Comments Add Comment

जेफ बेजोसको अन्तरिक्ष यात्रामा चार जना, ८२ वर्षकी महिलालाई पनि लैजाने

पर्खाइको फल मिठो हुन्छ भन्ने उखान अमेरिकाकी एक महिलामा लागू भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको मर्क्युरी कार्यक्रम अन्तरगत अन्तरिक्ष यात्राका लागि ६० वर्ष अगाडि नै तालीम लिएकी वाली फंकले त्यतिबेला अन्तरिक्षमा जान पाइनन् । तर उनको त्यो आधा शताब्दीदेखिको अन्तरिक्षमा जाने पर्खाइ अब भने पूरा हुने भएको छ ।

हाल ८२ वर्ष उमेरकी फंक विश्वका नम्बर वान अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा जाने भएकी छिन् ।

जुलाई २० मा हुने आफ्नो अन्तरिक्ष उडानका लागि जेफ बेजोसले उनलाई पनि छनोट गरेका हुन् । योसँगै ब्लु ओरिजिन कम्पनीको रकेटबाट जेफ बेजोससँगै उनका भाइ, २ करोड ८० लाख डलरमा टिकट खरीद गरेका एकजना व्यक्तिका साथै वाली फंक गरी चारजना अन्तरिक्ष उडानमा जाने पक्का भएको हो ।

ब्लु ओरिजिन कम्पनीले बिहीबार एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुवाहक उडानमा जेफ बेजोस, मार्क बेजोस, टिकट खरीदकर्ता सँगै ८२ वर्षकी फंक पनि सहभागी हुने जनाएको हो ।

फंकलाई न्यु शेर्फडको उडानमा सम्मानित पाहुनाको रुपमा समावेश गरिएको बेजोसको इन्स्टाग्राम पोष्टमा उल्लेख  छ । इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फंकलाई उनी पनि अन्तरिक्ष मिसनमा सहभागी हुने खुलासा गरेका छन् र त्यो सुन्दा फंक उत्साहित भएर चिच्याएको र बेजोसँग अंकमाल गरेको देखिन्छ ।

सन् १९६१ मा सञ्चालित अन्तरिक्षमा महिला कार्यक्रमको नामले समेत चिनिने Mercury 13  कार्यक्रमका लागि फंकले काम गरेकी थिइन् । निजी लगानीको उक्त कार्यक्रमको उद्देश्य नासाको सुरुआती अन्तरिक्ष कार्यक्रमहरुका लागि महिलालाई तालीम दिनु थियो । उक्त कार्यक्रममा १३ जना महिला सबै खाले तालीम तथा परीक्षणमा समेत सहभागी भए तर अन्तरिक्ष उडानमा भने ७ जना पुरुषहरु मात्र छनोट भए ।

उक्त कार्यक्रमबाट दीक्षित हुनेमा फंक सबैभन्दा कम उमेरकी युवती थिइन् । उनले केटाहरुले भन्दा पनि निकै राम्रोसँग र छिटो तरिकाले आफ्नो काम पूरा गरेको बताइएको थियो । उनले Mercury 13 को परीक्षणका क्रममा सेन्सर डिप्राइभेसन ट्यांकभित्र १० घण्टा ३५ मिनेट बिताएकी थिइन् र चर्चित अन्तरिक्ष यात्री जोन ग्लेनलाई पनि पछि पारेकी थिइन् । तर नासाले उनलाई अन्तरिक्षयात्रीका रुपमा कहिल्यै छनोट गरेन ।

आफूले ४ पटकसम्म नासामा गएर आफू अन्तरिक्षयात्री बन्न इच्छुक रहेको भनी अनुरोध गर्दासमेत कसैले पनि आफूलाई मौका नदिएको र  सबैजनाले आफूलाई महिला भएकै कारण अन्तरिक्षमा जान नसक्ने भनी जवाफ दिएको उनको अनुभव छ ।

फंक निकै अनुभवी पाइलट पनि हुन् । उनीसँग १९ हजार ६ सय घण्टा जहाज उडाएको अनुभव छ भने निजी तथा व्यवसायिक जहाजहरु कसरी उडाउने भने ३ हजार जनाभन्दा धेरैलाई तालीम दिइसकेकी छिन् । तर उनको त्यो अनुभव ब्लु ओरिजिनको रकेटमा भने काम लाग्नेछैन । किनकी उक्त रकेट सिस्टम तथा यान पूरै स्वचालित हुनेछ ।

स्मरण रहोस् फंकले बेलायती अर्बपति रिचार्ड ब्रान्सनको  कम्पनी भर्जिन ग्यालाक्टिकको जहाजमार्फत् अन्तरिक्षमा जानका लागि सन् २०१९ मै टिकट खरीद गरिसकेकी थिइन् । उक्त कम्पनीका मालिक  ब्रान्सन आगामी जुलाई ११ मा अन्तरिक्ष यात्रामा जाँदैछन् । ब्रान्सनका प्रतिस्पर्धी जेफ बेजोसँग नै अन्तरिक्ष उडानमा जाने भएपछि भर्जिन ग्यालाक्टिकसँग किनेको टिकटको उपयोग उनले भविष्यमा गर्छिन् वा गर्दिनन् त्यस बारेमा केही बताएकी छैनिन् ।

 

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment