Comments Add Comment

विमोचनकै दिन एक हजार प्रति बिक्यो ‘स्वर्णिम रहस्य’

सिड्नी । सफाइ अभियन्ताको परिचय बनाएका खेम शर्माको अब लेखकका रुपमा परिचय थपिएको छ । यही जुन १९ मा सिड्नीमा एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उनको पुस्तक ‘स्वर्णिम रहस्य’ले विमोचनकै दिन प्रवासमा नयाँ रेकर्ड पनि कायम गरेको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालसहित कार्यक्रममा उपस्थित दुइ सय पचास जनाले संयुक्त रुपमा विमोचन गरेको उक्त पुस्तक विमोचनकै दिन एक हजार प्रति बिक्री भएको छ ।

उक्त पुस्तक विमोचनकै दिन करीब १८ लाख नेपाली रकम बराबरको बिक्री भएपछि प्रवासमा नेपाली पुस्तक प्रति नेपाली पाठकको प्रेम गहिरो छ भन्ने पुष्टि पनि गरेको छ ।

व्यवस्थित जीवनशैली निर्माणबारे लेखिएको उक्त पुस्तकलाई पाठकहरुले सिड्नीमा आफ्ना हितैषीहरुलाई उपहार स्वरुप दिन मिल्ने नेपाली भाषाको राम्रो पुस्तकका रुपमा लिएका छन् । सिड्नीका विभिन्न पेशाकर्मीहरुले आफ्ना नेपाली भाषी सेवाग्राहीहरुलाई उपहार दिनका लागि दर्जनौ प्रति किनेका छन् ।

त्यस्तै पेसाकर्मी मध्ये एक हुन् एम जी एसोसियटका डाइरेक्टर महेन्द्र घिमिरे । लेखा तथा शैक्षिक परामर्श सम्बन्धी उनका नेपाली भाषी सेवाग्राहीलाई सिड्नीको व्यस्त परिस्थितिमा व्यवस्थित जीवनशैलीबारे उत्प्रेरित गर्ने पुस्तक उपहार दिदा सेवाग्राही निक्कै खुशी भएका डाइरेक्टर घिमिरेले बताए ।

आफ्ना सेवाग्राही तथा कर्मचारीका लागि उपहार स्वरुप यो पुस्तकको अग्रिम अर्डर गर्ने मध्ये अर्का हुन् – सुबाम्श साह । उनले आफ्नो शिक्षालयमा अध्ययन गर्ने नेपाली भाषी विद्यार्थीका लागि दुई दर्जन पुस्तक किनेका छन् ।

प्रवासमा नेपाली लेखकलाई सम्मान गर्न र नेपाली पाठकलाई आफ्नो भाषाको उपयोगी पुस्तक पढ्न प्रेरित गर्न पनि पुस्तक किनेर उपहार दिने गरेको उनले बताए ।

विमोचन समारोहमा बोल्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालले पुस्तकले व्यवस्थित जीवनशैली निर्माणबारे सरल सुत्रहरु अघि सारेको बताए ।

उनले यो पुस्तक सबैकालागी निकै उपयोगी भएको भन्दै सबैको मन र मुटुमा रहने विचार ब्यक्त गरे । नेपाल फर्किनुअघि आफ्ना सहकर्मीहरुलाई उपहार दिन उनले यो पुस्तकको दुई दर्जन कपि किनेका छन्।

न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्काले आफूले पुस्तक पढ्न बाँकी भए पनि लेखक खेम शर्मा र उनका अभियानहरु आफूले राम्रोसँग पढेको बताए ।

अस्ट्रेलियाको नेपाली समुदायको पाका पुस्ताका डा नारायण प्रधान र इन्द्रा बनले पुस्तक विमोचन समारोहको भव्यताबारे प्रशंशा गर्दै लेखकलाई शुभकामना दिए ।

अस्ट्रेलियामा प्रथम नेपाली कानून व्यवसायी डा शम्सेर सिंह थापाले विश्वविद्यालयको डिग्रीले भन्दा आफ्नै अनुभवमा आधारित पुस्तकको ठूलो महत्व र आधिकारिकता रहने बताए ।

गैरआवासीय नेपाली संघ ओसियना क्षेत्रका संयोजक होम पाण्डेले नेपालमा खेम शर्माले गरेका अभियानहरुको चर्चा गर्दै लेखकका रुपमा उनको नया परिचय थपिएकोमा बधाई दिए ।

गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समितिकी भूतपूर्व प्रवक्ता रन्जु वाग्लेले आफूलाई उक्त पुस्तकको प्रथम पाठले नै निक्कै उत्प्रेरित गरेको बताइन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले लेखक खेम शर्मा जस्तै युवाहरु अगाडि आएर काम गर्दा एनआरएनको उचाइ अझै बढ्ने बताए । उनले आफ्ना पारिवारिक सदस्यलाई उपहार दिन चार दर्जन पुस्तक सोही दिन किनेका छन् ।

वरिष्ठ साहित्यकार केदार पोखरेलले पुस्तकको समीक्षा गर्दै पुस्तकका हरेक शीर्षक र विषय निकै पठनीय र अनुभव सिद्द भएकाले पुस्तक रोचक भएको बताए । नेपाली योग गुरु आचार्य राजन शर्माले विमोचनपछि अब पुस्तक लेखकको नभइ पाठकको सम्पत्ति भैसकेको बताए ।

अस्ट्रेलियामा नेपालीहरुको पुरानो सामुदायिक संस्था नेपलिज अस्ट्रेलियन एशोसिएसनका अध्यक्ष मधु पुडासैनीले प्रवासमा नेपाली पुस्तक लेखिनु र प्रकाशित हुनु निक्कै खुसीको कुरा भएको बताए ।

नेपलिज अस्ट्रेलियन जर्नालिस्ट एशोसिएसनका संरक्षक हेमन्त काफ्लेले पुस्तकमा लेखकले आफ्ना अनुभवसहित अनुशासित जीवनशैली सिकाउने महत्वपूर्ण सामग्री पस्केको बताए ।

एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले खेम शर्माले सफाइ अभियान चलाए जस्तै एनआरएनभित्र सफाइ अभियान चलाउन अनिवार्य भएको बताए ।

जे एस फुड्स प्राइभेट लिमिटेड अस्ट्रेलियाका म्यानेजर कोरियन व्यवसायी लुइसले आफ्नो व्यवसायका नेपाली कर्मचारीहरुले निक्कै राम्रो काम गरिरहेको र उनीहरुको प्रोत्साहनका लागि आफूले १२५ पुस्तक किनेको बताए । उनले यो पुस्तक कोरियन भाषामा अनुवाद र प्रकाशन भएमा आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विमोचनको नयाँ शैली

जुन १९ तारिख शनिबार साँझ आयोजना गरिएको पुस्तक विमोचन समारोह नितान्त फरक खालको थियो । पुस्तकभित्र पच्चीस शीर्षक भएजस्तै कार्यक्रमा पच्चिस टेबल छुट्याइएका थिए । हरेक टेबलको नाम नेपालका दिवङ्गत साहित्यकारको नाममा राखिएको थियो । हरेक आगन्तुकलाई स्वागतद्वारमा भएका स्वयमसेवकहरुले सम्बन्धित टेबलसम्म पुर्याइदिएका थिए ।

भानुभक्त आचार्यको नाममा नामाकरण गरिएको टेबल अस्ट्रेलियाका लागि नेपालका राजदूत महेश राज दाहाल सहित दश जना विशेष पाहुना थिए भने पत्रकार कृष्ण सेनको नाममा नामाकरण गरिएको टेबलमा अस्ट्रेलियामा क्रियाशील नेपाली पत्रकारहरुले आसनग्रहण गरेका थिए ।

साहित्यकार धरणीधर कोइरालाको नाममा छुट्याइएको टेबलमा उहाकी नातिनी अचला कोइराला काफ्ले थिइन् भने पारिजातको नाम छुट्याइएको टेबलमा नारीनिकुंज अस्ट्रेलियाकी भूतपूर्ब अध्यक्ष प्रतिज्ञा अधिकारी लगाएत गैरआवासीय नेपाली महिला नेत्रीहरु थिए ।

हरेक व्यक्तिको फोटोसहित खामबन्दी पुस्तक थियो र पुस्तकभित्र लेखकले हरेकलाई सम्बोधन गरेर पत्र लेखेका थिए । पुस्तक विमोचनका क्रममा सबैले एकसाथ खोलेको उक्त खाममा कार्यक्रमको सहजकर्ता नेपलिज अस्ट्रेलियन जर्नालिस्ट एसोसियसनले लेखकलाई आगन्तुक पाउनाहरुले शुभकामना लेख्ने र आफूले किन्न चाहेको पुस्तक प्रति अर्डर गर्न मिल्ने फारम राखिएको थियो ।

अस्ट्रेलियाका आदिवासी/मूलवासीहरुप्रति सम्मान, सम्झना र कृतज्ञता गर्दै पत्रकार मनऋषि धितालले संचालन गरेको कार्यक्रममा अस्ट्रेलियन र नेपाली रास्ट्रिय गान गाएपछि कोरोना महामारीबाट विश्वभरी जीवन गुमाउनेहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमा सबै पुस्ता र वर्गमा आगन्तुकलाई समान हैसियतमा निम्त्याइएको थियो भने हरेकलाई लेखकले व्यक्तिगतरुपमा निर्धारित टेबलमा गएर धन्यवाद दिएका थिए ।

लेखकले पाठकलाई, पाठकले लेखकलाई र सबैले पुस्तकलाई गरेको सम्मानको अनुपम उदाहरण यो कार्यक्रममा देखिन्थ्यो । सिड्नीमा क्रियाशील साहित्यकार महेश्वर र शर्माले प्रवासमा नेपाली पुस्तकलाई गरिएको यस्तो सम्मान सबै साहित्यकार र लेखकको सम्मान हो ।

कार्यक्रममा अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसनका अध्यक्ष ऋषि आचार्यसँग पुस्तक वार्ता गर्दै लेखक खेम शर्माले नेपालबाट फर्के लगतै दुई सात सेल्फ क्वारेन्टाइनमा बस्दा उक्त पुस्तक लेखनको विचार आएको बताए ।

एक प्रश्नको जवाफमा उनले आफ्नो अध्यात्मतिरको विशेष झुकाव भएको संकेत गर्दै उक्त पुस्तक आफूले नलेखेको तर आफूमार्फत समाजको हितका लागि लेखाइएको बताए ।

१६० पृष्ठको पुस्तकको मूल्य २० अस्ट्रेलियन डलर राखिएको छ।

पुस्तक बिक्रीबाट नेपालमा पत्रकारलाई सहयोग

उक्त पुस्तक विमोचन समारोहका क्रममा भएको बिक्रीबाट आएको रकममध्ये तीन लाख ५५ हजार रुपैयाँ नेपालमा कोरोना प्रभावित पत्रकार तथा उनीहरुका परिवारको सहयोगका लागि प्रदान गरिने भएको छ।

लेखक शर्माले नेपलिज अस्ट्रेलियन जर्नालिस्ट एशोसिएसनमार्फत नेपालको पत्रकार महासंघलाई पठाइने उक्त रकम पठाइने बताए ।

सन् २०२० जनवरी १ मा पनि खेम शर्मासहित अस्ट्रेलियन नेपाली युवाहरुको टिमले नेपाल पत्रकार महासंघमार्फत ३ लाख पचास हजार रकम नेपाली पत्रकारको सहयोगका लागि प्रदान गरेको थियो ।

पर्यटन वर्ष स्थगित भएकाले उक्त रकम पनि कोरोना महामारीका क्रममा अग्रमोर्चामा खटेका पत्रकार हरुलाई लेखन वृत्तिका रुपमा प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment