Comments Add Comment

पोखरा महानगरपालिकाले प्रधान कार्यालय सार्ने, नयाँ योजना नल्याउने

९ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षमा नयाँ योजना नल्याई पुरानैलाई निरन्तरता दिने भएको छ । महानगर प्रमुख मानबहादुर जीसीले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमागत योजनालाई नै निरन्तरता दिने बताए ।

‘वडा समितिले सिफारिस गरेका सडक योजनाहरुमा बजेट विनियोजन गरिनेछ । जनताले विकासको प्रतिफल महसुस गर्ने गरी नयाँ योजना घोषणा गर्ने होइन,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘क्रमागत योजनाहरु सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिएको छ ।’

मेयर जीसीले महानगरले आउँदो आर्थिक वर्षमा निर्माणाधीन पुल, सडक, भवनहरु पूरा गर्ने र निर्माण प्रक्रिया थालनी नभएका योजनाहरु सुरु गर्ने नीति लिएको जानकारी दिए । उनले कोभिड महामारीका कारण रोकिएका काम आगामी आर्थिक वर्षमा प्राथमिकता दिएर पूरा गरिने बताए ।

आगामी आर्थिक वर्षमा पोखरा महानगरको प्रधान कार्यालय निर्माण हुने नीति तथा कार्यक्रममा उल्लेख छ । उनका अनुसार महानगरको नयाँ प्रधान कार्यालय भवन पोखरा–१२ मा बन्नेछ । हाल महानगरको प्रधान कार्यालय पोखरा–८, न्युरोडमा छ ।

‘जनतालाई पायक पर्ने गरी पोखरा महानगरको प्रधान कार्यालय निर्माण यसै वर्षदेखि सुरु हुनेछ,’ मेयर जीसीले भने, ‘बाँकी महाशाखाहरु पोखरा–८ दमकलमा रहने गरी भवनहरु निर्माण हुनेछन् ।’ उनले जमिन व्यवस्थापन भइसकेको वडामा कार्यालय निर्माण सुरु हुने बताए ।

महानगरले आगामी वर्षदेखि नगर प्रहरीलाई ब्यारेक प्रणालीमा रुपान्तरण गर्ने नीति लिएको छ । महानगरको नीति तथा कार्यक्रममा नगर प्रहरीलाई थप जनशक्ति र स्रोतसाधनयुक्त बनाएर चौबीसै घन्टा ड्युटीमा खटाउने व्यवस्था मिलाउने उल्लेख छ ।

कोरोना संक्रमितको शव व्यवस्थापन गरेको ठाउँमा पार्क बनाउने

महानगरले कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने कार्यलाई विवादरहित मात्रै नभई त्यस ठाउँलाई पार्ककै रुपमा अघि बढाउने नीति लिएको छ । महानगरले हाल पोखरा–३२ मा कोभिड संक्रमितको शव व्यवस्थापन गर्दै आएको छ ।

‘कोभिडबाट निधन भएका शवको व्यवस्थापन कार्यलाई गुनासोरहित तवरले व्यवस्थापन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘शव व्यवस्थापनका लागि उपभोग गरिएको ठाउँलाई पार्कका रुपमा विकास गर्ने नीति कार्यान्वयन गरिनेछ ।’

महानगरले साविक लेखनाथ नगरपालिका भवनमा बनाएको कोभिड अस्पताललाई शिशुवा अस्पताल राख्ने र सय बेडको बनाउने नीति लिएको छ । आन्तरिक पर्यटनलाई सघाउन महानगरले जनप्रतिनिधिलाई पनि ५ दिन बिदा दिने नीति महानगरले ल्याएको छ ।

पोखरा महानगरभित्र भएका फेवाताललगायत ७ तालको सीमांकन भइसकेकाले ती तालहरुको मापदण्ड तोक्ने काम पनि आगामी आर्थिक वर्षमै सकिने मेयर जीसीले बताए । ‘ताल संरक्षणका लागि प्राविधिक रुपमा सम्भव भएका स्थानमा जग्गा एकीकरण कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै उनले भने ।

फिर्के, फुर्से, विजयपुर, सुइखेत, स्याङ्दी, भोटीखोला, स्यानी खोला, गुप्तेश्वर गुफा लगायत ठाउँको मापदण्ड परिमार्जन गर्न विज्ञ समितिको कार्यदल गठन भइसकेकाले नगरकार्यपालिकाले नै उक्त मापदण्ड परिमार्जन गर्न सक्ने कानूनी प्रावधान ल्याइनेसमेत मेयर जीसीले नीति तथा कार्यक्रममार्फत जानकारी गराएका छन् ।

चार वर्षमा ७७ मन्दिर बने, ६० वटा चौतारा

पोखरा महानगर स्थापनापछि मेयर मानबहादुर जीसीले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गरे । आउँदो आर्थिक वर्षको नीति कार्यक्रम वाचनअघि उनले चार वर्षको अवधिमा महानगरले गरेका प्रगतिबारे फेहरिस्त सुनाए ।

मेयर जीसीले चार वर्षमा ७७ वटा मठमन्दिर र ६० वटा चौतारा बनाएको प्रगति विवरणमा सुनाएका छन् । ‘सराङकोटको शिवमन्दिर र पुम्दीकोटमा विशाल शिव मन्दिर निर्माण गर्न महानगरले साझेदारी गरेको छ । ६० नयाँ चौतारा र ३४ चौतारा मर्मत गरिएको छ,’ उनले भने ।

मेयर जीसीले चारवर्षे अवधिमा १३७ किलोमिटर सडक कालोपत्रे र २३१ किलोमिटर सडक ढलान गरिएको जानकारी दिए । उनले यसअवधिमा ६५ वटा आमा समूह भवन र २४ स्थानमा दाहसंस्कार स्थल तथा घाट निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment