Comments Add Comment

अमेजनको सीईओबाट हटे जेफ बेजोस, यस्तो थियो सफलताको सूत्र

सन् २००४ मा जेफ बेजोस र उनका प्राविधिक सल्लाहार कोलिन ब्रायर सँगै कार चलाउँदै सिएटलभन्दा दक्षिणमा एक घण्टाको दूरीमा पर्ने टाकोमा सहरमा पुगे ।

त्यस समयमा अमेजन अर्बौँ डलरको कम्पनी बनिसकेको थियो । यद्यपि उनीहरु अमजेनको ग्राहक सेवा केन्द्रतर्फ जाँदै थिए, जहाँ उनीहरुले ग्राहक सेवा एजेन्टको रुपमा दुई दिन बिताउनु थियो ।

उक्त यात्रामा बेजोसले आफ्नैबारेमा कुरा गरिरहेका थिए । ब्रायरका अनुसार अमेजनको एउटा प्रडक्टको विषयमा उपभोक्ताका गुनासोहरु आइरहेका थिए । बेजोस दिक्क मानिरहेका थिए । उक्त प्रडक्टमा केही गल्ती भएको प्रष्ट थियो तर त्यसलाई बढाइचढाइ गरिएन । सोही दिन उनले एक इमेल लेख्दै त्रुटिपूर्ण सामानहरु छुट्टाउनका लागि प्रभावकारी उपायहरु अबलम्बन गर्न आग्रह गरे ।

आफैले अमेजन कम्पनी स्थापना गरेको २७ वर्षपछि बेजोसले सोमबार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् ।

यसबीचमा उनले असाधारण नेतृत्व सिद्धान्तको श्रृंखलाबद्ध विकास गरे जुन उनको सफलताको मेरुदण्ड रहेको कतिपयको भनाइ छ ।

अमेजनमा काम गरेको जो कोहीसँग पनि कुराकानी गर्दा जेफ बेजोसको ग्राहकप्रतिको आशक्तिको चर्चा हुन्छ ।

बेजोसका लागि नाफा भनेको दीर्घकालीन प्रेरणाको विषय हो । कुनै पनि कम्पनी सफल हुनका लागि ऊसँग कुनैपनि मूल्यमा सन्तुष्ट ग्राहकहरु हुनु आवश्यक पर्दछ ।

नादिया शोराबुराले सन् २००४ मा अमेजनमा काम थालिन् । पछि उनी अमेजनको म्यानेजरहरुको एस टिम भनिने वरिष्ठ व्यवस्थापक बोर्डमा समेत नियुक्त भइन् । तर जतिबेला उनले अमेजनमा काम थालेकी थिइन्, त्यतिबेला उनलाई आफू छिटै नै जागिरबाट हटाइन्छु होला जस्तो लागेको थियो । आफूले कम्पनीको लागत कम गर्न तथा कर्मचारीलाई सजिलो पार्नका लागि अपनाएको एउटा उपाय ग्राहकका लागि समस्याग्रस्त भएको भन्दै जेफ बेजोसले उल्टाइदिएको अनुभव उनीसँग छ । उनका अनुसार जेफ बेजोस कसरी पैसा कमाउने भन्दा पनि कसरी ग्राहकलाई सन्तुष्ट बनाउने भन्ने कुरामा बढि जोड दिन्थे ।

बेजोसमाथिका आरोप

बेजोसका धेरै आलोचकहरु पनि छन् । गत महिना प्रोपब्लिकामा एउटा धमाकेदार आलेख प्रकाशित भयो जसमा बेजोसले करछली गरेको र सन् २००७ तथा २०११ मा कर चुक्ता नगरेको दाबी गरिएको थियो । विश्वका नम्बर एक अर्बपतिमाथिको यो संगीन आरोप थियो ।

साथै अमेजनको बजारमा एकाधिकारवादी नीति तथा क्रियाकलापका विषयमा पनि बेलाबेलामा समाचार आउने गर्दछन्, जसले बेजोसको छवि धुमिल्याउन भूमिका खेलेको छ ।

तर बेजोसँगै नजिक रहेर काम गरेका कसैले पनि उनलाई स्वार्थी तथा अरुको मतलब नभएको मान्छेको रुपमा चिनेका छैनन् । उनीहरुका लागि बेजोस एक व्यवसायिक दूरदर्शी व्यक्तित्व हुन् । अनि एक अर्जुनदृष्टि भएको मानिस जसले महान कार्य दर्शनको सिर्जना गर्‍यो र १.८ ट्रिलियन डलरको कम्पनी खडा गर्‍यो।

दुई पिज्जा नियम

बेजोस स-साना समूह निर्माण गर्न रुचाउँछन् । बैठकहरु फलदायी बनाउने उनको एक नियम छ त्यो भनेको बैठकमा उपस्थित सबै मानिसलाई केवल दुईवटा पिज्जाले पुगोस् । अर्थात् स साना समूहमा उत्पादनमूलक रुपमा बैठक र छलफल गर्ने ।

पावरप्वाइन्ट प्रस्तुतिलाई उनी घृणा गर्दछन् । छलफलका लागि कार्यकारीहरुले लिखित प्रस्ताव तथा टिप्पणीहरु सहभागीका हातमा दिने नियम उनले बनाए ।

बैठकमा कुनै एक व्यक्ति वा केही उच्चस्तरका व्यक्तित्वहरुको बढी प्रभाव नपरोस् भन्नका लागि उनी कहिलेकाहीँ बैठक चलिरहेको बेलामै आफ्नो ठाउँबाट उठेर एक-एक सहभागीहरुको छेउँमा गएर बस्ने र छलफल भैरहेको विषयमा कस्तो अनुभव छ भन्ने बारेमा सोध्ने गर्दछन् ।

बेजोसलाई नजिकबाट चिन्नेहरुले के भन्छन् भने बेजोस यस्तो बैठक तथा छलफल चाहन्छन् जहाँ सहभागीहरु मज्जाले बाद प्रतिवाद गरुन्, बरु ठूलो ठूलो आवाज किन नआओस् ।

नादिया भन्छिन् –  सबै कुरा खुल्ला रुपमा छलफल हुन्छ । विषयवस्तु टेबल गरिन्छ र छलफलहरु गरमागरम हुन्छन् । तर यो सबै विषयवस्तुमाथि हुन्छ न कि कुनै व्यक्ति विरुद्ध ।

अमेजनले नेतृत्वका १४ वटा सिद्धान्त प्रतिपादन गरेको छ । ती मध्ये एउटा चाहिँ असहमतिको मेरुदण्ड बन्नु रहेकेा छ ।

र, यो प्रष्ट छ कि यो संस्कृतिलाई बेजोसले कम्पनीको माथिल्लो तहसम्मै विकास गर्न चाहन्छन् । उक्त सिद्धान्तले के भन्दछ भने सामाजिक एकत्वको निहुँमा नेतृत्वले गलत कुरामा सम्झौता गर्नु हुँदैन ।

यद्यपि अमेजनभित्रै यो सिद्धान्त सदैव लागू भएको छ कि छैन ? भन्ने कुरा चाहिँ बेलाबेलामा प्रश्नको रुपमा उठिरहेको हुन्छ ।

बेजोस इन्जिनियरिङ, अन्वेषण तथा मेसिनका फ्यान हुन् । मेट्रिक्सप्रति उनको आशक्ति छ । तर आलोचकहरुका अनुसार बेजोसको उक्त आशक्तिले मानवीय मूल्य चुकाउनु परेको छ, खासगरी अमेजनका कैयन् गोदामघरहरुमा ।

अलाबामास्थित बेस्सेमरमा अमेजनका कामदारहरुले श्रमिक संगठन स्थापना गर्ने असफल प्रयास गरे । त्यतिबेला धेरै कर्मचारीहरुले आफूहरुलाई मेसिनजस्तै अनुभव हुने गरेको र निरन्तर रुपमा कसैले निगरानी गरिरहेको अनुभूति हुने गरेको बताएका थिए ।

तर उपल्लो तहमा बेजोसको व्यवस्थापकीय शैली फरक देखिन्छ । उनी आफ्नो टिममा स्वायत्तता होस् जसले अन्वेषणलाई बढावा देओस् भन्ने चाहन्छन् ।

यसको उदाहरण हो अमेजन वेब सर्भिस । यो अमेजनको अत्यन्तै सफल क्लाउड कम्प्युटिङसर्भिस हुनुका साथै अमेजनको इ कमर्श व्यवसायको सफलताको अभिन्न अंग पनि हो । बेव सर्भिस बेजोसकै अवधारणा हो र यसलाई सफल बनाउनका लागि उनले आफ्ना विश्वासपात्र कर्मचारी एन्डी जेस्सीलाई पूर्ण अधिकार तथा बजेट दिएर अमेजनभित्रै अर्को कम्पनी खडा गर्ने छुट दिए । बेजोसले जेस्सीलाई केवल व्यवस्थापकको रुपमा नभई एक उद्यमीको रुपमा हेर्दथे । सायद त्यहीँ भएर होला जेस्सीले बेजोसपछि अमेजनको नेतृत्व लिन सफल भएका छन् ।

बेजोस दूरदर्शी तथा दीर्घकालीन योजना बनाएर काम गर्ने व्यक्ति हुन् । उनले समयलाई कसरी हेर्दछन् भन्ने कुरा टेक्सासको पहाडमा ४ करोड २० लाख डलरमा एउटा १० हजार वर्षे घडी स्थापना गरेबाटै थाहा हुन्छ । यसले दीर्घकालीन सोचाइको शक्तिको संकेत गर्दछ ।

बेजोसले व्यवसायले सदैव दीर्घकालीन खेलको रुपमा हेर्दछन् । उनलाई नजिकबाट चिन्नेहरु अल्पकालीन नाफाभन्दा ग्राहकको सन्तुष्टिलाई रोज्ने बेजोसको शैलीलाई मेथोडिकलको संज्ञा दिन्छन् ।

अन्तरिक्षयात्रा प्रति सदैव आकर्षित रहेका बेजोस आगामी जुलाई २० मा आफैले स्थापना गरेको ब्लु ओरिजिन कम्पनीको उडानबाट अन्तरिक्षको यात्रामा जाँदैछन् ।
रोचक त के भने उनलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्काउन माग गर्दै डेढ लाख जनाले हस्ताक्षर नै संकलन गरेका छन् ।

तर उनलाई मन पराउनुस् वा नपराउनुस् बेजोसले आफूलाई यस्तो जाज्वल्यमान र ससक्त नेतृत्वको रुपमा प्रमाणित गरिसकेका छन् जसले विश्वका कम्पनीहरुको कार्यशैलीमा परिवर्तन ल्याइदिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment