+
+
Shares

कांग्रेसको भविष्य क्रियाशील सदस्यको विवेकमा निर्भर

प्रकाश पोख्रेल प्रकाश पोख्रेल
२०७८ असार ६ गते १२:४२

ढिलै भए पनि यतिबेला नेपाली कांग्रेसको त्राण जोगाउन नेतृत्व पंक्ति अग्रसर देखिएको छ । तर कोरोना महामारी र प्राकृतिक विपत्तिका कारण अधिवेशन सम्पन्न होला/नहोला भन्ने आशंका यथावत् नै छ ।

संवैधानिक बाध्यताका कारण आगामी भदौभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले उक्त समयभित्र वडास्तरका अधिवेशन शुरू गरेर केन्द्रीय अधिवेशन पछाडि धकेल्ने दाउ सभापतिमा रहेको भन्ने आशंका अझै टरिसकेको छैन ।

यद्यपि कुनै पनि बहानामा अधिवेशनको मिति सार्नुहुँदैन । जस्तोसुकै विषम परिस्थितिमा पनि आधुनिक प्रविधिको प्रयोग गरेर वा निर्वाचन प्रणालीलाई विकेन्द्रित गरेर भए पनि अधिवेशन सम्पन्न गर्न आवश्यक छ ।

प्रकाश पोख्रेल

भावनात्मक रूपमा एकीकृत हुन नसकेको नेपाली कांग्रेस नेतृत्वको अक्षमताकै कारण मुलुकमा लोकतन्त्र कमजोर बन्दै गएको भन्ने अभिमत बढिरहेका बेला नयाँ नेतृत्वका लागि हुन गइरहेको कांग्रेसको महाधिवेशनलाई चौतर्फी रूपमा विशेष महत्वका साथ हेरिएको छ ।

समयमै अधिवेशन गराउने तत्परता नेतृत्वले नलिएका कारण कोरोना महामारीका बीचमा अधिवेशन गर्नुपर्ने बाध्यात्मक चुनौती कांग्रेससामु आइपरेको हो । २०७८ भदौ महीनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएका कारण अधिवेशन गराउन कांग्रेस नेतृत्व तम्सिएको हो ।

प्रधानमन्त्री केपी ओलीको जस्तो कुर्सी मोह कांग्रेस सभापतिमा हुँदैनथ्यो भने विधानले तोकेको समयभित्र अधिवेशन सम्पन्न भइसक्थ्यो भन्ने अधिकतर कांग्रेस कार्यकर्ताको बुझाइ छ ।

नेपाली कांग्रेस अधिवेशनको तयारीमा जुटिरहेको प्रसङ्गमा कांग्रेस समर्थक एकजना विद्वानले पंक्तिकारलाई फोन गरेर भन्नुभयो, “तपाइँका धेरै लेखहरू पढें तर २०७७ चैत १३ गते नागरिक दैनिकमा प्रकाशित ‘खै कांग्रेस’ शीर्षकको लेख अलि ‘बायस’ भएन र ?”

मेरो जवाफ रह्यो– कुन अर्थमा बायस भयो ? ‘तपाईंले पार्टी सभापतिमाथि प्रहार गरे जस्तो लाग्यो ।’ महोदय, के एउटा स्वतन्त्र लेखकको धर्म स्तुतिगान मात्र लेख्नु हो र ? वास्तविक धरातलमा टेकेर लेख्दै गर्दा कसरी ‘बायस’ को ट्याग लगाउन मिल्छ ?

पार्टीलाई जीवन्तता प्रदान गर्न युवा नेतृत्व अग्रसर हुनुपर्छ भन्दै भविष्यमा नेतृत्वको सम्भावना बोकेका युवा नेतालाई लक्षित गरी ‘काँतर युवा’ शीर्षकमा लेख प्रकाशित गर्दा युवा नेतृत्वबाट ‘बायस’ को कुरा उठेन । पाका नेताको फरिया समाएर मात्र वैतरणी पार गर्ने सपनामा हराउने कि हिम्मतका साथ नेतृत्व हत्याउन अग्रसर हुने भन्ने उक्त लेखको निचोड थियो ।

२०५१ सालमा संसद विघटन गरेर नेपालमा अस्थिर राजनीतिको बीजारोपण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो भनेर लेख्दै गर्दा ‘बायस’ को कुरा उठेन । नेपाली कांग्रेसको बैठक बहिष्कार गरी आफ्नो गुटको भेला गरिरहँदा ‘हलो अड्काउने गोरु चुट्ने’ भनेर लेखिरहँदा रामचन्द्र पौडेल समूहले उक्त लेखलाई ‘बायस’ को नजरले हेरे जस्तो लागेन ।

गुट बलियो बनाउने अभियानलाई चिर्दै कांग्रेस बलियो बनाउनुपर्ने सन्देश कार्यकर्ता तहमा सञ्चार हुन जरूरी छ । तब मात्र पार्टीभित्र हावी हुँदै गएको ‘धनवाद’ र ‘डनवाद’लाई निरुत्साहित गर्न सकिन्छ ।

‘अब युवा प्रधानमन्त्री’ शीर्षकमा लेखिरहँदा के पाका नेताहरूले ‘बायस’ को नजरले हेर्न सुहाउँछ ? कांग्रेसका त्यागी नेताहरू गुट बलियो बनाउन छाडेर कांग्रेस बलियो बनाउने अभियानमा लाग्नुपर्छ यदि कांग्रेस जोगाउने हो भने, भनिरहँदा कसरी ‘बायस’ भन्न मिल्छ ?

जयजयकारको भजनको तालमा मात्र नेताको नृत्य भइरहँदा कांग्रेसको अस्तित्व कता पुग्ला ? मैले भनें ‘आज तपाईंको प्रश्नले कांग्रेस नेतृत्वप्रति झन् बढी घोत्लिन प्रेरित गर्‍यो धन्यवाद ।’

संविधानलाई उपहास गर्ने प्रधानमन्त्री केपी ओली कदमको विरुद्धमा उत्रन नेपाली कांग्रेसमा संस्थापन इतर समूहको दबाब चाहिने, संसद पुनःस्थापनपश्चात् प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गरी मुलुकमा विधिको शासन कायम रहेको सन्देश जनतासामु सञ्चार गर्नुको सट्टा ओली बचाउ अभियानमा बल पुग्ने गरी वक्तव्य जारी गरेको सन्देश सम्प्रेषण हुनु कसरी बायस हुन सक्छ ?

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको नेतृत्वमा ऐतिहासिक आन्दोलन सफल भएका छन् । २०४६ सालको जनआन्दोलन लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा नेपाली कांग्रेसले नै गरेको थियो । तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०४७ सालको संविधान जारी भएसँगै मुलुक बहुदलीय संसदीय प्रणालीमा प्रवेश गरेको थियो ।

२०६२/६३ सालको जनआन्दोलन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सफल भएको थियो । सशस्त्र विद्रोहमा लागेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने ऐतिहासिक नेतृत्वदायी भूमिका पनि गिरिजाप्रसाद कोइरालाले नै गरेका थिए ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान २०७२ जारी भएको इतिहास छ । नेपालको संविधान २०७२ कार्यान्वयन गराउने नेतृत्वदायी भूमिका कांग्रेस सभापति शेरबहादुर देउवाले नै गरेका हुन् । उनले माओवादीसँग कार्यगत एकता गरी मुलुकमा स्थानीय चुनाव सम्पन्न गराएका थिए ।

माओवादीसँगको चुनावी तालमेल मिलाउन ढंग नपुर्‍याउँदा कांग्रेस यो गतिमा पुगेको भन्ने चेत नेतृत्वमा अझै खुलेको छैन । ‘अब भन्नुस् के मेरो धारणा बायस छ ?’ त्यसपछि ती विद्वान नाजवाफ भए ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले ४ असार २०७८ शुक्रबार पारित गरेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओलीले सरकार बनेकै दिनबाट संसद विघटनको षडयन्त्र गरेको उल्लेख गरिएबाट प्रष्ट हुन्छ कि कांग्रेस नेतृत्व ओलीमा निहित प्रतिगामी सोचप्रति बेखबर थिएन ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएकै दिनदेखि नेपालको संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कमजोर गर्ने काममा उद्यत रहेको सर्वविदितै छ’ राजनीतिक प्रस्तावमा भनिएको छ, ‘यो सरकार कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सर्वदा असफल रह्यो । देशमा सुशासन दिन सकेन । देश र जनताका हितमा कुनै पनि काम गर्न सरकार असफल भयो ।’

ओली सरकारको रबैयाप्रति कांग्रेस नेतृत्व मौन बसेकै कारण आजको परिस्थिति निर्माण भएको कांग्रेस केन्द्रीय समितिको स्वीकारोक्तिको रूपमा राजनीतिक प्रतिवेदनलाई लिन सकिन्छ ।

कम्युनिष्टहरूसँग चोचोमोचो मिलाउँदै आफ्नो कार्यकाल लम्ब्याउने प्रयत्नमा कांग्रेस सभापति लागेकै कारण नेपाली कांग्रेस कमजोर बन्दै गएको यथार्थता जगजाहेर छ ।

राजनीतिमा व्यक्ति प्रधान होइन प्रवृत्ति प्रधान हुन्छ । केपी ओलीसँग व्यक्तिगत रूपमा जतिसुकै साइनो जोडिएको भए तापनि ओली प्रवृत्तिकै सती जानुपर्ने कांग्रेस नेतृत्वलाई के बाध्यता थियो ?

व्यक्तिगत रूपमा नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवालाई मैले अत्यन्त सम्मान गर्छु । नेपालमा प्रजातन्त्र स्थापना गर्न देउवाले गरेको संघर्ष र उनले बेहोरेको यातना इतिहासको पानामा अङ्कित छ ।

शेरबहादुर देउवाले पार्टीभित्रको चरम असन्तुष्टिलाई आन्तरिक रूपमै व्यवस्थापन गर्न संघर्षमा उत्रन छोडेर नेपाली कांग्रेसलाई विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्नु कांग्रेसको इतिहासकै गलत कदम थियो भनिरहँदा ‘बायस’ भएको भन्न मिल्छ ? पार्टी एकीकरण भइसक्दा समेत आजसम्म कांग्रेस भावनात्मक रूपमा एकीकरण भएको महसूस कार्यकर्ताले गर्न पाएका छैनन् ।

नेताहरूका कमि–कमजोरी औंल्याएर उनीहरूलाई सुध्रने मौका निर्माण गर्नुको सट्टा स्तुतिगान गाएर चाकडी बजाउने प्रवृत्तिले नेपालमा लोकतन्त्र बद्नाम हुँदै गएको तथ्यलाई नकार्न सकिंदैन ।

कांग्रेस नेतृत्वभित्रको प्रवृत्तिलाई प्रतिनिधि घटनाको रूपमा मेरो अनुभव यहाँ प्रस्तुत गरेको छु । नेपाली कांग्रेसका सभापतिले आफ्नो कार्यकाल सकिए पश्चात् विभिन्न विभाग गठन गरिरहँदा कांग्रेसका एकजना नेता तथा मेरा शुभचिन्तक मित्रले मलाई सुझाएका थिए– ‘तपाईं जत्तिको व्यक्तित्व पार्टीको मूलधारमा रहेर काम गर्नुपर्छ । तर शेरबहादुर दाइलाई पुनः सभापतिमा दोहोर्‍याउन सहयोग हुनुपर्छ । म पहल गरौं ।’

त्यतिबेला मेरो जवाफ रह्यो पार्टीको जिम्मेवार तहमा रहेर स्वतन्त्र विचार प्रेषित गर्न बन्देज हुन्छ । त्यसैले त्यतातर्फ मैले बढी चासो नै देखाइनँ । मप्रति शुभेक्षा राख्ने साथीलाई धन्यवाद त दिएँ तर मलाई भित्र–भित्र हाँसो उठिरहेको थियो म जस्तो समालोचकलाई नेतृत्वले पार्टी संगठनको जिम्मेवारी दिनु त अनौठो विषय नै बन्न सक्छ ।

नेपाली कांग्रेसको संगठनलाई मजबूत बनाउने अभियानमा विभिन्न ढंगले योगदान पुर्‍याएका र देशव्यापी दौडाहामा लाग्ने पार्टीका धेरै शुभचिन्तकहरूलाई अधिवेशनको समयमा आफ्नै जिल्लामा त टुरिष्टको ट्याग लगाएर किनारा लगाइन्छ भने राष्ट्रिय राजनीतिको मूलधारमा रहेर काम गर्न एउटा कुनाबाट लेख मार्फत नेताहरूलाई खबरदारी गर्दै आवश्यक सुझाव दिने बबुरो लेखकलाई कसरी अवसर जुट्थ्यो होला र ?

हुन त शक्तिशाली नेताको चाकडी बजाउन सके त्यो पनि असम्भव छैन कांग्रेसभित्र । जुन स्वाभिमानी व्यक्तिका लागि जटिल विषय हो । पार्टी वृत्तमा हराएका तिनै स्वाभिमानी शुभचिन्तकहरूले नै नेपाली कांग्रेसलाई बचाएको यथार्थतालाई पार्टी नेतृत्वले अस्वीकार गर्न पटक्कै मिल्दैन । असल शुभचिन्तकको एउटै धर्म हुन्छ समालोचनात्मक टिप्पणी । दलका नेताहरूले आफ्नो स्तुतिगान भन्दा न त अरू नै सुन्न चाहन्छन् न त पढ्न नै ।

परिस्थितिको मूल्यांकन गरेर अगाडि बढ्न सके मात्र सफलता हासिल हुन सक्छ । चाकडीमै रमाउनेहरूबाट यथार्थ सुझाव र सल्लाह प्राप्त हुन सक्दैन भन्ने चेतना नेतृत्वमा हुन जरूरी छ ।

समयमै पार्टी अधिवेशन गराउन नसक्दा अहिले संविधानको छिद्रमा नेपाली कांग्रेसको अस्तित्व बचेको यथार्थता औंल्याउँदै गर्दा सभापतिप्रति ‘बायस’ भएको भन्न मिल्छ कि मिल्दैन ? बीपीको आदर्शलाई स्थापित गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइरालाहरूमा एकता हुनुपर्छ भनिरहँदा सभापति शेरबहादुर देउवालाई ‘बायस’ गरेको कसरी भन्न मिल्छ ?

बरु देउवाले त कांग्रेसलाई बलियो बनाउनका लागि आफू अभिभावक बनेर सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व स्थापित गराउन हिम्मत देखाउन सक्नुपर्छ । उहाँ त अहिले पनि पार्टी सभापति हुनुहुन्छ । पटक–पटक प्रधानमन्त्री पनि भइसक्नुभएको छ ।

उपयुक्त समयमा उपयुक्त सुझाव र सल्लाह दिने कर्तव्य र दायित्व आम बुद्धिजीवीमा हुन जरूरी छ । नेताहरूको स्तुतिगान मात्र गाइरहँदा न त नेतालाई सुध्रने मौका मिल्छ न त पार्टीलाई फाइदा नै पुग्छ ।

नेपालको राजनीतिमा लोकतान्त्रिक संसदीय प्रणालीको इमानदार संरक्षक नेपाली कांग्रेस बाहेक अन्य दललाई भर गर्न सकिने अवस्था छैन । कांग्रेस बलियो रहे मात्र लोकतान्त्रिक संसदीय प्रणाली बलियो रहने हो । कांग्रेस बलियो बनाउन सक्षम र गतिशील नेतृत्वको खाँचो छ ।

नेपाली जनताले चुनावको समयमा विवेक पुर्‍याउन नसक्दा कम्युनिष्ट नेतृत्वको ओली सरकारबाट लोकतान्त्रिक संसदीय व्यवस्था खतरामा परेको छ । कांग्रेस कार्यकर्ताहरूले पनि अब विवेकपूर्ण निर्णय लिन जरूरी छ । वडास्तरदेखि नै अनुभवी, बौद्धिक, गतिशील, सक्षम नेतृत्व छनोट गर्न प्रेरित गर्दै देशव्यापी रूपमा कांग्रेसका क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिन आवश्यक छ ।

प्रशिक्षणका लागि प्राध्यापक संघ, शिक्षक संघ तथा नेपाली कांग्रेसका शुभचिन्तक बौद्धिक संघ–संगठनहरू क्रियाशील हुन जरूरी छ । गुट बलियो बनाउने अभियानलाई चिर्दै कांग्रेस बलियो बनाउनुपर्ने सन्देश कार्यकर्ता तहमा सञ्चार हुन जरूरी छ ।

पार्टीभित्र हावी हुँदै गएको ‘धनवाद’ र ‘डनवाद’ लाई निरुत्साहित गर्दै बीपीको आदर्शलाई पुनःस्थापन गर्न कांग्रेस कार्यकर्ताहरू आन्दोलित हुनुपर्ने आजको आवश्यकता हो । वडास्तरबाट नै सक्षम प्रतिनिधि चयन गर्न सके मात्र जिल्ला र केन्द्रले सक्षम नेतृत्व प्राप्त गर्नेछ ।

नेपाली कांग्रेसका शुभेच्छुक बौद्धिक संघ–संगठनका अधिकतर पदाधिकारीहरू केन्द्रीय नेतृत्व छनोटका लागि प्रतिनिधिका रूपमा चयन हुनसके मात्र कांग्रेसले उपयुक्त नेतृत्व प्राप्त गर्न सक्ला । कांग्रेस बलियो बनाउने अभियानमा लागेका नेता तथा विद्वान वर्ग रोज्ने कि गुट बलियो बनाउन लागेका नेता तथा चाकडीबाजहरू रोज्ने ? अब कांग्रेसको भविष्य के हुने ? क्रियाशील सदस्यको विवेकमा निर्भर छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?