Comments Add Comment

सरकारले दिएका सुविधा लिन होटल व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

८ असार, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । होटल संघ नेपाल (हान)ले आज अर्थमन्त्री समक्ष सुझावपत्र पेश गरेको छ ।

सो क्रममा उनले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै माग सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् । बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरह सुविधा उपल्बध गराइने उल्लेख गरिएको जानकारी गराउँदै उनले कोभिड -१९ का बेला योभन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको समेत बताए ।

पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रम कार्यान्वयनमा समेत ढुक्क हुन व्यवसायीलाई आग्रह गरे । आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने, कोभिड -१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा निवकरण दस्तुर छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ ।

होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड-१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार रकम उपलब्ध गराउनेलगायत सुविधा दिइएको छ ।

उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामुलक उद्योगमा राख्नु महत्वपूर्ण विषय भएको बताइन् । होटल संघ नेपालले २०७८/७९ को मौदि्रक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नु पर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनु पर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनु पर्ने लगायतसुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment