+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते २०:४८

९ असार, काठमाडौं । जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् ।

काठमाडौं महानगरपालिका-११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् । आफूलाई जातकै आधारमा कोठा नदिएर जातीय विभेद गरेको भन्दै रुपाले असार ३ गते जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रधान ६ असारमा पक्राउ परिन् ।

उनी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ अनुसार श्रीमानको रोहवरमा छुटेकी काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

फौजदारी कार्यविधि संहिताको दफा १५ मा अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारेखमा राख्न सक्ने व्यवस्था छ ।

प्रहरी हिरासतबाट छुटेकी प्रधानले दलित भएकै कारण कोठा नदिएको स्वीकार गरेकी छन् । रिहा भएपछि सञ्चारमाध्यमहरुलाई बताए अनुसार कोठा खोज्न आउनेहरुले कोठा मन पराएर ११ हजार मासिक भाडा समेत निर्धारण भएको थियो ।

आफूले एउटै परिवार जस्तो भएर बस्नुपर्छ भनेको र कोठा खोज्न आएकी (रुपा)ले आफू कामी भएको बताएपछि आफू झस्याङ्ग भएको घरबेटी प्रधानले बताएकी छन् । ‘…म त कामी भनेपछि झस्किएँ, मेरो आमा पनि हुनुहुन्छ, फ्यामिलीलाई सोधेर भन्छु, मैले यत्ति भनेको हो’ उनले भनेकी छन् ।

लगत्तै उनी शिक्षामन्त्री श्रेष्ठको गाडीमा बसिन् । आरोपित घरबेटीलाई लिन पुगेका मन्त्री श्रेष्ठले पनि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिए, ‘नहुनुपर्ने घटना घट्यो, भविष्यमा यस्तो घटना नहुने गरी हामी अगाडि बढ्नुपर्छ ।’

त्यहाँ उपस्थितहरुले भने रुपा सुनारलाई कारबाही गर भन्दै नाराबाजी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?