+
+
टिप्पणी :

सामान्य धोइपखालीले मात्र काम चल्ला र कमरेड !

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ असार १५ गते २०:५०

‘अब हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौं । ल भन्नुस् आजै, ह्याऽऽ तिमीहरूले सकेनौं हामी गर्छौं भन्नुहुन्छ भने पनि ठिकै छ । …

‘… नेताहरूको अलि बढी नै हुर्मत लिने गरियो र सबै नेता उस्तै-उस्तै हुन् भन्ने मानसिकता देशभरि बन्न गयो भने निकै ठूलो ‘पोलिटिकल भ्याकुम’ र ‘फ्रस्टेसन’ जनतामा आउन सक्छ र त्यसले लोकतन्त्र मात्र होइन, देशकै भाग्य र भविष्यलाई अप्ठेरो पार्न सक्छ । यो पक्ष पनि तपाईंहरूले पक्कै विचार गर्नुभएको छ र त हामीलाई गाली गर्दागर्दै पनि समर्थन गरेको होला भन्ठान्छु । …

… अर्को ल्याउँ भने अहिले भर्खरै जन्मिँदैनन् । उमारौं न त नेता भनेर उम्रिने कुरा होइन । आकाशबाट झारौं भनेर पनि झरिहाल्दैन । जस्ता भए पनि हामी नै हो अहिले, के गर्नुहुन्छ ? अब यसैलाई धोइपखाली गर्नुपर्‍यो अब राष्ट्रको निम्ति । अरु त के उपाय छ र ?’

यो भनाइ हो विपक्षी गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को । बिहीबार काठमाडौंमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्ने क्रममा उनले प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धनका नेताहरू उस्तै उस्तै नभएको जिकिर गरे ।

अन्तर्क्रियाको क्रममा सम्पादकहरूले ‘श्वेतपत्र’को प्रसंग निकाले । प्रचण्डले आफूहरूबाट गल्ती भएको स्वीकारे पनि  ‘श्वेतपत्र जारी गरेर’ अगाडि बढ्छौं भन्न सकेनन् । उनले भने, ‘तर पनि हामी मुख्य होइन । मुख्य उनै केपी ओली हुन् । यो प्रवृत्तिलाई हामीले परास्त गर्नैपर्छ ।’ तर उनले सच्चिने स्पष्ट मार्गचित्र (भिजन) प्रस्तुत गर्न सकेनन्,  केवल धोइपखालीको कुरा मात्रै गरे ।

गुमेको विश्वास र आन्दोलन

अहिले विपक्षी गठबन्धनले प्रधानमन्त्री ओलीका कदमहरूलाई ‘प्रतिगमन’को संज्ञा दिँदै यसविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिइरहेको छ । गठबन्धनका नेताहरूलाई थाहा हुनुपर्ने हो-आन्दोलन पार्टीका केही कार्यकर्ताहरूको परिचालनबाट मात्र सम्भव हुँदैन । पार्टीको घेराभन्दा धेरै फराकिलो हुन्छ आन्दोलनको घेरा, जहाँ हजारौं-लाखौं मानिस सडकमा निस्कनुपर्छ । यसको लागि नेताहरूले जनताको मन र विश्वास जित्न सक्नुपर्छ ।

अझ प्रचण्डले त उनकै भाषामा ‘आफ्नो टाउकोमा आफैं आगो लगाउन’ अर्थात् निर्मम आत्मसमीक्षा गर्न जरुरी छ । किनकि नेपाली राजनीतिमा उनको उदय सामान्य संसदीय राजनीति गरेर भएको होइन ।

राजनीतिक नेतृत्वको गतिविधिहरूले आन्दोलनको अर्थलाई नै कमजोर बनाइरहेको छ । आम मानिसको त्याग, तपस्या र बलिदानीबाट भएका पटकपटकका आन्दोलनपछि नेताहरू यति धेरै चुके कि आन्दोलनमा जाने आत्मबल र इच्छाशक्ति नागरिकले गुमाइरहेका छन् । ‘तावाको माछा भुङ्ग्रामा’ हुने अवस्थाका कारण विकल्प रोज्ने नागरिकको मनोबल नै कमजोर भइरहेको छ ।

हो, प्रधानमन्त्री ओलीका कतिपय कदमहरू संविधानभन्दा बाहिर गएको नागरिकले मान्न सक्छन् । तर विपक्षी गठबन्धनका नेताहरू सरकारमा आएपछि नागरिकको पक्षमा के-के कुरा बदलिन्छ भन्ने कुराको सुनिश्चितता हुन जरुरी छ ।

अमेरिकी लेखक सेठ गोडिन भन्छन्, ‘नेतृत्वको रुपान्तरण आफू वरिपरिको यथार्थलाई अस्वीकार गरेर सुरु हुँदैन । बरु, उनीहरूले बनाउन चाहेको संसारको व्याख्या गरेर सिर्जना हुनसक्छ ।’

तर यस्तो लाग्छ- हाम्रा राजनीतिक नेतृत्वसँग ‘भिजन’ छैन । उनीहरू विगतका बखेडा र वर्तमानका अप्ठ्याराहरूमा कुहिराको काग बनेर अलमलिएका छन् । न आफू वरिपरिको यथार्थलाई अस्वीकार्ने क्षमता न भविष्यको दूरदृष्टि, यस्तो अवस्थामा विपक्षी गठबन्धनले नागरिक सामू गुमेको विश्वास फिर्ता गर्न मुस्किल देखिन्छ ।

सामान्य धोइपखाली कि निर्मम आत्मसमीक्षा

प्रचण्डहरूले आलोचना गरिरहेका केपी ओलीलगायतका पात्रहरू न आकाशबाट खसेका हुन्, न जमिनबाट उम्रिएका हुन् । उनीहरू पनि विद्यमान नेपाली समाजको चेतनास्तरको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका हुन् । सम्भवतः प्रचण्डहरूले भन्ने गरेको ‌’ओली प्रवृत्ति’ जन्मनुमा बढी योगदान प्रचण्डहरूकै छ ।

शान्ति सम्झौता हुने ताका केपी ओली राजनीतिको पहिलो पंक्तिमा थिएनन् । हस्ताक्षरको तस्वीरमा उनी दोस्रो-तेस्रो ‘पंंक्ति’मा देखिन्छन् । गणतन्त्र स्थापनापछि ओलीको राजनीतिक पुनरोदय माओवादी नेतृत्वको कमजोरीहरूमा टेकेर भएको देखिन्छ । कतिपय अवस्थामा ‘माओवादी ज्यादती’ र कमिकमजोरीविरुद्ध जनमत संगठित गर्दै ओली आजको अवस्थामा पुगेका हुन् । एक दुई गल्ती होइन, गल्तीहरुको श्रृंखला बनाउँदै अहिलेको राजनीतिक शक्ति समीकरण बन्न पुगेको हो ।

विकल्पका बाटाहरु असाध्यै साँघुरो हुँदै गइरहेको बेला सामान्य घिसेपिटे प्रतिवद्धता र रुपान्तरणले गठबन्धनको प्रतिज्ञामा प्राण भर्न सक्दैन । रुपान्तरणको अनिवार्य शर्त हो इमान्दारिता । संसारलाई झूटो बोल्न सकिन्छ तर, आफैंलाई ढाँट्न सकिन्न । विपक्षी गठबन्धनका नेता/नेतृहरूले सोच्न र आफैंसँग सोध्न जरुरी छ- के सामान्य धोइपखालीले आफ्नो पहिचानमा लागेका फोहोरहरू पखालिन्छ ?

बदलिने कि विकल्प दिने ?

अझ प्रचण्डले त उनकै भाषामा ‘आफ्नो टाउकोमा आफैं आगो लगाउन’ अर्थात् निर्मम आत्मसमीक्षा गर्न जरुरी छ । किनकि नेपाली राजनीतिमा उनको उदय सामान्य संसदीय राजनीति गरेर भएको होइन । प्रचण्डलाई यो स्थानसम्म ल्याउन मुलुकले १० वर्ष लामो गृहयुद्ध व्यहोर्नुपरेको छ ।

हजारौंको ज्यान गएको छ भने लाखौं नागरिकले रगत र पसिना बगाएका छन् । मानिसको जीवनको कुर्बानीबाट हुर्किएको नेतृत्वको अनुहारमा सामान्य दाग देखिनु पनि क्षम्य नहुनसक्छ । त्याग, तपस्या र बलिदानीको पहाड खडा गरेर स्थापित नेतृत्व जीवनशैली र  व्यवहार आफैंले स्थापित गरेको भाष्यअनुकूल नहुनु दुःखद हुन्छ नै ।

देशलाई दलले चलाउँछ, दललाई नेताहरूले । नेतालाई कार्यकर्ताले चलाउँछन् भने कार्यकर्ताहरू जनतासँग जोडिएका हुन्छन् । यसरी आम नागरिकको औसत चेतनास्तरको प्रतिनिधित्व गर्ने नेताहरू औसत नेता हुन् ।

औसत नेतृत्वबाट अहिलेको राजनीतिक अन्तरविरोधका गाँठाहरू खुल्न असम्भवप्रायः छ । समाज विकासको स्वाभाविक गतिले घिसार्दै लैजाने कुरा अर्कै हो तर आफ्नो सोच्ने तरिका नबदली बाह्य जगत परिवर्तन गर्न सकिँदैन ।

मार्क्सवादी दर्शनले भन्छ-  वस्तुको विकास वा विनाशका लागि आन्तरिक पक्ष प्रधान हुन्छ । अरुलाई गाली गरेर समय बिताउनुभन्दा आफ्नै आत्मसमीक्षा गर्दै ‘आमुल रुपान्तरण’ सिद्धान्त पहिला आफैंभित्र लागू गर्ने कि ? नागरिकले पत्याउने गरी श्वेतपत्र जारी गर्दै गुमेको विश्वास ब्यूँताउने कि ? कि काम चलाउ सरकारले देश चलाएजस्तै सामान्य धोइपखाली गरेर समय बिताइरहने हो ? राम्रो कि बदलिनुमा हुनेछ कि नयाँ पुस्तालाई जिम्मेवारी दिएर विकल्पको बाटो खुला गर्दा नै हुनेछ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?