Comments Add Comment

कांग्रेस महाधिवेशन : नेतृत्व हत्याउनमा केन्द्रित

बाढी, पहिरो, डुबान तथा कोभिड महामारी नियन्त्रणमा नआउँदै नेपाली कांग्रेस बाध्यकारी रूपमा आफ्नो १४औं महाधिवेशनमा हेलिएको छ । भदौ १७–१९ महाधिवेशन नगरे कानूनले तोकेको पचास हजार जरिवानाको भागीदार बन्नै पर्ने बाध्यताका कारण पनि कांग्रेसलाई महाधिवेशनको चटारो लागेको हो ।

पार्टीका ७० नाघेका नेता सभापतिका प्रत्यासीका रूपमा मैदानमा देखापरेकै कारण कांग्रेसभित्र ‘नीति’ माथि भएको बहस सुनिंदैन । इतिहास लामो भएकै कारण पार्टी नेतृत्वका दावेदारले नीतिगत बहसलाई प्राथमिकतामा नराखेको हुनुपर्दछ, तर भविष्य लामो भएका युवा नेताहरूले आगामी २५ देखि ५० वर्षसम्म लिने ‘नीति’का बारे पार्टीको तल्लो पंक्तिसम्म बहस चलाउन सक्नुपर्दथ्यो ।

सुनाखरी झैं बहुमूल्य मानिएका युवा पंक्ति पनि बुढाहरूकै आडमा टाँसिएर हुर्कने बाहेक पृथक् पहिचान देखाउन सक्षम भएनन् । यसले नेपाली कांग्रेसमै भविष्य देख्ने देशभरका लाखौं युवा/तरुणलाई ठेस पुर्‍याउने निश्चितप्रायः छ ।

कांग्रेस एउटा ‘पार्टी’ मात्र नभएर ‘विचार’ पनि हो भन्ने हेक्का पार्टी नेतृत्वलाई नभएसम्म एक्काइसौं शताब्दीको प्रतिनिधित्व गर्ने कांग्रेस निर्माण असम्भव छ । सत्ताबाट ‘सिस्टम’ नै डगमगाउने काम भइरहेका  समयमा ‘अपोजिसन’को राजनीति गरिरहेको कांग्रेसले मुलुकको ‘सिस्टम’लाई ‘ट्रयाक’मा ल्याउन पनि कठोर कदम उठाउन जरूरी थियो ।

अहिले सत्ताको विपक्षमा कांग्रेस नेतृत्वमा नै विपक्षी गठबन्धन छ तर गठबन्धनका नेता देउवा बालुवाटार भन्दा धेरै टाढा छैनन् । यसले देखाउँछ विपक्षको अलमल । तसर्थ, यही परिवेशमा हुँदै गरेको कांग्रेसको महाधिवेशनले लिने ‘नीति’ले नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने निश्चित छ ।

सत्तारुढ भएलगत्तै नेकपा (एमाले)ले आफ्नो प्राथमिकता चटक्क भुलेको छ । पछिल्लो समय नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा लिने गरिएको ‘गणतन्त्र’लाई नियन्त्रित रूपमा अगाडि बढाउने प्रयास सत्ताबाट भइरहेको छ । मुलुक ‘अध्यादेश’बाट संचालन गरिने गलत परम्पराको अभ्यास थालिएको छ ।

यसरी निर्वाचित सरकार स्वयम् नियन्त्रित शासनतर्फ उन्मुख भएकै बखत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो १४औं राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । साउन र भदौ दुई महीना मुलुकमा कुनै राजनीतिक तथा प्राकृतिक विपत्ति भएन भने नेपाली कांग्रेसले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछ ।

कांग्रेसको बहुप्रतीक्षित महाधिवेशन ‘नीति’मा भन्दा ‘नेतृत्व’ हत्याउनेमा केन्द्रित देखिन्छ । लोकतान्त्रिक पार्टीका लागि यो दुर्भाग्यपूर्ण अवस्था हो ।

तर महाधिवेशन भन्दा पनि सत्तारुढ एमालेले अख्तियार गरेको ‘नियन्त्रित गणतन्त्र’का पक्षमै आफूलाई उभ्याएर कांग्रस स्वयम् सत्ताको लाचार छायाँ बन्छ कि भन्ने त्रास पनि कायमै छ । तर त्यसअघि नै न्यायालयमा विचाराधीन मुद्दाको फैसलापश्चात् ‘संसद विघटन वा पुनस्र्थापना’ जे भए पनि वर्तमान सरकारका विकल्पमा बाँकी दललाई डोर्‍याएर सरकार निर्माणमा कांग्रेस सफल बन्न सक्ने विकल्प पनि छ । यही विषयको सेरोफेरोमा नेपालको राजनीति निश्चित अवधि घुम्ने निश्चित देखिन्छ ।

जीवन्त राजनीतिक दलको जीवनमा आउने आवधिक निर्वाचन सामान्य प्रक्रिया हो । तर, यतिबेलाको १४औं महाधिवेशनको महत्व ज्यादा यस मानेमा किन पनि छ भने कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसलाई विपक्षमा बस्न प्राप्त ‘म्याण्डेट’ विपरीत सिंगो पार्टीलाई सत्ताको ‘कार्बन कपी’मा रूपान्तरण गरिदिए ।

निर्वाचन हारका बारे समीक्षा र जिम्मेवारी त लिन तयार भएनन् नै, हुँदा–हुँदा शक्तिको आडमा राज्यको दोहन गर्ने सत्तारुढ एमालेको हरेक कदममा हिजोका मितिसम्म सहयोगी बनेर कांग्रेसको क्षयीकरणमा रमाउँदै गए ।

आफ्ना आलोचकका कुरा सुन्नै नचाहने देउवाका लागि उनकै अभिव्यक्तिका कारण पनि नेपाल र नेपाली कांग्रेसको राजनीतिमा प्रभावशाली मानिएको छिमेकी मुलुक भारतसमेत चिढिन पुग्दा १३औं महाधिवेशनमा विश्वासयोग्य बनेको सम्बन्ध १४औं महाधिवेशनसम्म आइपुग्दा लगभग टुटिसकेको देखिन्छ ।

छिमेकी मुलुक भारतसँगको सम्बन्धका ‘सेतु’ मानिएका उपसभापति विमलेन्द्र निधि र बौद्धिक नेता प्रदिप गिरी दुवै आजका मितिमा देउवासँग नरहनुले पनि देउवाको पार्टी सभापति बनिछाड्ने अभियान त्यति सहज देखिंदैन ।

१३औं महाधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीको प्रत्यासी भएको भए तापनि महामन्त्री शशांक कोइरालाले देउवालाई नै साथ दिंदै आएका थिए । सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई सभापति निर्वाचित हुनका निम्ति साथ दिएका थिए ।

प्रभावशाली अर्का नेता अर्जुननरसिंह केसी देउवा समूहबाट महामन्त्री लडेर देउवालाई साथ दिएकै हुन् । लोकप्रिय मत हासिल गर्न सफल शेखर कोइरालाले सबैभन्दा ज्यादा मत प्राप्त गरेर पनि पदाधिकारीमा मनोनीत नहुँदा समेत देउवालाई अनावश्यक आलोचना गरेनन् ।

देउवा भेट्न ओलाङचुङगोलादेखि कर्णालीसम्मबाट बूढानीलकण्ठ दरबार पुग्नेहरूका लागि भेटघाट गरेर ‘ढाडस’ दिने दिलचस्पी देउवाले कहिल्यै देखाएनन् । अचम्म त यो छ, जतिबेला सभापतिमा आफैं लड्ने घोषणा आफू निकटका निधि र गोपालमान श्रेष्ठले गरे, तब मात्र मेचीदेखि महाकालीसम्मका कार्यकर्ता त्यो पनि आफूलाई मद्दत माग्नका निम्ति भेटघाट शुरू गरे ।

निधि र श्रेष्ठ आफ्नो समूहबाट बाहिरिए पनि विजयकुमार गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस भित्रिएका सुनिलबहादुर थापातिर देउवाको नजर देखिन्छ । तर यी दुवै नेता देउवाकै भर मात्र पर्ने स्थिति किन पनि छैन भन्दा गच्छदार स्वयम् माथि ‘केस’ पर्दा देउवाबाट भरपर्दाे साथ उनले पाउन सकेनन् ।

उता राजनीतिका चतुर खेलाडी दिवंगत नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा पनि कांग्रेसभित्रको समीकरण र कांग्रेसलाई हेर्ने अन्तर्राष्ट्रिय नजरबाट बेखबर पक्कै छैनन् ।

चार–चार पटक प्रधानमन्त्री भएका र कुनै बेला नेपाली कांग्रेस पार्टी नै फुटाएर कांग्रेस प्रजातान्त्रिक खोल्न पुगेका देउवाले ‘प्रो–एक्टिभ’ भएर महाधिवेशन समयमा गराउनुपर्नेमा नाजायज ढंगले कार्यकाल लम्ब्याएको देउवा इतर मात्र नभई स्वयं देउवापक्षलाई पनि मन परेको छैन ।

यो सबै कुराको भेउ पाएका चतुर खेलाडी देउवा आफैं प्रधानमन्त्री भएर महाधिवेशन गराउने, अन्यथा बाढीको बितण्डा र कोभिडलाई बहाना बनाएर तेह्रौं महाधिवेशनका प्रतिनिधिबाट विशेष महाधिवेशन गराएर पुनः आफ्नो बाटो सहज बनाउने रणनीतिमा देखिन्छन्, तर त्यो बाटो पनि आफूपक्षीय नेता चिढ्याएर देउवाका लागि सहज देखिन्न ।

त्यसो त देउवा इतर क्याम्पमा पनि एकले अर्कोलाई सहजै स्वीकार्न सक्ने स्थिति छैन । क्षेत्रीय अधिवेशन सम्पन्नपश्चात् हुने महाधिवेशन प्रतिनिधि चयनलगत्तै आ–आफ्नो स्थितिको आकलन त सभापतिका प्रत्यासीले गर्लान् नै, त्यसअघि भने देउवा क्याम्पमा झैं देउवा इतर क्याम्पमा पनि सर्वसम्मत उम्मेदवार देखिएका छैनन् ।

यसअघि सर्वसम्मत बनेका रामचन्द्र पौडेल आफ्नै समूहभित्र अहिले एक्लिएका छन् । सिटौलाले १३औं अधिवेशनमा ‘धोका’ दिए भनेर अहिले पनि गुनासो नै गरिरहेका छन् । उनकै समूहभित्र पनि प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला ‘हेभिवेट’का रूपमा अगाडि आइसकेका छन् । क्षेत्रीय अधिवेशनलगत्तै आफ्नो उम्मेदवारीको बारे धारणा प्रष्ट्याउने तयारीमा सिटौला देखिन्छन् ।

युवाको भावनाको प्रतिनिधित्व भन्दै आफ्नो उम्मेदवारीको कल्याण गुरुङले पनि सभापतिमा नै दाबी प्रस्तुत गरेका छन् । घटनाक्रमले कोही कसैलाई अन्य ‘पोजिसन’मा सेट गरायो भनेभन्दा बाहेक सभापतिका प्रत्यासीमा देउवा, निधि, सिटौला, कोइरालाद्वय, सिंह र गुरुङ चुनावी मैदानमा उत्रने छन् । दोस्रो चरणमा प्रवेश गरेलगत्तै भने सभापति बन्नबाट देउवालाई रोक्ने तयारी दुवै क्याम्पको देखिन्छ ।

सभापति पछिको दोस्रो महत्वपूर्ण मानिएको दुई महामन्त्री पदका आकांक्षी पनि करीब एक दर्जन देखिन्छन् । महामन्त्रीका आकांक्षीहरूमा प्रकाशशरण महत, मिनेन्द्र रिजाल, गगनकुमार थापा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, एनपी साउद, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरे लगायत छन् ।

तर, युवा नेताको पनि हुर्कने बढ्ने आडभरोसा अन्यत्रै भएका कारण को–को कुन–कुन पदमा भन्ने टुंगो लागि नसकेको देखिन्छ । ‘हेभिवेट’ मानिएका केन्द्रीय नेताहरू गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, पूर्णबहादुर खड्का, रामशरण महत, सुजाता कोइरालालगायत नेताहरूको यथोचित व्यवस्थापन अगावै देउवा, सिटौला, कोइरालाद्वय, सिंह आदिको सभापति पदको उम्मेदवारीको अर्थ नरहन सक्दछ ।

किनकि, सभापतिका प्रत्यासीहरूमध्ये जो निर्वाचित भए पनि बाँकी उपल्लो तहका नेताको व्यवस्थापन नै कांग्रेसभित्रको तीनै वटा समूहको मुख्य चुनौती हो ।

सभापतिका प्रत्यासीहरूको आलोचना गर्ने ठाउँ पर्याप्त छन्, सिंगो पार्टीको सभापति हुँदासमेत देउवा गुटबाट माथि उठ्नै सकेनन् भने सिंगो पार्टीलाई सत्ताको छायाँ बनाइदिए ।

हिजो देउवा इतर समूहको नेता बनेका पौडेलले त्यो ‘भूमिका’ कायम राख्न नसकेका कारण आफ्नो गुटमा उनी एक्लिए । रचनात्मक रणनीति र प्रखर भएर पनि पार्टीभित्र दायरा फराकिलो बनाउन नसकेकै कारण सिटौलाको मजबूतीको मापन गर्नका लागि क्षेत्रीय अधिवेशन पर्खनै पर्ने हुन्छ ।

विरासतको राजनीतिक ‘बेनिफिट’ समेत जोडिएका पुत्रत्रयको अवस्था पनि पार्टीमा निर्वाचन जितेर पार्टी हाँक्ने मार्गचित्र प्रस्तुत भन्दा पनि ‘देउवालाई छाड्दिनँ’, ‘देउवा हराउने मै हुँ’ जस्ता अभिव्यक्ति नै सभापतिमा लड्ने योग्यता बनिदियो !

उनीहरूले पार्टी संचालनको आधार कार्यकर्तासमक्ष जोडदार रूपमा प्रस्तुत गर्न सक्नुपर्दथ्यो । जुन ‘खाका’ आजका मितिसम्म कार्यकर्ता तहसम्म पुगेको वा पुर्‍याइएको छैन । यसरी हेर्दा कांग्रेसको बहुप्रतीक्षित महाधिवेशनको मुद्दा पनि ‘नीति’मा भन्दा ‘नेतृत्व’ हत्याउनेमा नै केन्द्रित हुने देखिन्छ । जुन लोकतान्त्रिक पार्टीका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment