Comments Add Comment

बीपी प्रतिष्ठान : पदाधिकारीले डुबाए, सरकार रमिते

२२ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन शुरु गरेको २२ दिन भयो । उनीहरुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै आएका छन् ।

२२ दिनयता उपकुलपति सहित चार जना पदाधिकारीको बहिर्गमनलाई बटमलाइन बनाएको टोलीले वार्ता र प्रतिष्ठानभित्रको अनियमितता छानबिनका लागि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको हस्तक्षेप खोजेको छ ।

तर आफैंले नियुक्त गरेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीमाथि छानबिन गर्न कुलपति ओलीले चासो देखाएका छैनन् । कुलपतिले चासो नदेखाउँदा प्रतिष्ठान सुधारको माग गर्दै शुरु भएको आन्दोलन काठमाडौं पनि पुगेको छ । सुधारको मागसहित नागरिक समाजले प्रदर्शन गरिरहेको छ ।

‘हामी दैनिक कामलाई बाधा नपर्ने गरी प्रदर्शन गर्छौं,’ आन्दोलनरत डा. पदम नेपाली भन्छन्, ‘बिहान प्लेकार्ड लिएर ८–१० बजेसम्म उभिन्छौं, कोणसभापछि आफ्नो नियमित काममा फर्कछौं ।’

प्रतिष्ठान सुधारका लागि गान्धीवादी आन्दोलन गरेको टोलीसँग समन्वय गर्न भन्दै सोमबार स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलसहितको टोली पठाएको थियो । टोलीले आन्दोलनकारी र पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

‘उहाँहरु वार्ताका लागि भन्दा पनि पदाधिकारीसँग वार्ता गर्न समन्वयका लागि आउनु भएको रहेछ,’ डा. नेपालीले भने, ‘पदाधिकारीको बर्हिगमन आन्दोलनको माग हो, वार्ता र छानबिनका लागि माथिबाट उच्चस्तरीय टोली बन्नुपर्छ भनेका छौं ।’

बीपी प्रतिष्ठानमा सामान्य अवस्थामा पनि उपचारका लागि दैनिक डेढ दुई हजारभन्दा बढी बिरामी आउँछन् । आर्थिक वर्ष २०७५/७६ मा आठ लाख १४ हजारले सेवा लिएका थिए । तर प्रतिष्ठानलाई निरन्तर घाटामा देखाइएको संघर्ष समितिका संयोजक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका महासचिव डा. एसपी रिमाल बताउँछन् ।

प्रतिष्ठान सुधारका लागि निर्णायक आन्दोलन भएका कारण सरकारले समस्या समाधान नगरेसम्म प्रदर्शन गरिरहने उनले बताए ।

संघर्ष समितिले वार्ता टोली गठनका लागि मंगलबारसम्मको समय दिएको थियो । सोमबार मन्त्रालयबाट आएको टोलीलाई तत्काल समस्या समाधान नगरे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

‘संघर्ष समिति र मन्त्रालयको टोलीबीच असार २१ गते छलफल भएको छ, हाम्रा कुरा बुझ्ने सुन्ने प्रयास गर्नुभएको यस कदमलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ संघर्ष समिति संयोजक डा. एसपी रिमालले भने, ‘हामीले यसलाई औपचारिक वार्ता मानेका छैनौं, आन्दोलनको २२ औं दिनमा पनि वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद् र गैरजिम्मेवार छ ।’

१५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको टोलीले असार १५ गते यता उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीको बर्हिगमनलाई बटमलाइन बनाएको छ ।

असार १५ गते संघर्ष समितिलाई छलफलमा बोलाएका उपकुलपति गिरी आफैं मदिरा सेवन गरेर वार्ताका लागि पुगेका थिए । प्राज्ञिक ठाउँमा गैरजिम्मेवार शैलीमा उपकुलपति पुगेपछि संघर्ष समितिले प्रतिष्ठानको शाख जोगाउन उपकुलपति डा. गिरी, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा. डा. गुरु खनाल र निर्देशक प्रा. डा. गौरीशंकर साहको बर्हिगमनलाई बटमलाइन बनाएका हुन् ।

‘उपकुलपतिले मादक पदार्थ सेवन गरेर गैरजिम्मेवार तरिकाले प्राज्ञिक ठाउँमा आउनु भनेको प्राज्ञिक अनुशासन र आचरण विपरीता हो,’ डा. रिमालले भने, ‘त्यसले कति हदसम्म हामीलाई तुच्छ रूपमा सोच्नु भएको रहेछ भन्ने प्रष्ट पार्छ ।’ मदिरा सेवन गर्ने उपकुलपतिकै संरक्षण गर्ने अन्य चार जना पदाधिकारी पनि दोषी रहेको उनले बताए ।

राजनीतिक नियुक्ति पाएका चारैजना पदाधिकारीबीच पनि समन्वय छैन । पदाधिकारीहरु एकले अर्कालाई असहयोग गर्ने र खुट्टा तान्न केन्द्रित रहेको संघर्ष समितिका सदस्यहरु बताउँछन् ।

रेफरल सेन्टर बन्दै’

६ असारको राति मोरङको सुन्दरहरैंचामा टिपर दुर्घटना भयो । दुर्घटनामा तीन जना घाइते भए । घाइते तीनै जनालाई उपचारका लागि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठायो । धरान पुर्‍याइएलगत्तै दुई जनाको मृत्यु भयो ।

धनकुटाका २७ वर्षीय घाइते भीमबहादुर थापालाई बीपी प्रतिष्ठानले उपचार गर्न सकेन । ‘क्रिटिकल केस’ भन्दै त्यही राति उनलाई विराटनगरको विराट नर्सिङ होम रेफर गर्‍यो  । अहिले थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

यो एउटा प्रतिनिधि उदाहरण हो । दुर्घटनामा परेका र आईसीयू चाहिने अन्य प्रकृतिका बिरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विराटनगर रेफर गर्दै आएको छ ।

प्रतिष्ठानमा जनशक्तिको अभाव छैन । स्रोत साधन छ । तर राजनीतिक हस्तक्षेपले लथालिंग भएको प्रतिष्ठानको प्रतिष्ठा यतिबेला ‘रेफरल सेन्टर’को रूपमा चिनिन थालेको छ । प्राध्यापक डा. राजेन्द्र शर्मा राजनीतिक हस्तक्षेपले करिब ८ सय बेडको प्रतिष्ठानलाई धरासायी बनाएको बताउँछन् ।

२७ चैत २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनअघि गिरी कांग्रेस निकट थिए । गिरीका पूर्व सहकर्मी नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाको टिकट पाउँदा सोही क्षेत्रबाट नेकपा उम्मेदवार बनेका भानुभक्त ढकालका लागि गिरी भोट माग्न हिँडे । भोट मागिदिएको पुरस्कार स्वरुप तत्कालीन मन्त्री ढकालकै जोडबलमा गिरी उपकुलपति भए ।

उनले प्रतिष्ठान सुधारका निम्ति कामै नगरेको संघर्ष समितिका संयोजक डा. एसपी रिमाल बताउँछन् । गिरीको आगमनपछि अनियमितताको शृङ्खला बढ्दै गएको दाबी गर्दै प्राध्यापक, कर्मचारी र विद्यार्थी २० दिनयता आन्दोलनमा छन् । नागरिक समाज पनि यो आन्दोलनमा मिसिएको छ । धरानबाट काठमाडौंको माइतीघरसम्म पुगेको आन्दोलनमा पूर्व उपकुलपति र स्वास्थ्य सुधारको क्षेत्रमा काम गरिहेका नागरिक अगुवाले भाग लिइरहेका छन् ।

उनीहरुको माग छ, चारै जना पदाधिकारीको राजीनामा । ओरालो लागेको प्रतिष्ठानको साख जोगाउन उपकुलपति डा. गिरी, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा. डा. गुरु खनाल र निर्देशक प्रा. डा. गौरीशंकर शाहले राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।

चार जना पदाधिकारीको कार्यकक्षमा ताला लगाएका उनीहरुले मंगलबार साँझसम्म माग सम्बोधन नभए सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन् ।

घाटाको बढ्दो ग्राफ, बेरुजु एक अर्ब नाघ्यो

बीपी प्रतिष्ठानमा सामान्य अवस्थामा पनि उपचारका लागि दैनिक डेढ दुई हजारभन्दा बढी बिरामी आउँछन् । आर्थिक वर्ष २०७५/७६ मा आठ लाख १४ हजारले सेवा लिएका थिए । तर प्रतिष्ठानलाई निरन्तर घाटामा देखाइएको संघर्ष समितिका संयोजक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका महासचिव डा. एसपी रिमाल बताउँछन् ।

‘उपचार शुल्क निजीकै जस्तो छ, सेवाग्राही धेरै छन्,’ उनले भने, ‘तर प्रतिष्ठान भने टाट पल्टेको देखाइन्छ !’

अहिले प्रतिष्ठानको सञ्चित घाटा सात अर्ब हाराहारी छ । यो घाटा वार्षिक बढ्दो क्रममा छ । बेरुजु मात्रै एक अर्बभन्दा बढी रहेको रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले स्वीकार गरे । उनले प्रतिष्ठानभित्र गरेको आन्तरिक सर्कुलरमा एक अर्बभन्दा बढी बेरुजु रहेको भन्दै वित्तीय अनुशासन प्रमुख दायित्व भएको उल्लेख गरेका छन् ।

जेठ १३ गते गरिएको सर्कुलरमा भनिएको छ– ‘बेरुजु कम गर्दै वित्तीय अनुशासन कायम राख्न आजको प्रमुख दायित्व भएकाले छलफल गरेर सकेसम्म बेरुजु हुनै नदिने समेत प्रमुख आवश्यकता छ । प्रतिष्ठानको नियमावली विपरीत भएका आर्थिक क्रियाकलाप र सो पश्चात् देखिएका बेरुजु नियमित गराउन रजिष्ट्रार कार्यालय असमर्थ रहनेछ ।’

दोस्रो नम्बरमा सिफारिस भएका रेग्मीले आर्थिक चलखेल गरेर रजिष्ट्रार भएको र उपकुलपतिसँग द्वन्द्व शुरु भएको उपकुलपतिका तत्कालीन प्रशासनिक सल्लाहकार दिलीप भट्टराईको दाबी छ । रजिष्ट्रार रेग्मीले भने त्यसको खण्डन गर्दै आएका छन् ।

तर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सुधारको प्रयत्न गरेको दाबीसहित २५ असोज २०७७ मा प्रधानमन्त्रीको सचिवालयमा पठाएको ९ पेज लामो पत्रले रजिष्ट्रार रेग्मीसँग विवाद रहेको बुझ्न सकिन्छ ।

बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी

अनियमितताको विषय उठेपछि लिखित जवाफ दिने क्रममा लेखा शाखा प्रमुख कमल रायमाझीले दायराभन्दा माथि गएर आफूलाई धम्काएको, खरिद शाखाका कर्मचारी सागर ताम्राकारले प्रक्रिया नमिलेको फाइनलमा हस्ताक्षर गर्न लगाएपछि सरुवा गरी रजिष्ट्रार मोहनचन्द्र रेग्मीको इच्छा अनुसार विष्णु चापागाईंलाई खरिद शाखामा सरुवा गरेको र तीन महिनापछि अनियमितता गरेको उजुरी आएपछि छानबिनका लागि अन्यत्र सरुवा गरेको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस चलखेलले प्रतिष्ठान घाटामा

प्रतिष्ठानका पूर्व उपकुलपति डा. शेखर कोइराला प्रतिष्ठानको सुधारका निम्ति पदाधिकारीले राजीनामा गरिदिए उत्तम हुने बताउँछन् । तर पदाधिकारीले राजीनामा गर्छन् भन्ने आफूलाई नलागेको उनले बताए ।

प्रतिष्ठान सुधारका निम्ति आन्दोलरत पक्षले गरेको भर्चुअल छलफलमा नेपाली काङ्ग्रेसका नेता समेत रहेका कोइरालाले प्रतिष्ठान सुधारको आन्दोलन निचोडमा पुर्‍याउन आग्रह गरे । ‘हाम्रो पालामा भ्रष्टाचार कल्पना गर्न सकिँदैनथ्यो,’ डा. कोइराला भन्छन्, ‘यो समस्या देशको पोलिटिकल सिस्टमबाट उत्पन्न भएको हो ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको हस्तक्षेप जरुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment