+
+
चिनियाँ कम्युनिष्ट पार्टीको १०० वर्षः :

कस्तो रहला नेपाली कम्युनिष्टमा सी विचारधाराको ‘संक्रमण’ ?

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ असार १६ गते २०:३०
तत्कालिन नेकपा कार्यकर्तालाई चिनियाँ कम्युनिस्ट पार्टीले दिएको प्रशिक्षण ।

चिनियाँ कम्युनिष्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको सय वर्ष पूरा गर्दैछ । थुप्रै प्रतिकूलताका बावजुद चीन ‘कम्युनिष्ट पार्टी र विचारधारा’को मार्गनिर्देशनमा वैश्विक नेतृत्व दाबी गर्न सक्ने ठाउँमा पुगेको छ ।

संसारका दुई विशाल जनसंख्या भएका देशहरूको बीचमा रहेको रणनीतिक अवस्थितिका कारण नेपाल छिमेकका सन्दर्भहरूबाट प्रभावित नभई रहन सक्दैन । त्यसो त, भूमण्डलीकरणले नजिक र टाढाको विषयलाई सापेक्ष सवाल बनाइसकेको छ ।

नेपालमा त झन् अहिले ‘कम्युनिष्ट सरकार’ छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्टहरूबीच विचार र गतिविधिहरूको आदानप्रदान भइरहन्छन् । यस्तो आदानप्रदान र अन्तर्क्रियालाई अग्ला हिमालहरूको पर्खालले छेक्न सकिरहेको छैन ।

गत वर्ष कात्तिकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बौद्धिक नेताहरूले काठमाडौंमा ‘सी जिनपिङ विचारधारा’बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्युनिष्ट धारमा नयाँ पुस्ताका वैचारिक नेता मानिएका घनश्याम भुसालले भनेका थिए, ‘सी जिनपिङ विचारधारा एक ऐतिहासिक पहलकदमी हो ।

कुनैबेला कम्युनिष्टहरूलाई व्यङ्ग्य गर्न ‘चीनमा पानी पर्दा नेपालमा छाता ओढ्ने’ भनिन्थ्यो । पछिल्लो समय सूचना प्रविधिको अभूतपूर्व विकासले ‘छाता ओढ्न’ झन् सजिलो बनाएको छ । यसले वैचारिक लगायत सबै प्रकारका संक्रमणलाई सहज बनाइरहेको छ ।

कुनै विश्वस्तरीय परियोजनामा कहिँकतै कमजोरी रहन्न भन्न सकिन्नँ तर चीन र यसका सहभागीहरूले यसलाई सुधार्दै, परिमार्जन गर्दै र विकसित गर्दै जान सक्दछन् । यसले अझ नयाँ र उन्नतस्तरको नयाँ विश्व परियोजनाको ढोका खोल्नेछ ।’ भुसालले अगाडि थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीले भनेझैं सी जिनपिङ विचारधारा चिनियाँ विशेषताको समाजवाद निर्माण गर्ने क्रममा जन्मेको हो । यसले नयाँ विश्व व्यवस्थाको माग गर्दछ । त्यसमा हाम्रो स्थान र भूमिका नेपाली चरित्रको समाजवाद निर्माण गर्ने हाम्रो योग्यताले निर्धारण गर्नेछ ।’

सत्तारुढ नेकपा एमाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्छ । यसबारे बहस र विवाद छँदैछन् । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा यसलाई स्थगन गरिएपनि पार्टी एकता भंग भएपछि अहिले एमालेले यसलाई पुनः स्वीकार गरेको छ ।

जबजको जन्म-सन्दर्भ

मदन भण्डारीले विश्वभरि कम्युनिष्ट आन्दोलन बदनाम भएको समयमा जबजमार्फत नेपालमा कम्युनिष्ट जनमत हुर्काएका थिए । गत निर्वाचनमा नेपालमा कम्युनिष्ट पार्टी नेपाली इतिहासमै सबैभन्दा धेरै जनमत पाउन सफल भयो । भलै अहिले उक्त पार्टी छिन्नभिन्न बन्ने अवस्थामा पुगेको छ र प्रारम्भिक फुट भइसकेको छ ।

मदनको समयमा पूर्वी युरोपमा साम्यवादीहरूको पतन रुमानियाबाट शुरुवात भएको थियो । कम्युनिष्ट नेता निकोलाई चाउचेस्कूको दुर्दान्त पतनको स्मरण अहिले पनि संसारभर गरिन्छ । त्यहाँ कम्युनिष्ट शासकलाई सडकमा घिसारेर जनताले चोकमा गोली हानेका थिए । पूर्वी जर्मनीका कम्युनिष्ट शासक एरिक होनेकर सत्ता छोड्न बाध्य भएका थिए । त्यो समय बर्लिनको पर्खाल ढलेर जर्मन एकीकरणको प्रक्रिया शुरुवात भएको थियो ।

पोल्याण्ड, अल्बानिया, चेकोस्लोभाकिया, हंगेरी, युगोस्लाभिया आदि सबै एकदलीय कम्युनिष्ट सत्ता भएका देशमा साम्यवादी सत्ताहरू एकपछि अर्को गर्दै तासको महलजस्तै गर्ल्यामगुर्लुम ढल्दै थिए । ७४ वर्ष लामो कम्युनिष्ट शासन चलेको सोभियत संघ टुक्राटुक्रा भएको थियो । छिमेकी चीनमा पनि भर्खरै तेनमियान चोकको विद्रोह भएको थियो । यी घटनाले कम्युनिष्ट पार्टीहरूको भविष्य विश्वभरि नै समाप्त भएको आशंका गरिएको थिए ।

यी सबै वैश्विक अप्ठ्याराका बावजुद मदनले प्रतिकूलतालाई अनुकूलतामा बदल्दै नेपालमा कम्युनिष्ट आन्दोलनको विकासको बलियो जग बसाए । यसको पछाडि उनको योजनावद्ध क्रियाशीलता, स्थानीय स्तरसम्म फैलाइएको पार्टी संगठन र फरक प्रकारको भाष्य वा विश्लेषण पद्धति पनि थियो ।

दासढुंगा काण्डपछि जबजको समृद्धिकरण प्रभावित भएको छ । पछिल्लो समय त यसलाई गतिशील विचारको रुपमा विकास गर्ने भन्दा धर्मशास्त्रको रुपमा पूजा गर्ने प्रचलन विकास भएको छ । विचारमा बहस भन्दा तस्वीरको व्यापार बढी हुने अवस्था सिर्जना भएको स्वयं कम्युनिष्ट पार्टीका नेताहरूले स्वीकार गरिरहेका छन् ।

माओवादी केन्द्रले युद्धताका विकास गरेको एक्काइसौं शताब्दीको जनवाद पनि ‘तातो आलु’ जस्तै अनुकूलतामा हातमा लिने प्रतिकूलतामा फ्याँकिदिने विषय बनेको छ । प्रचण्ड ‘व्यवहारवाद’को गोलचक्करमा फसेका छन् । वैचारिक समृद्धिकरण अहिले माओवादीभित्र न्यून प्राथमिकताको विषय बनेको छ ।

नेपालका कम्युनिष्टहरूको चीनसँग उठबस बाक्लिएसँगै एकाथरि मानिसहरूले नेपाल राजनीतिक तथा वैचारिक रुपमा ‘चीन सम्बद्ध’ मुलुक बन्ने त हैन भन्ने आशंका गर्ने गर्दछन् । जबजमा ‘सी विचारधारा’को प्रभाव वा ‘संक्रमण’ कस्तो होला, रुचिको विषय बनेको छ । कुनैबेला कम्युनिष्टहरूलाई व्यङ्ग्य गर्न ‘चीनमा पानी पर्दा नेपालमा छाता ओढ्ने’ भनिन्थ्यो । पछिल्लो समय सूचना प्रविधिको अभूतपूर्व विकासले ‘छाता ओढ्न’ झन् सजिलो बनाएको छ । यसले वैचारिक लगायत सबै प्रकारका संक्रमणलाई सहज बनाइरहेको छ ।

चीनको उतारचढाव

चीनमा अहिले एकदलीय साम्यवादी शासन व्यवस्था विद्यमान छ । राष्ट्रपति सी जिन पिङले यसलाई अझ निस्कन्टक र बलियो बनाउन विभिन्न कदमहरू चाल्दै आएका छन् । चीनमा यस्तो सुधारका प्रयासहरू देङ सियाओ पिङले सुरु गरेका थिए । उनलाई आधुनिक चीनको जग हाल्ने नायकको रुपमा चित्रित गरिन्छ ।

सीले पछिल्लो समय देङका सुधारलाई संशोधन गर्न थालेका छन् । संवैधानिक व्यवस्थालाई थप कडाई गर्ने अभियानमा बाधक देखिएका बो सी लाईलगायत समकक्षी र प्रतिस्पर्धी नेताहरूलाई उनले कारबाहीको डण्डा पनि चलाउँदै आएका छन् । उनले एक व्यक्ति दुई कार्यकाल राष्ट्रपति हुने प्रावधान समेत खारेज गराएका छन् । यसबाट उनी माओवादीजस्तै नमरुन्जेल पार्टीको नेतृत्व गर्ने बाटोमा हिंड्न चाहेको आशंका बलियो भएको छ ।

सीका यी कदमलाई बाँकी विश्वले चिनियाँ सत्ता अधिनायकवादतिर अझ बढी मोहित हुँदै गएको अर्थमा विश्लेषण गरिरहेको छ । कहिले सुधारतिर जाने कहिले नियन्त्रणतिर जाने प्रयासको चाकाचुली खेलिरहँदा चिनियाँ कम्युनिष्ट पार्टीको जीवन उतारचढावमय बन्ने गरेको छ । माओले १९४९ मा ‘क्रान्ति सम्पन्न’ गरेपछि देङको उदय नहुँदासम्म चीनले अत्यधिक उतारचढाव व्यहोर्‍यो । देङको उदयपछि सम्हालिएको चीनलाई सीले थप निरन्तरता दिन प्रयास गरिरहेका छन् ।

चीनको यो प्रयासबारे विश्वका विभिन्न शक्तिकेन्द्रहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । यसबारे नेपालमा पनि मिश्रित ‘रेस्पोन्स’ छ । खासगरी कम्युनिष्ट पार्टीका केही नेताहरूले यसलाई सी विचारधाराको रुपमा सुविचारितरुपमा प्रचार गर्न थालिरहेका छन् जसरी सशस्त्र संघर्षका बेला माओवादको अति गौरवीकरण गरिन्थ्यो ।

चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझ्ने नेपाली कम्युनिष्टहरूको तरिकाअनुसार भारत, अमेरिका, युरोपियन युनियन लगायतका अरु विश्व शक्तिले नेपालबारे धारणा बनाउनेछन् ।

‘सी विचारधारा’को अन्तरकुन्तर

चिनियाँ कम्युनिष्ट पार्टीलाई अहिले ६९ वर्षीय सीले नेतृत्व गरिरहेका छन् । विगत ९ वर्षदेखि शक्तिमा रहेका उनी अझै लामो समय शक्तिमा रहिरहने बाटो बनाइरहेका छन् । यसका लागि उनले संविधान संशोधनमार्फत् दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउन व्यवस्थामा परिवर्तन गरिसकेका छन् । यससँगै उनी सन् २०२८ सम्म शक्तिमा रहने निश्चित जस्तै भएको छ । उमेर र अवस्थाले दिए उनी सन् २०३३ सम्म चीनको नेतृत्व गर्ने तयारीमा छन् ।

अब हुने पार्टीको २०औं सम्मेलनबाट उनले यसका लागि अवस्था आफूअनुकूल बनाउन प्रयास गर्नेछन् । उनले उक्त सम्मेलनबाट माओको पार्टी अध्यक्षको पदवी लिनसक्ने अनुमान पनि गर्न थालिएको छ । उनी आफ्नै नेतृत्वमा चीनलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउनुका साथै सैन्य र प्रविधिमा पनि अभूतपूर्व विकास गर्दै विश्वको महाशक्ति बन्ने उद्देश्यमा दृढताका साथ अगाडि बढिरहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन अक्टोबर १८-२४, २०१७ मा सम्पन्न भएको थियो, जसले तय गरको वैचारिक लाइनलाई ‘सी जिनपिङ विचारधारा’ भनिन्छ । वर्तमान पार्टी महासचिव सी सन् २०१२ मा भएको १८ औं पार्टी महाधिवेशनबाट पहिलो पटक पार्टी प्रमुख भएका थिए । सन् १९७७ यता चिनियाँ कम्युनिष्ट पार्टीमा १० वर्ष अर्थात् दुई कार्यकाल मात्र एक व्यक्ति पार्टी प्रमुख हुन सक्दथ्यो । अघिल्ला महासचिव हु जिन्ताओले १८ औं महाधिवेशनमा कार्यकाल पूरा गरेलगत्तै सी पार्टी महासचिव भएका हुन् ।

१९ औं महाधिवशेनमा उनी दोस्रो कार्यकालका लागि दोहोरिए । संविधान संशोधनसँगै उनले ७० वर्षको उमेरमा तेस्रो कार्यकाल सुरु गर्नेछन् । १९ औं महाधिवेशनको उद्घाटन समारोहमा सीले दिएको ३ घण्टा २३ मिनेट लामो भाषणमा व्यक्त विचारलाई ‘सी जिन पिङ विचारधारा’को रुपमा स्वीकार गरिएको हो । कम्युनिष्टहरूले ‘राजनीतिक प्रतिवेदन’ भन्ने उक्त भाषणमा सीले विगत कार्यकालको समीक्षा र आगामी कार्यभारको रुपरेखा प्रस्तुत गरेका थिए । यसबाट चिनियाँ सत्तामा असीमित रुपले बढ्दो सीको शक्ति र प्रभाव थप विस्तारित हुन थाल्यो ।

सीलाई शक्तिशाली उनका भाषणहरूले भन्दा नतिजाहरूले बनाएका हुन् । यसबीचमा विश्वको दोस्रो आर्थिक शक्तिका रुपमा चीनको उदय भएको छ । भ्रष्टाचारविरुद्धको आक्रामक कारबाही र ‘वान बेल्ट, वान रोड इनिसिएटिभ’ जस्तो महत्वाकांक्षी योजनाले उनलाई थप बलियो बनाएको छ । चिनियाँ सञ्चार माध्यमहरूले उनलाई ‘एक्काइशौं शताब्दीका माओ’को रुपमा सम्बोधन गर्दछन् ।

नेपालमा ‘कम्युनिष्ट’ नामलाई केवल ब्राण्डको रुपमा मात्र लिइएको पार्टीकै शीर्ष नेताहरूले बेलाबेला स्वीकारेका छन् । यसरी, विचारधारात्मक सहकार्यको सम्भावना साँघुरो हुँदै गए पनि नेपालको अवस्थितिकै कारण पनि चिनियाँ प्रभावबाट नेपाली व्यवहार टाढा रहन भने सक्ने छैन ।

पार्टीको १०० वर्षको आयुमा यसअघि ‘माओ विचारधारा’ र ‘देङ सिद्धान्त’ मात्र अभ्यासमा थिए । अब भने पार्टी विधान र महाधिवेशनले औपचारिक मान्यता दिएको ‘सी विचारधारा’ तेस्रो सिद्धान्तको रुपमा अस्तित्वमा आएको छ, चिनियाँ कम्युनिष्ट पार्टीको जीवनमा तेस्रो सिद्धान्तको रुपमा रहनेछ ।

यसैले होला, केही चिनियाँ विश्लेषकहरू ‘क्रान्ति सम्पन्न’ भएपछिको चीनलाई माओ युग, देङ युग र सी युग गरी तीन भागमा विभाजित गर्छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा यी तीनै नेताका आ-आफ्ना योगदान रहेका छन् । माओले चीनमा कम्युनिष्ट सत्ता स्थापना गरे । ‘नयाँ जनवादी क्रान्ति’ ‘जनयुद्धको सैन्य रणनीति’, ‘संयुक्त मोर्चाको आवधारणा’ ‘संयुक्त जनवादी अधिनायकत्व’ र ‘तेस्रो विश्वको सिद्धान्त’ जस्ता अवधारणाहरू माओले क्रान्तिकालमा प्रतिपादन गरेका थिए । त्यस्तै, ‘चिनियाँ समाजको छलाङमय समाजवादीकरण’, ‘निरन्तर क्रान्ति’ र ‘साँस्कृतिक क्रान्ति’ जस्ता अवधारणा उनले क्रान्तिपछि विकास गरेका अवधारणाहरू थिए ।

अर्का नेता देङले सांस्कृतिक क्रान्तिको असफलतापछिको चीनलाई सम्हाले । उनलेले चिनियाँ समाज र अर्थतन्त्रको ढाँचालाई नयाँ मोड दिए । चिनियाँ समाजमा आधुनिकताको संक्रमण गराउने देङ पनि सारमा माओझै ‘एक पार्टी राज्य’ कै पक्षधर थिए । सुधारकको कित्तामा उभिए पनि उनले प्रतिपक्षी आवाजलाई दमन गर्न भने छाडेनन् । सन् १९८९ मा तेनमियान चोकमा भएको लोकतन्त्रवादी विद्यार्थी आन्दोलनलाई उनले निर्मम दमन गरेका थिए ।

कृषि कम्युनको अन्त्य र जमिनको निजीकरण, निजी स्वामित्वलाई मान्यता, ‘चार आधुनिकीकरण’, चिनियाँ विशेषतासहितको समाजवादका लागि ‘बजार अर्थतन्त्रमा आधारित समाजवाद’को पक्षपोषण, सैन्य क्षमताको सामरिक अभिवृद्धि, वैदेशिक पुँजी र प्रविधिका लागि खुल्लापन, अर्थतन्त्रको भूमण्डलीकरण, राष्ट्रिय उद्योगहरूको विविधीकरण र उत्पादकत्व वृद्धि आदि उनका सुधारलाई सघाउने मुख्य नीतिहरूका रुपमा स्मरण गरिन्छ । चीनको वर्तमान सफलताको जग देङ नीतिको कारण सम्भव भएको बिनासंकोच स्वीकारिन्छ ।

देङ र सी जिन पिङको बीचमा उदाएका झियाओ झमिन र हु जिन्ताओ जस्ता नेताहरूले चिनियाँ समाजको तरक्कीका लागि भूमिका त खेले तर उनीहरूले कुनै भिन्नै वाद, विचारधारा र सिद्धान्त स्थापित गर्ने महत्वाकांक्षा पालेनन् । उनीहरूले आफ्नो भूमिकालाई देङका असल उत्तराधिकारीका रुपमा सीमित गरे ।

यता, सी जिनपिङले भने आफ्नो शासनकालमा केही नयाँ नारामा काम गरे र त्यसलाई लोकप्रिय बनाए । जसमध्ये ‘महान चीनको सपना’ एक हो । उनले सन् २०५० सम्म चीनलाई संसारकै सबैभन्दा सभ्य, भव्य र समुन्नत समाजवादी राष्ट्र बनाउने र विश्वको नेतृत्व गर्ने महत्वाकांक्षा लिएका छन् । उनले भ्रष्टाचारविरुद्ध सख्त कारबाहीको नीति लिएका छन् । उनको महात्वाकांक्षी योजना ‘वान वेल्ट, वान रोड इनिसिएटिभ’ चीनको सीमा नाघेर छिमेक हुँदै विश्वभरि फैलिँदैछ ।

संसारभरि चलिरहेको लोकतन्त्रको बहसभन्दा उनी अलि बाहिर छन् । उदार लोकतन्त्रका कुरा उनलाई मन पर्दैन । ‘बहुदलीय लोकतन्त्र’ चीनमा बर्जित छ । दलीय स्वतन्त्रता, नागरिक समाजको पहलकदमी, प्रेस स्वतन्त्रता, उदारवादी बजार अर्थतन्त्र, राजनीतिक सुधार, मानव अधिकारका विश्वव्यापी मान्यतालाई उनले चिनियाँ इतिहासको लाञ्छनापूर्ण आलोचना भनी सगर्व टिप्पणी गर्ने गर्दछन् । उनको दृढसंकल्प छ- ‘पश्चिमा हावा चीनमा छिर्न दिइँदैन ।’

सी माओकालीन जनयुद्धको ‘लम्बे अभियान’ चलाउनुपर्ने कष्टपूर्ण बाटोमा छैनन् । तर विश्वशक्ति बन्ने चिनियाँ महत्वाकांक्षाको बाटो त्यति सपाट र छोटो पनि छैन । पार्टीको १९औं महाधिवेशनमा उनले गरेको लम्बे भाषणका केही विशेषताहरू छन् ।

१४ बुँदामा समेटिएका उनको भाषणको सारलाई सामान्यतः सात विशेषतामा समेट्न सकिन्छ । त्यहाँ उनले साम्यवादी सिद्धान्तलाई चीनको भविष्यसँग जोडेका छन् । उनको निष्कर्ष छ- ‘पार्टी रहेन भने चीन राष्ट्र नै रहने छैन, समाजवाद पनि रहने छैन ।’

महाशक्ति बन्ने यात्रालाई सहज बनाउन हङकङ र मकाओमाथिको राजनीतिक प्रभाव बढाउँदै ताइवानलाई चीन मूल भूमिमा फर्किन बाध्य पार्नुपर्नेमा उनको जोड दिए । यसको सार हो- ‘एक देश, दुई प्रणाली’ को अन्त्य गर्दै ‘एक देश, एक प्रणाली’ नीति लागू गर्नु ।

चिनियाँ सैन्य क्षमताको वृद्धि, भ्रष्टाचारविरुद्धको निर्मम अभियान, ३० वर्षभित्र चीनलाई विश्वको महाशक्ति बनाउने र गरिबी निवारण गर्ने लक्ष्य उनको महत्वपूर्ण भाषणमा समेटिएका मुख्य विषयवस्तु हुन् । उनको भाषणमा समेटिएको अर्को महत्वपूर्ण पक्ष हो- मार्क्सवादी परम्परामा भएको समाजवादको अवधारणालाई चिनियाँकरण गर्ने र चिनियाँ विशेषता भएको समाजवादलाई नयाँ विश्व प्रणालीका रुपमा विकास गर्ने योजना ।

नेपालका कम्युनिष्टसँग ‘कनेक्सन’

नेपाली कम्युनिष्टहरू नेपाली माटो सुहाउँदो मौलिक कम्युनिष्ट विचारको विकासमा जोड दिन्छन् । तर भूमण्डलीकरणको जमानामा वैश्विक वैचारिक आँधीहुरीको प्रभावबाट बच्न मुस्किल छ नै । माओवादी केन्द्र एक्काइसौं शताब्दीको जनवादमा अडिएको छ भने एमालेभित्र विभिन्न धारहरू छन् । एमालेभित्र केही नेताहरू ‘सामाजिक जनवादी’ विचारको पक्षपोषण गर्दै आएका छन् । यसको अन्तरवस्तु हुन्छ- बहुदलीय जनवादलाई नयाँ समाजवादी क्रान्तिको चरणमा विकसित गर्ने, पार्टीको मार्गदर्शक सिद्धान्तबाट लेनिनवाद हटाउने, सोभियत साम्यवादको लिगेसीबाट पार्टीलाई मुक्त गर्ने र लोकतन्त्रविना समाजवाद प्रत्याभूत हुन नसक्ने विश्वासलाई जोड दिने आदि ।

मार्क्सवादी आन्दोलनमा पनि जित्नेले इतिहास लेखेका छन् । लेनिन, स्टालिन, माओको देवत्वकरण भइरहेको बेला ट्राटस्की, रोजा र ग्राम्स्कीहरू छायामा परिरहेका छन् । एमालेभित्रको सामाजिक जनवादी धारको पैरवी गर्ने नेताहरू एकातिर कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणको पक्षमा विचार राख्छन् भने अर्कोतिर सी विचारधाराको प्रसंशा गर्न छाड्दैनन् ।

यस्तो अन्तरविरोध र एकप्रकारको द्विविधाबाट उनीहरू ग्रस्त देखिन्छन् । त्यस्तै, विचारभन्दा व्यवहारवादलाई जोड दिने एमालेभित्रका नेताहरूमा देखिएको अस्पष्टताको त चर्चा गर्नु नै उपयुक्त नहोला । माओवादलाई गौरवीकरण गरेर ‘जनयुद्ध’ सञ्चालन गरेका नेपाली माओवादीहरूको राजनीतिक ‘झुकाव’ स्पष्ट छ ।

यी र यस्ता सन्दर्भहरूले चीनले नेपालमा राज्यस्तरको व्यापार र विकास सम्बन्ध मात्र हैन ‘कम्युनिष्ट–कम्युनिष्ट सम्बन्ध’ का नाममा नेपालको शासन प्रणालीलाई प्रभावित गर्ने मनसाय राखेको त हैन भन्ने प्रश्न बलियो बन्ने भइहाल्यो ।

फुर्कोको कुरा

कम्युनिष्ट पार्टीहरूले नामको पछाडि विभिन्न फुर्को झुन्डाउने गरेका छन् । शक्तिशाली नेताहरूको देवत्वकरण गर्नु मार्क्सवाद मान्नेहरूको धर्मजस्तै बन्न पुगेको छ । भनिन्छ- कम्युनिष्टहरुले मान्छेलाई मान्छे बनेर बाँच्न दिँदैनन् । मन पर्दा देवत्वकरण गर्छन् र मन नपर्दा राक्षसीकरण गर्छन् । तर मान्छे भन्ने अस्तित्व गुण र दोषसहित हुन्छ ।

त्यसैले होला, स्वयम् कार्ल मार्क्स भने यसका विरोधी थिए । जीवितै रहँदा सन् १८७१ तिर पेरिस रिभ्युलाई अन्तर्वार्ता दिँदै उनले ‘म आफैं मार्क्सवादी होइन’ भन्दै फुर्कोवाला धन्दाको विरोध गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु उपयुक्त होला । जसरी मूर्तिपुजाको विरोध गर्ने बुद्धको मूर्तिहरू बन्न थाले, त्यसरी नै कम्युनिष्ट आन्दोलनमा मार्क्सवादलाई मान्छु भन्नेहरूले नै मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद, माओ विचारधारा, जुझे विचारधारा, देङ सिद्धान्त, चारु मुजुम्दार लाइन, गोन्जालोपथ वा प्रचण्डपथजस्ता शब्दाबलीहरू प्रयोग गरे ।

मदन भण्डारीले जबज अगाडि सारे । उनको ‘दुर्घटना’मा मृत्यु भएकाले भविष्यमा के गर्थे भन्ने प्रश्न अनुत्तरित नै रहे । पछिल्लो समय नेपालका कम्युनिष्टहरूले मौसमअनुसार यस्तो फुर्को छाड्ने र समाउने गरिरहेका छन् । यसबाट नामको पछाडि झुन्ड्याउने फुर्कोको महत्व घट्दै गएको भनेर बुझ्न सकिन्छ । यसरी हेर्दा चीनले ‘सी विचारधारा’ प्रचलनमा आएपनि नेपालमा त्यसलाई पछ्याउने सम्भावना निकै साँघुरो हुँदै गएको छ ।

पार्टी एकताको बेला नेकपा एमालेले जबजलाई स्थगन गरेको र माओवादीले माओवाद नै छाडेको विषयलाई यो सन्दर्भमा विशेष स्मरण गर्नु उपयुक्त हुनेछ ।

नेपालमा ‘कम्युनिष्ट’ नामलाई केवल ब्राण्डको रुपमा मात्र लिइएको पार्टीकै शीर्ष नेताहरूले बेलाबेला स्वीकारेका छन् । यसरी, विचारधारात्मक सहकार्यको सम्भावना साँघुरो हुँदै गए पनि नेपालको अवस्थितिकै कारण पनि चिनियाँ प्रभावबाट नेपाली व्यवहार टाढा रहन भने सक्ने छैन । बीआरआई र एमसीसीको बहस र यससँग जोडिएको राजनीतिक तनावहरूले यसलाई व्यवहारतः पुष्टि गरिसकेको छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?