+

खेलस्थलमा पत्रकारको पहुँच घट्दै गएकोमा चिन्ता

२०७८ असार  १८ गते १९:४३ २०७८ असार १८ गते १९:४३
खेलस्थलमा पत्रकारको पहुँच घट्दै गएकोमा चिन्ता

१८ असार, काठमाडौं । नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि खेलकुद पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को ९७ औं विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शुक्रबार भएको भर्चुअल अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

अन्तरक्रियामा एआईपीएसका अध्यक्ष जियानी मिर्लोले कोभिड–१९ को प्रभावसँग खेलकुद प्रतियोगितासँग पत्रकारको पहुँच घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले खेल स्थलमा पत्रकारको पहुँच घट्दै जानु खेलकुद पत्रकारका लागि चिन्ताको विषय रहेको बताए

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विश्व खेलकुद पत्रकार दिवसको शुभकामना दिँदै एनएसजेएफ एकेडेमीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले  नेपालको ओलम्पिक मुभमेन्टमा खेलकुद पत्रकार मञ्चको योगदान रहेको उल्लेख गर्दै थप सहकार्य गर्दै अघि बढ्न चाहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना महामारीले खेल क्षेत्रसँगै खेलकुद पत्रकारलाई समेत असर पारेको धारणा राखे । उनले खेल पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा मञ्चसँग यस वर्ष समेत सहकार्य गरिने बताए ।

अन्तरक्रियामा नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धुव्रबहादुर प्रधानले विश्व ओलम्पिक मुभमेन्टको विषयमा जानकारी गराए । नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष समेत रहेका प्रधानले विश्वमा ओलम्पिक मुभमेन्टको शुरुवातबारे चर्चा गर्दै यसले खेलकुद मात्र नभएर विश्वमा भाइचारा अभिवृद्धि गर्न सहयोग पुगेको धारणा राखे ।

यस्तै नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकुमार श्रेष्ठले स्वास्थ्यका दृष्टिकोणले यसपटक ओलम्पिक प्रतियोगिता कसरी फरक रहन्छ भन्ने जानकारी गराए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)ले कोभिडको अवस्था सामान्य बन्दै चाँडै खेल मैदानमा भेट्न मिल्ने विश्वास व्यक्त गरे ।

खेलकुद पत्रकार नेपाली खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय