक दृष्टिकोण र पूर्वाग्रह मिश्रित सोच हाबी हुने गर्छ । त्यसैले सही र आवश्यक सूचनाको मात्र खपत गर्ने बानीको विकासले थकान कम गराइ खुशीको अनुभव गराउँछ ।
समय–समयमा हुने पारिवारिक वा मन मिल्ने व्यक्तिसँगको भेटघाटले पनि आनन्दित तुल्याउँछ । आफ्नो रुचिको क्षेत्रमा नयाँ कुरा सिक्दा पनि हामी खुशी पाउँछौं ।
समग्रमा भन्नुपर्दा सुखी रहन चाहने व्यक्तिले आफ्नो सोचमा आवश्यकता अनुरुपको नियन्त्रण राखेर विषम परिस्थितिमा पनि त्यसको फलस्वरुप प्राप्त भएका पाठहरूलाई याद गरेर शान्त रहने कोशिश गर्नुपर्छ ।
मनको शान्ति नै सुखको रहस्य हो । यसका लागि आफ्ना कमीकमजोरी केलाउँदै स्वचिन्तन् गर्नुपर्छ । यसले एकातर्फ खुशी प्रदान गर्छ भने अर्कोतर्फ व्यक्तित्व विकासमा समेत सहयोग गर्छ ।
(भट्टराई जनता बहुमुखी क्याम्पस इटहरीकी प्राध्यापक हुन् ।)
प्रतिक्रिया 4