Comments Add Comment

अमेरिकाले २० वर्षपछि छाड्यो अफगानिस्तानको बग्राम एयरफिल्ड

१८ असार, काठमाडौं । अमेरिकाका दुई वरिष्ठ अधिकारीले अमेरिकी सेनाले करिब २० वर्षपछि अफगानिस्तानको बग्राम एयरफिल्ड छाडेको बताएका छन् ।

बग्राम एयरफिल्ड अफगानिस्तानमा चरमपन्थी संगठनविरुद्धको लडाइँको केन्द्रमा रहँदै आएको थियो । अमेरिकी अधिकारीहरुका अनुसार एयरफिल्ड ‘अफगानी राष्ट्रिय सुरक्षा एवं रक्षा बल’लाई पूर्णरुपमा सुम्पिएको छ ।

अधिकारीहरुका अनुसार अझै पनि उक्त एयरफिल्डको रक्षाको अधिकार र क्षमता अफगानिस्थानमा रहेका अमेरिकाका शीर्ष जनरल ओस्टिन एस मिलरसँग छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार औपचारिक कार्यक्रम गरी उक्त सैन्य क्याम्प हस्तान्तरण हुनेछ ।

बग्राम एयरफिल्ड छाडेर अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक फिर्ता जानको लागि तयार रहेको संकेत दिएको विश्लेषकहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बरबाट सबै अमेरिकी सेनाले अफगानिस्तान छाड्ने बताइसकेका छन् ।

अफगानिस्तानमा रहेका नेटोका अधिकांश सेनाले यसअघि नै अफगानिस्तान छाडिसकेका छन् ।

पछिल्लो समय अमेरिका र नेटोका सेनाले अफगानिस्तान छाड्न थालेसँगै तालिबानले पनि सरकारी सेनामाथिको आक्रमण बढाएको छ । सोही क्रममा उसले धेरै जिल्लामा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

यसै विषयलाई लिएर केही समयअघि संयुक्त राष्ट्रसंघले चेतावनी दिएको थियो । अमेरिकी सैन्य कमाण्डरले पनि अमेरिकी सेना फिर्ता जाँदा गृहयुद्ध सुरु हुन सक्ने चेतावनी दिइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment