Comments Add Comment

दुई महिनापछि गोरखामा चले सार्वजनिक यातायात, तर यात्रु पाउनै मुश्किल

२० असार, गोरखा । दुई महिनापछि जिल्लामा सार्वजनिक यातायात सञ्‍चालनमा आएको छ । सवारी सञ्चालनमा आएपनि यात्रु पाउन भने मुश्किल देखियो । पाँच÷सात जना भन्दा बढी यात्रु नभएको चालकहरु बताउँछन् ।

पाँच जना यात्रु बोकेर आइतवार बिहान नाम्जुङ्ग बतासेबाट गोरखा सदरमुकाम आएको सवारी चालक सुरेन्द्र श्रेष्ठ बताउछन् । ‘अहिले फर्कन लाग्दै छु, वतासे जाने जम्मा दुइजना हुनुहुन्छ, अरु सबै ढुङ्गागाढेसम्म मात्र हो,’ उनले भने । यात्रुको संख्या कम भएकाले सोमवार देखि गाडी नचलाउने निष्कर्षमा उनी पुगेका छन् । ‘लामो समय गाडी थन्कियो, करिव ५० हजार रकम मर्मतमा खर्च भयो, आजदेखि चलाएको यात्रु छैनन्, तेल भाडा नि नउठ्ने भएपछि के चलाउनु,’ उनले भने ।

आइतवार दिउँसो गोरखा सदरमुकामबाट आबुखैरेनी जान लागेको ना ३ ख ७१५६ नम्वरको बसमा पनि मुश्किलले ५-६ जना यात्रु थिए । यात्रुमध्ये पनि सबै खैरेनी जाने थिएनन् । गाडी थन्क्याएर राख्दा बिग्रिने भएकाले कम यात्रु भएपनि बाध्यताले चलाउनु परेको चालक लक्ष्मण सुनारले बताए ।

‘लामो समयसम्म गाडी चलेन, करीब ३५ हजार खर्च गरेर मोविल फेर्ने, ग्रिज सफा गर्ने कामहरु गरे, जिल्ला भित्र मात्र भएपनि आज देखि गाडी त चल्यो तर यात्रु छैनन्,’ उनले भने । लामो समय नचलाउदा बिग्रन सक्ने सम्भावना भएकाले घाटा खाएर भएपनि सञ्चालन गरेको उनले बताए । घाटा भएपनि गाडी गुड्यो भन्नेमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

आइतवार पृथ्वी राजमार्ग बस सञ्‍चालक कम्पनी प्रालिका चार वटा सवारी मात्र चले । पहिले जस्तो सिस्टमको क्यू छुट्याएका सवारी सञ्चालन नगरिएको प्रालिले जनाएको छ । प्रालिका अनुसार आइतवार दुईवटा माइक्रो र दुई वटा बसमात्र सञ्चालन भयो । एक-एक घण्टाको फरकमा उनीहरुलाइ छुटाइयो । सोमवारबाट गाडीको संख्या थप गर्दै लैजाने बताइएको छ ।

गोरखा दरौदी यातायात प्रालि अन्रतगत आइतवार जम्मा दुइवटा सवारी चले । अश्राङ र नाम्जुङ वतासेबाट एक-एक वटा मात्र सवारी चलेको प्रालिले जनाएको छ । क्यू नगरी व्यवसायीहरुले स्वविवेकले गाडी चलाएको बताइएको छ । ठाउँमा ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएका कारण अरु ठाउँबाट गाडी चल्न नसकेको प्रालिले जनाएको छ ।

मास्क र सेनिटाइजर देखियो, फेस सिल्ड देखिएन

आइतबारदेखि सार्वजनिक सवारी सञ्चालन गर्न दिएको प्रशासनले यात्रु र चालक तथा सहचालकका लागी आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । मास्क, सेनिटाइजर र फेस सिल्ड अनिवार्य गरिएको भएपनि जिल्लामा आइतवार सञ्चालन भएका सवारीमा मास्क र सेनिटाइजर देखिए तर फेस सिल्ड देखिएन ।

यात्रु, चालक र सहचालक सबै मास्कमा थिए तर फेस सिल्ड थिएन । फेस सिल्ड लगाएर सवारी चलाउन नसकिने चालक सुनार बताउछन् । ‘मास्क र सेनिटाइजर गाडीमै छ, मास्क नलगाउने यात्रुलाइ दश रुपैया लिएर मास्क दिन्छौ, तर फेस सिल्ड छैन, त्यो लगायो भने आखा राम्रो सँग देखिदैन, गाडी चलाउन गाह्रो हुन्छ,’ उनले भने ।

अकुंश लगाएर सवारी चलाउन दिइयो : यातायात व्यवसायी

आइतबार देखि सवारी सञ्चालनमा आएपनि यातायात व्यवसायीहरु भने खुशी छैनन् । प्रशासनले अंकुश लगाएर यातायात सञ्चालन गर्न दिएको उनीहरु बताउछन् । बजार पूर्ण रुपमा नखुल्दा यातायात सञ्चालन गर्नुको अर्थ नभएको पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि गोरखा शाखाका क्षेत्रिय सदस्य विपिनचन्द्र ढकालले बताए ।

‘पसलहरु सिमित समयका लागी खुलेका छन्, होटल रेष्टुरेष्ट नखुल्दा चालक र सहचालकले खाना खाजा खाने ठाउँ छैन, बजार क्षेत्र पूर्ण रुपमा नखुल्दा यात्रु पाउन मुश्किल छ, डोरीले हात खुट्टा बाँधेर गाडी चला भने जस्तो गरेको छ,’ उनले भने । बजार पूर्ण रुपमा खुल्ला गर्नुपर्ने उनी बताउछन् ।

जिल्लामा सेवा दिइरहेको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले पनि बजार पूर्ण रुपमा खुलाउनुपर्ने माग गरेको छ । अहिले प्रशासनले समयसिमा निर्धारण गरेर बजारहरु खुल्ला गर्दै आएको छ ।

‘सवारी त खुलाइयो तर ग्रामिण भेग भन्दा पनि सदरमुकामवासीलाई मात्र सहज हुने गरी खुलाइएको छ, बजार पुरै नखुलाउने अनि हामीले कहाँबाट यात्रु पाउने,’ प्रालिका महासचिव अन्जन बाबु खत्रीले भने । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड लागू गराएर पूर्ण रुपमा बजार खुलाउनुपर्ने र होटल रेष्टुरेष्ट पनि सञ्चालन गर्न दिनुपर्ने उनले बताए ।

परिस्थितिलाइ बुझ्नुपर्छ : प्रजिअ

डिसिएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले कोभिडको परिस्थितिलाई बुझ्नुपर्ने बताएका छन् । यातायात व्यवसायीको यस्तो गुनासो छ नी भनेर सोध्दा उनले अनलाइनखबरसँग भने, ‘यो अरु बेला जस्तो सामान्य अवस्था होइन, कोभिडको बेला हो, अति आवश्यक कामले आउजाउ गर्नुपर्नेलाइ मात्र लक्षित गरेर सवारी चलाउन दिएका हौ, पूर्ण रुपमा बजार खुलाउनका लागी अरु बेला जस्तो सहज परिस्थिती छैन, त्यो उहाँहरुले बुझ्नुपर्छ ।’

अहिले जिल्लामा कोभिडको संक्रमण दर बढेकाले पनि सजग रहनुपर्ने उनले बताए । यो आफ्नो मात्र एकल निर्णय नभइ सबै पालिकाका जनप्रतिनिधि तथा राजनितिक दलहरुको निर्णय भएको उनले जानकारी गराए । परिस्थिती सहज भएपछि क्रमश सबै क्षेत्र चलायमान बनाउदै लैजाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment