
नेपाली चलचित्रमा उदाउँदै गरेका निर्देशक विशारद बस्नेतको निधन भएको छ । उनको शुक्रबार निधन भएको हो । ३९ बर्षका बिशारदको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ ।
भारतमा जन्मिएर लामो समय भारतमा नै काम गरेका बिशारदले ‘यता न उता’ नामक चलचित्रमा सह–निर्देशकको रुपमा काम गरेका थिए । उनले निर्देशन गरेको चलचित्र ‘मिस्टर भर्जिन’ चर्चामा रहेको थियो ।
नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्याउने सपना बोकेका बिशारदको सपना भने अधुरो नै रहन पुग्यो । उनले एभरेष्ट फिल्म एकेडेमीमा अभिनय पनि पढाउँदे आएका थिए । भारतमा रहँदा उनले नाट्य क्षेत्रमा राम्रो अनुभव समेत बटुलेका थिए ।
बिशारदले चलचित्र ‘मिस्टर भर्जिन’को सिक्वेल बनाउने तयारी समेत गरेका थिए । बस्नेतले मण्डला थिएटरमा ‘क्लाउन एट वर्क’ शिर्षकमा कार्यशाला समेत संचालन गरेका थिए ।
प्रतिक्रिया 4