
२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट सुजिता भण्डारीको शव भरतपुर अस्पतालमा लगिएको छ ।
प्रशासन र स्थानीयबीच दुई बुँदे सहमति भएसँगै शव लैजान गरिएको अवरोध हटेको हो । र, शवलाई अस्पताल पुर्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरलाई बताए ।
उनका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायताका लागि सरकारसमक्ष अनुरोध गर्ने सहमति भएको छ ।
पीडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने अडान राखेका थिए ।
तर पोष्टमार्टम नभएसम्म मृत्युको कारण नखुल्ने र अनुसन्धान प्रक्रिया अघि बढाउनै समस्या हुने भएपछि शव अस्पताल लैजान दिने सहमति भएको थियो ।
के भएको थियो ?
राप्ती नगरपालिका–३ की भण्डारी ९ दिन अघि घरबाट निस्किएकी थिइन् । अघिल्लो दिन साँझ उनले दिदीलाई साथीको घरमा जाने भनेकी थिइन् ।
खाना खाने वेलासम्म घर नफर्किएपछि उनले बहिनीलाई फोन गरिन् । तर सम्पर्क हुन सकेन । दिउँसो सवा १२ बजेतिर बहिनीको मोबाइलबाट आफूलाई ‘मिसकल’ आएको देखेपछि कविताले फोन गरिन् । सविताले रुँदै आफूलाई ‘दुई महिला र एक पुरुषले अपहरण गरेर गाडीमा राखेको’ बताइन् ।
पछि मोबाइल फेरि ‘स्वीच अफ’ भयो । त्यसपछि कविताले बुबाआमा, छिमेकी र प्रहरीलाई घटनाबारे जानकारी गराइन् । तर प्रहरीले अपहरणलाई पुष्टि गर्ने आधार भेटेको थिएन । फिरौतीका लागि फोन पनि आएको थिएन ।
आतइबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको भिरालो भाग उनको शव भेटिएको थियो । नजिकै धानमा हाल्ने पतेराको विषादी प्रहरीले बरामद गरेको छ ।
निम्न वर्गीय परिवार
भण्डारीको परिवार निम्न मध्यम वर्गीय हो । सुजिता हराएको दिन पनि उनका बुबाआमा बिहानै खेतमा गएका थिए ।
बिबीएस चौथो बर्षको परीक्षा दिएर बसेकी सुजिता गाउँतिर अरुसँग खासै धेरै नबोल्ने स्वभावकी रहेको स्थानीय निर्देशन त्रिपाठी बताउँछन् ।
‘हाम्रो खेत र उनको घर एकैठाउँमा छ, खासै धेरै नबोल्ने उनी सोझी थिइन्’ त्रिपाठीले भने, ‘उनलाई कसैले किन अपहरण ग¥यो र किन हत्या गर्यो भन्ने केही भेउ पाउन सकेको छैन ।’
सुजिताकी दिदी कविताले पनि सधैँ एकैठाउँमा हुँदा समेत बहिनीको कुनै केटासँग सम्बन्ध रहेको जानकारी नभएको बताइन् ।
भण्डारी परिवारमा चार छोरी र एक छोरा छन् । जेठी र महिली दिदीको विवाह भैसकेको छ ।
प्रतिक्रिया 4