Comments Add Comment

सर्व रोग नाशक धन्वन्तरी को हुन् ?

स्वास्थ्य, स्वस्थ जीवनशैली प्रदाताको रुपमा ऋषि धन्वन्तरीलाई मान्ने गरिन्छ । उनले समस्त जगतलाई निरोगी बनाएर दीर्घायु प्रदान गरेको मान्यता छ ।

आयुर्वेद जगतका प्रणेता मानिन्छ धन्वन्तरीलाई । उनी देव चिकित्सक थिए । उनमा वैद्यिक शास्त्र -चिकित्सा विज्ञान)को विराट ज्ञान थियो । उनलाई आरोग्य, स्वास्थ्य र आयुको आराध्यदेव मानिन्छन् ।

सर्वभय र सर्वरोग नाशक देवचिकित्सक धन्वन्तरी प्राचीन भारतवर्षका महान चिकित्सक थिए, जसलाई देव पद प्राप्त भएको थियो । पौराणिक एवं धार्मिक मान्यताअनुसार धन्वन्तरी भगवान विष्णुको अवतार हुन् ।

धन्वन्तरीले अमृतमय औषधिको खोज गरेका थिए । उनलाई नै आयुर्वेदका जन्मदाता मानिन्छ । उनले विश्वभरका वनस्पतिमाथि अध्ययन गरेका र त्यसको गुण एवं अवगुण पहिल्याएका थिए । धन्वन्तरीको हजारौं ग्रन्थमा अहिले केवल संहिता मात्र पाइन्छ, जुन आयुर्वेदको मूल ग्रन्थ हो ।

आयुर्वेदको आदि आचार्य सुश्रुत मुनिले धन्वन्तरीको यही शास्त्रको उपदेश प्राप्त गरेका थिए । पछि चरक आदिले यस परम्परालाई अगाडि बढाए ।

भनिन्छ, काशीका राजवंशमा धन्व नामका एक राजाले उपासना गरेर अज्ज देवलाई प्रशन्न तुल्याए । उनले वरदान स्वरुप धन्वन्तरी नामक पुत्र मिल्यो । यसको उल्लेख ब्रम्हा पुराण र विष्णु पुराणमा मिल्छ । धन्व काशी नगरीका संस्थापक काशका पुत्र थिए । यो समुन्द्र मन्थनबाट उत्पन्न धन्वन्तरीको दोस्रो जन्म थियो ।

काशी वंश परम्परामा दुई वंशपरम्परा पाइन्छ । हिरवंश पुराणका अनुसार दीर्घतपा, दीर्घतपाबाट धन्व, धन्वबाट धन्वन्तरी । धन्वन्तरीबाट केतुमा, केतुमानबाट भीमरथ, भीमरथबाट दिवोदास भए । जबकि विष्णु पुराण अनुसार काबाट काशेय, काशेयबाट राष्ट्र, राष्ट्रबाट दीर्घतपा, दीर्घतपाबाट धन्वन्तरी, धन्वन्तरीबाट केतुमान, केतुमानबाट भीमरथ र भीमरथबाट दिवोदास भए ।

उनको वंश दिवोदास भए, जसले शल्य चिकित्साको विश्वको पहिलो विद्यालय काशी (वाराणसी) मा स्थापना गरे । त्यसका प्रधानाचार्य सुश्रुतलाई बनाइयो । सुश्रुत दिवोदासका शिष्य र ऋषि विश्वामित्रका छोरा थिए । उनले सुश्रुत संहिता लेखेका छन् । सुश्रुत विश्वकै पहिलो सर्जन अर्थात् शल्य चिकित्सक थिए ।

आयुर्वेदको सम्बन्धमा सुश्रुतको मत के छ भने ब्रम्हाजीले पहिलो पटक एक लाख श्लोकसहितको आयुर्वेद प्रकाशन गरेका थिए, त्यसमा सहस्र अध्याय थियो । त्यसबाट प्रजापतिले पढे, अश्विनी कुमारले पढे, इन्द्रले पढे । इन्द्रदेवबाट धन्वन्तरीले पढे र त्यसलाई सुनेर सुश्रुत मुनिले आयुर्वेदको रचना गरे ।

भावप्रकाशका अनुसार आत्रेय प्रमुख मुनिले इन्द्रबाट आयुर्वेदको ज्ञान प्राप्त गरेर त्यसलाई अग्निवेश तथा अन्य शिष्यलाई दिए ।

त्यसपछि अग्निवेश तथा अन्य शिष्यले तन्त्रलाई संकलन गरे, प्रतिसंस्कृत गरे र चरकद्वारा ‘चरक संहिता’ निर्माण भयो । वेदको संहिता तथा ब्राम्हण भागमा धन्वन्तरीको नाम उल्लेख छैन । महाभारत तथा पुराणमा विष्णुको अंशको रुपमा उनको नाम उल्लेख छ ।

पौराणिक कथा के छ भने धन्वन्तरी समुन्द्र मन्थनबाट पृथ्वी लोकमा अवतरण भए । शरद पूर्णिमामा चन्द्रमा, कार्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीमा धन्वन्तरी, चतुर्दशीमा काली माता र अमावस्यामा भगवतीको प्रदुर्भाव भएको थियो । धन्वन्तरी मार्फत यसै दिन आयुर्वेदको प्रदुर्भाव भएको थियो ।

पुरातन धर्मग्रन्थ अनुसार देवताको वैद्य धन्वन्तरीका चार हात छन् । माथिल्लो दुई हातमा शंख र चक्र धारण गरेका छन् । जबकि दुई अरु हातमा एकमा औषधि र अर्कोमा अमृत कलश लिएका छन् । उनको प्रिय धातु पित्तल मानिन्छ । यही कारण धनतेरसमा पितल आदि भाँडावर्तन खरीद गर्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment