सन् २०१९ को अन्त्यतिर एउटा सनसनीपूर्ण खबरले संसारभर तरङ्ग पैदा गर्यो । चीनको वुहानमा एउटा खतरनाक जीवाणु भेट्टियो रे ! उक्त जीवाणु कुनै जनावर, जन्तु, पशुपक्षीबाट मानिसमा सरेको आशंका गरिएको छ भनेर होशियार, सतर्कता, भय, सन्त्रास, डरको साथै अफवाह फैलाउने कोशिश गरियो । संसारभर मानिसमा भय, डर, त्रास फैलियो । सम्पूर्ण मानवजीवन आक्रान्त र भयभीत हुनगयो । सबैखाले अफवाह केही झूटो केही सत्य समाचारले रोगले भन्दा शोकसुर्ताले हतोत्साहित भएर मृत्युवरण गर्नुपर्यो । अनावश्यक आतंक र डर देखाइयो । विश्वभर बन्दाबन्दी गरी जनजीवन ठप्प पारियो । कोही रोगले मरे । कोही शोक त कोही भोकले मरे भने कतिपयले आत्महत्या गरे । सबैको आ–आफ्नो बुझाइ रह्यो । विभिन्न अड्कल अनुमान गरिए ।
कतिपयले चीन वुहानको एक प्रयोगशालामा उत्पादन गरेको यो भाइरस असुरक्षित तरिकाले जानीजानी फैलाइएको हो भन्नेसम्म आशंका गरियो । यसलाई चिनियाँ भाइरस भनेर नामकरण पनि गरे । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्वतन्त्र जाँचबुझ पनि गरियो । उक्त आयोगले आफ्नो प्रतिवेदनमा प्राकृतिक जीवाणु भएको निष्कर्ष निकाल्यो तर उक्त प्रतिवेदनपछि प्रतिक्रिया दिंदै अमेरिकाले विश्व स्वास्थ्य संगठन चीनको मतियार भएको भनेर आरोपित गर्यो । बरू उसले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको आर्थिक सहयोग खारेज अर्थात् रोक्का गरिदियो ।
यो कहिलेबाट, कसरी उत्पत्ति भयो भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन । यसलाई पछि वैज्ञानिक अनुसन्धानकर्ताले कोभिड–१९ अर्थात् कोरोनाभाइरस नाम दिए । यसले विश्वका सबैजसो देशलाई आफ्नो चपेटामा पारिसकेको अवस्था छ । सामाजिक–आर्थिक क्रियाकलाप सबै ध्वस्त पारिरहेको छ । करोडौं मानिस संक्रमित भएका छन् भने लाखौं मानिसले ज्यान गुमाउनुपरेको तीतो यथार्थ संसारसामु जानकारी नै छ ।
कोभिड–१९ ले मानवीय जीवन र संस्कृतिका साथै आर्थिक–सामाजिक क्षेत्रमा पुर्याएको क्षति आकलन मात्रै गर्न पनि मुश्किल छ । लामो समयसम्म गृहयुद्धग्रस्त देशको जस्तै यसबाट आर्थिक–सामाजिक जीवनसूचक नराम्ररी प्रभावित भएको छ । गरीबी, भोकमरी, अभाव यस्तो छ कि बमवर्षक विमानले क्षत–विक्षत पारेको भन्दा कम प्रभाव पारेको छैन ।
पहिलो लहरमा तमाम अन्योल, भय–त्रास, परीक्षण र स्वास्थ्य सामग्रीको चरम अभाव देखियो । मानिसलाई कोभिडबारे पर्याप्त जानकारी पनि थिएन । तर दोस्रो कोरोना लहरमा कोरोनाबारे थोरबहुत जानकारी प्राप्त भइसकेको थियो । यद्यपि, सरकारी तयारी यथोचित देखिएन । सरकारी तदारुकता र आवश्यक समन्वय देखिएन । मानिसमा आत्मबल बढ्न थाल्यो । अधिकांश मानिस स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्ड अपनाउन अझै हेलचेक्र्याईं गरिरहे । व्यवस्थापनको कमजोरी देखियो । संवेदनाहीन लापरबाही रोकिएको छैन । व्यक्तिगत स्वार्थ, सत्तामोह, भ्रष्टाचार, उदासीनता, राज्य व्यवस्थाका कमजोरी र समन्वयको अभाव अझै जारी छ ।
हुन त, विदेशमा कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादन भई मानिसलाई लगाउन शुरू गरिसक्दा पनि नेपालमा कीट प्रयोगशाला पनि थिएन । वुहानबाट उद्धार गरिएका नेपाली विद्यार्थीको कोरोना नमूना परीक्षण गर्दा तिनीहरूको स्वाब हङकङ पुर्याउनुपर्ने बाध्यता थियो । आज नेपाललगायत तमाम मुलुकमा त्यस्तो अवस्था छैन । तर पनि खोपको व्यवस्था हुनसकेको छैन । अन्त्यहीन निषेधाज्ञाले आधारभूत तहका मानिसहरू भोकको महामारी नजिक पुग्न लागेका छन् । अझै पनि कतिपय मानिसको लागि अस्पताल सहज पहुँचमा छैन ।
कसैले प्राण वायु (अक्सिजन) नपाएर मृत्युवरण हुनुपर्ने कहालीलाग्दो र अत्यन्तै खेदजनक अवस्था देख्नु पर्यो । सरकारी अक्षमताले अघिल्लो भेरियन्ट भन्दा दोस्रो लहरमा नेपालमा ठूलो धनजनको क्षति व्यहोर्नु पर्यो । अब तेस्रो भेरियन्ट नेपालमा देखा नपरोस् ।
कोरोना महाव्याधिले विकसित, अविकसित, धनी, गरीब, कुनै पद, पेशा र मर्यादाक्रम नचिन्ने रहेछ । सबैलाई एउटै व्यवहार गर्यो । कोरोना महाव्याधिले गर्दा कैयौंले आफ्ना प्रियजन गुमाए, कतिपयले अभिभावक गुमाए, कतिका कोख रित्तिए, कतिका सिन्दुर पुछिए । के गाउँ के शहर उजाड भए । करोडौंले रोजगारी गुमाए, लाखौं गरीबीको रेखामुनि पुगे । हजारौं वैज्ञानिकको रात–दिनको कडा मिहिनेतले कतिपय धनी र विकसित देशहरूले भ्याक्सिन उत्पादन गरी आफ्ना नागरिकलाई लगाइरहेका छन् । खोपमा राजनीति पनि भइरहेको छ । यसलाई मानवीय हितभन्दा ठूलो आर्थिक उपार्जन गर्ने उद्देश्यसँग जोडिंदैछ ।
गरीब झन्झन् गरीब, धनी झन् धनी बन्ने सामाजिक–आर्थिक असमानताको खाडल खनिंदैछ र आर्थिक अवस्था कमजोर भएका देश ट्वाल्ल परेर हेरिरहेका छन् । आज सकी–नसकी पैसाले खोप किनौं भन्नेले पनि किन्न समेत पाएका छैनन् । यस्तो महाव्याधिमा पनि राजनीतिक पहुँच र शक्ति होडबाजीका खेल चलिरहेका छन् । अनुदानको याचना गर्दै अनुनय–विनय गर्दा समेत आवश्यक सहयोग गरीब मुलुकले पाइरहेका छैनन् । आश–भरोसा जगाउने र आश्वासन दिने बाहेक कर्तव्यबोध गरेको देखिंदैन । कोरोनालाई संसारबाट उन्मूलन नगरी नहुने छ तर, केही शक्तिशालीहरूको मात्रै प्रयासले यो काम सफल हुन सक्दैन । यसको लागि हुनुपर्ने वैश्विक सहकार्यमा यस्ता व्यवहारले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अवरोध पुगिरहेको छ ।
यस्तो अवस्थामा पनि संसारले प्रेरणा लिन नसक्नु आफ्नो कुकर्म सुधार नगर्नु भनेको अत्यन्तै दुःखद पक्ष हो । आध्यात्मिक विचारबाट अभिप्रेरित भई राजनीतिक दर्शनको प्रयोगबाट मात्रै शासकीय शैली परिवर्तन गर्न सकिन्छ । विडम्बनापूर्ण मान्नुपर्छ कि मानिसमा अझै पनि स्वार्थ, दम्भ र अहंकार जन्मिइरहेको छ । यो भनेको भविष्य अन्योल र थप जोखिमतिर अग्रसर हुनु हो । आज ठूल्ठूला चैत्य, मठमन्दिर, चर्च, मस्जिद आदि बन्द छन् । विद्यालय, पाठशाला, कलेज, विश्वविद्यालय प्रायः ठप्प छन् । उर्दी जारी गर्ने, नियमन गर्ने सम्बद्ध निकायहरू, विश्व स्वास्थ्य संगठन लगायत संघसंस्था र शक्तिशाली राज्यहरू आफू अनुकूलको व्याख्या विश्लेषण गरिरहेका छन् ।
लगभग दुई वर्ष बितिसक्दा पनि न कोभिड नियन्त्रण भएको छ, न नियन्त्रण हुने छाँटकाँट देखिन्छ । थप आशंका अन्योलबीच तेस्रो लहर आउने निश्चित जस्तै भएको विज्ञहरू संकेत गरिरहेका छन् । आज संसारभरको मानव जीवन, संस्कृति र आर्थिक–सामाजिक मापन तथा समस्त प्राणी जगतमा नै यसको घातक प्रभाव देखिएको छ । जी–सेभेन, जी–ट्वान्टीका साथै संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, सार्क जस्ता संस्था निष्प्रभावी देखिएका छन् । नेतृत्व गर्ने विश्वका शक्तिशाली राष्ट्र भन्ने दाबी गर्ने मुलुकहरूको नेतृत्वबाट नेतृत्वदायी र साझा भूमिका निर्वाह गर्नबाट चुकेको देखिन्छ । उनीहरू कमजोर राष्ट्रका प्राकृतिक स्रोत कब्जा गर्ने, दमन र शोषण गर्न सैनिक कारबाही गर्ने काममा अझै पनि उद्यत छन् । मानवीयता, दूरदृष्टि, दूरदर्शी नेतृत्वको सोचाइ अझै पनि विकास भएको पाइँदैन ।
काजकिरिया रोकिएको छ । मानिसको उपचार नै रोकिएको छ । चूलो जलेको छैन । झुप्राहरूमा बत्ती बलेको छैन । तर, निर्वाचनहरू भइरहेका छन् । सैनिक कारबाही भइरहेका छन् । राजनीतिक दलका भाषणबाजी, भेला र सम्मेलन भइरहेका छन् ।
यही बीचमा चीनले पनि चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष भव्य समारोहका बीच मनायो । १ अर्ब ४२ करोडभन्दा बढी जनसंख्या भएको मुलुक हो चीन । त्यहींबाट कोरोना उत्पत्ति भई विश्व नै प्रभावित भयो । तर त्यहाँ उत्सव समारोह मनाइरहिएको छ । आशंका जन्मिन्छ– कहीं अमेरिकाले लगाएको आरोप पुष्टि नहोस् । संसार यसरी तहसनहस हुँदै गर्दा चीन कसैसामु नझुक्ने भाषा प्रयोग गर्दै दुनियाँलाई तमासा देखाइरहेको छ । यो तामझाम र शक्ति देखाउने लगानी उसले किन गरीब राष्ट्रमा कोरोना खोप पुर्याउने काममा गर्दैन ?
कोभिड नियन्त्रणमा गरीब मुलुकहरूलाई चीन लगायत धनी राष्ट्रले अग्रसरता देखाउनै पर्छ । यिनीहरू पन्छिन र पछि हट्न पाइँदैन र पाउँदैनन् । आज चीनले विश्वमा रहेका आफ्ना नागरिकलाई छानीछानी भ्याक्सिन लगाइरहेको छ । ठीकै छ आफ्ना नागरिकको जीवन रक्षा गर्नु उसको कर्तव्य हो तर पनि यो महामारीको कारक तत्व उद्गमस्थल जानेर वा अन्जानको भागीदार चीन हो । भारत, अमेरिका, रूस, बेलायत, जापान, चीन जस्ता खोप उत्पादक मुलुकहरू प्रतिदिन आफ्ना डेढ करोड नागरिकलाई खोप लगाउन सक्ने तर अरू देशलाई अनुदानमा १०–२० लाख डोज खोप दिन सक्नेले खरीद गर्दा के २० लाख डोज दिन सक्दैनन् होलान् र ? दिन नचाहनु भनेको कमजोर र गरीब मुलुकलाई हेपे, चेपेको हो ।
मानवीय जीवनपद्धतिको प्राकृतिक चक्र र लय खल्बलिएको छ । अब संसारको भविष्य के हुने हो ? जलवायु परिवर्तन लगायत वातावरणीय समस्यामा मानवीय गैरजिम्मेवारपन पनि जिम्मेवार छ । मानिसले आफ्ना आनीबानी नसुधारी यी समस्यालाई नियन्त्रण गर्न गाह्रो छ । आपसी सहमति, भाइचारा, मानवीय नाताले जोड्ने सेतुको खोजी यो कोभिड महाव्याधिले दिएको सबैभन्दा ठूलो शिक्षा हो । महाव्याधिबाट बच्ने र कसरी बचाउने पूर्व तयारीमा लाग्नु सचेत विश्वसामु खडा भएको चुनौती र यक्ष प्रश्न हो । वैज्ञानिक प्रविधिको प्रयोग गरी गहिरो खोज अनुसन्धान मार्फत समस्त प्राणी जगत र मानव जीवनको रक्षा कसरी गर्ने भन्ने उपायबारे सोच्न ढिलाइ गर्नुहुन्न ।
हाम्रो आनीबानी यस्तै रहे कोरोना जस्ता अन्य महामारीले पनि मानव सभ्यतालाई चुनौती दिइरहनेछन् । जबसम्म मानिसले आफ्नो अहंकार, दुष्ट भावना, कुकर्म, व्यक्तिगत स्वार्थ न्यूनीकरण गरेर सामाजिक र उत्तरदायित्वको भावना बढाउँदैन, तबसम्म यस्ता समस्याले हामीलाई सताइरहनेछन् । विकासको नाममा विनाशको दौडमा दौडिंदा हामीले यस्तै भयंकर समस्याको सामना गर्नुपर्ने हुन्छ । बेलैमा सोचौं । तदनुरुपको जीवनशैली अपनाऔं ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4