+
+
संगीत :

ह्वाइट गुम्बामा युवतीसँग आँखा जुध्दा जन्मिएको गीत

सुशील नेपाल सुशील नेपाल
२०७८ असार १९ गते १२:३२

को होला त्यो मसँग आँखा जुधाउने

न चिने’नि मसँग अलि लजाउने…

आठ वर्षअघि यो गीत सार्वजनिक भयो । रेडियो, टेलिभिजन, लामो दूरीका यातायात र क्याफेतिर महीनौंसम्म घन्किरह्यो । विशेषगरी युवा पुस्ताले यो गीत खुबै गुनगुनायो ।

अहिले पनि यो गीत गीतसंगीतको माझमा गुञ्जिरहेकै हुन्छ । गीतमा थुप्रैले टिकटक बनाइरहेका हुन्छन् । फरक यति मात्र हो कि पहिले पुरुषको आवाजमा मात्र यो गुञ्जिएको थियो, अब महिलाको स्वरमा पनि यो गीत सुन्न सकिन्छ ।

फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीको मधुर स्वर सुन्न सकिन्छ भने भिडियोमा पहिलेकै मोडल पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका छन् । गत साता सार्वजनिक भएको गीतको भिडियो २८ लाख बढीले हेरिसकेका छन् ।

‘को होला त्यो’ बोलको गीत अहिले युट्युब ट्रेन्डिङको नम्बर एकमा छ ।

 एकदिन बेलुकापख ह्वाइट गुम्बामा पुगेर बसिरहेका बेला सुनिलको नजर एक अपरिचित युवतीमाथि पर्‍यो । युवतीले उनलाई बेलाबेला हेरिरहेकी थिइन् । अर्कोपटक ह्वाइट गुम्बा पुग्दा संयोगले उनले तिनै युवतीलाई देखे, जोसँग केहीबेर भुल्नै नसकिने गरी नजर जुधेको थियो ।

फिमेल भर्सन नै किन ?

गायक सुनिल गिरीले ‘को होला त्यो’ भाग–३ सम्म ल्याइसकेका छन् । ती सबै गीतलाई श्रोता/दर्शकले रुचाइ पनि दिए । यसको चौथो भाग ल्याउने सुनिलको सोच शुरूआतदेखिकै थियो । यता पछिल्लो समय सांगीतिक क्षेत्रमा फिमेल भर्जनको लहर चलिरहेका बेला एकपटक उनले पनि प्रयोग गर्न चाहे ।

‘फुटबुट्टे सारी’देखि, ‘टाढा भए पनि’ जस्ता गीतहरू फिमेल भर्जनमा निकै रुचाइएको समयमा अभिनेता पल शाहले पनि सुनिललाई फिमेल भर्जन ल्याउन सुझाव दिए ।

‘फिमेल भर्जन ल्याउने पहिलेदेखिको तयारी होइन । ट्रेन्ड चलिरहेकोले मात्र हो’ सुनिल भन्छन्, ‘फिमेल भर्जन मार्फत नयाँ युवा पुस्तालाई केही नयाँ ‘फ्लेबर’ दिऔं भन्ने सोचले गीत ल्यायौं ।’

कतिपयले नयाँ गीत ल्याउन ‘रिस्क’ मानेर पुरानो गीतको अर्को भाग ल्याएको पनि भने । कतिले पुरानो गीतको लोकप्रियता ‘क्याच’ गर्न खोजेको आरोप लगाए । तर चलिसकेको गीतलाई फेरि बजारमा ल्याउने चुनौती उनले सामना गरे ।

यता आठ वर्षअघिको गीत श्रोता एवं दर्शकले उत्तिकै रुचाउनुको कारण ‘मेलोडी’ लाई मान्छन् उनी । ‘नारायणगोपाल लगायत पुराना पुस्ताहरूको गीतको गुनगान अहिले पनि गर्छौं । उहाँहरूको गीतको मेलोडी मीठो थियो’ सुनिल भन्छन्, ‘को होला त्यो गीतमा मीठो मेलोडी छ । मेलोडी भन्ने कुरा कहिल्यै मर्दैन रहेछ ।’

युवतीको कल्पनामा जन्मिएको गीत

सुनिल काठमाडौंको डल्लुमा बस्थे । फुर्सदमा शान्त ठाउँतिर डुल्न पुगिरहेका हुन्थे । उनको प्रायः गइरहने ठाउँमध्ये पथ्र्यो स्वयम्भू माथिको ह्वाइट गुम्बा ।

एकदिन बेलुकापख ह्वाइट गुम्बामा पुगेर बसिरहेका बेला उनको नजर आमासँग डुल्न आएकी एक अपरिचित युवतीमाथि पर्‍यो। युवतीले पनि उनलाई बेलाबेला हेरिरहेकी थिइन् । अर्कोपटक ह्वाइट गुम्बा पुग्दा संयोगले उनले तिनै युवतीलाई देखे, जोसँग केहीबेर भुल्नै नसकिने गरी नजर जुधेको थियो ।

‘उनी मेरो नजिक–नजिक डुलिरहेकी थिइन्’ सुनिल सम्झन्छन्, ‘आँखिर को होला त्यो युवती भन्ने रन्कोमा यो गीत लेखें ।’

गण्डकी प्रदेशको तनहुँमा जन्मिएका हुन् सुनिल । इन्डियन आर्मीमा भएका बुवाको सुनिललाई इन्डियन आर्मी बनाउने चाहना थियो । नभए शिक्षक बनाउने सोच थियो । तर, सुनिल सानैदेखि गीत–संगीत भनेपछि हुरुक्क हुन्थे ।

गाउँघरमा रेडियो तथा क्यासेट प्लेयरमा लोकगीत नै बढी घन्किन्थ्यो । यद्यपि सुनिलमा सानैदेखि लोक पप संगीतमा रुचि थियो । उनी सानैदेखि एक्लै बस्न रुचाउँथे । घरमा हुँदा बुबाले किनिदिएको रेडियो हमेशा साथै राख्थे । रेडियोमा बज्ने गीत खूबै सुन्थे । सानैदेखि घरमा बस्दा मात्र नभई पाखा–पखेरा चहार्दा गीत गुनगुनाउने, रचना गर्ने गर्न थालिसकेका थिए ।

‘कक्षा ५ तिर पढ्दादेखि नै गाउन थालेको हुँ । स्कूलमा डराई–डराई भए पनि गीत गुनगुनाउँथें’ सुनिल बाल्यकालको कुरा सुनाइरहेका हुन्छन् ।

एसएलसी सकेपछि संगीत सिक्ने भन्दै उनी काठमाडौं आए, २०६१ सालमा । तर, कहाँ सहज थियो र बिरानो ठाउँमा । संगीत कहाँ गएर सिक्ने भेउ पाइरहेका थिएनन् । त्यतिकैमा एउटा रेडियो कार्यक्रमले उनलाई संगीत सिक्ने अवसर जुराइदियो । त्यसै कार्यक्रमबाट तीन महीना निःशुल्क संगीत क्लास सिक्न पाउने भए ।

त्यो कार्यक्रममा फेरि फोन गरेर नवीन के. भट्टराईको गीत ‘तिमीलाई भेट्ने, तिमीसँग बोल्ने’गाए । विजेता उनै बने । तर संगीत कहाँ सिक्ने हो ? थाहा थिएन । पछि सोधखोज गरेर बालाजुमा रहेको सारेगम कला केन्द्रमा अशोक पौडेलसँग संगीत सिक्न थाले ।

तीन महीनालाई भनेर गएका उनले तीन वर्ष त्यहीं बिताए । त्यसपछि गुरु अशोक पौडेलले नै उनलाई गान्धर्व संगीत पाठशालामा लगे । त्यहाँ चन्दन श्रेष्ठसँग झण्डै पाँच वर्ष शास्त्रीय संगीत सिके । राग, सुर, स्वरमा आफूलाई निखार्दै लगे ।

गीत लेखिरहेकै हुन्थे, संगीत भरिरहेका हुन्थे । तर रेकर्ड भएको थिएन । एकदिन युवतीको कल्पनामा लेखेको ‘को होला त्यो’ लाई रेकर्ड गराउने सोच बनाए । गोपाल रसाइलीले गीतको एरेन्ज गरे । त्यहीबेला भिडियो निर्देशक सतिश श्रेष्ठ भेटिए । सतिशले नै भिडियोका लागि पल र प्रकृतिको कुरा ल्याए ।

त्यतिबेलासम्म पलको म्युजिक भिडियो बजारमा आइसकेको थिएन । यता प्रकृति पनि ‘नोटिस’ भएकी थिइनन् । गीतसँगै भिडियोमा पल, प्रकृतिको जोडीलाई निकै रुचाइयो । त्यसपछि पल र प्रकृति थुप्रै म्युजिक भिडियोमा खोजिए ।

सुनिलको पहिलो गीत नै अनपेक्षित रूपमा हिट हुन पुग्यो । त्यसअघि गुमनाम उनी एकाएक संगीत बजारको ‘बिग नेम’ बन्न पुगे । मेला–महोत्सवमा खोजिन थाले । तर, मेला–महोत्सवमा गाउन आफ्नो एउटा बाहेक अरू गीत थिएनन् । मेला–महोत्सवमा सुनिल तीन चार पटकसम्म ‘को होला त्यो’ नै गाउँथे ।

एउटै गीतले उनको मन शान्त पार्न सकेन । यसपछि ‘देउराली भञ्ज्याङ’, ‘तिमी आउँछौं कि भनी’ (को होला भाग–२), ‘टोलाउँदै होला’ (को होला भाग–३),  ‘सोल्टिनी’, ‘झरी परेको रात’, ‘रोगै पिरती’ लगायतका तीन दर्जन गीत ल्याइसकेका छन् उनले ।

सुनिल गीतको मेलोडी (लय) मा विशेष ध्यान दिन्छन् । ‘मेलोडीमा विशेष ध्यान दिन्छु । मनमा छुने खालको हुनुपर्‍यो । आफूलाई सन्तुष्टि दिने खालको हुनुपर्‍यो’, उनी भन्छन् ।

सुनिल थप्छन्, ‘नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । म आफंै प्रकृतिप्रेमी छु । घुम्न असाध्यै रुचाउँछु । त्यसैले देशको सुन्दरतालाई कसरी गीत–संगीत मार्फत देखाउन सक्छु भन्ने कुरा सोचिरहेको हुन्छु ।’

उनी आगामी दिनमा अछाम, डोटी, बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरूमा समेत पुगेर म्युजिक भिडियो निर्माण गर्ने योजनामा छन् ।

डेढ दशकको सांगीतिक यात्राबाट आफू सन्तुष्ट रहेको बताउँछन् । अरू कैयौं गायक–गायिकाले दर्जनौं गीत ल्याएर पनि नचलेका उदाहरण प्रशस्त छन् । तर, उनी पहिलो गीतबाट श्रोता/दर्शकमाझ चिनिन पाउँदा आफूलाई भाग्यमानी ठान्छन् । आजसम्म संगीत क्षेत्रबाटै जीवन चलाउन सकेकोमा उनी सन्तुष्टि व्यक्त गर्छन् ।

‘पहिले पनि जागीर गरेको थिइनँ, अहिले पनि संगीत क्षेत्रमा मात्र आवद्ध छु’ उनी सुनाउँछन्, ‘अपेक्षा धेरै राखेको भए गाह्रो हुन्थ्यो होला । मैले धेरै अतिरिक्त मोह राखिनँ ।’

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?