Comments Add Comment
विचार :

नेपालमा भविष्य छैन भन्नेहरूका नाममा 

जता नजर लगाए पनि मुलुकको अवस्था चौपट देखिन्छ । कृषि, उद्योग, शिक्षा र स्वास्थ्य सबै क्षेत्रमा संकट छ । उठेको राजस्वले राज्यका कर्मचारी र जनप्रतिनिधि पाल्न समेत नपुग्ने अवस्था छ । भ्रष्टाचार, कुशासन आम छ । विकास र प्रगतिका हिसाबले नेपाल जस्ता रुग्ण मुलुक अब संसारमा थोरै मात्र बाँकी छन् जसभित्र अफ्रिकाका केही मुलुक पर्दछन् । विशेषतः सत्ता र त्यस वरपरका महानुभावलाई मुलुकको यो चित्रण अत्यन्तै अप्रिय र नकारात्मक लाग्नेछ र उनीहरूबाट यस पंक्तिकारमाथि ‘राम्रो कुरा देख्नै नसक्ने’ आरोप लाग्नेछ, तर वास्तविकता जताबाट नापे पनि यही नै हो ।

नेपालबाट १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य हुँदा कोरिया, सिङ्गापुर, थाइल्याण्ड जस्ता मुलुकहरू नेपाल जस्तै गरीब र कमजोर नै थिए । चीन र भारतको अवस्था पनि उस्तै थियो । त्यसो त कोरिया, सिंगापुर र थाइल्याण्डमा अमेरिका र अन्य पश्चिमा मुलुकले ठूलो परिमाणमा पूँजी लगानी गरेपछि विकासले गति लिएको हो जसको उद्देश्य ती मुलुकहरूलाई साम्यवादी कित्तामा जानबाट रोक्नु थियो । तर पनि यसमा कुनै शंका छैन कि नेतृत्वको दूरदृष्टि र कुशलताबाट नै त्यहाँ विकास सम्भव भएको हो ।

विदेशमा बस्ने ‘खातापिता’ पुस्तालाई देखेर देशभित्रका युवाहरूमा ‘नेपालमा कुनै भविष्य छैन’ भन्ने आम मान्यताले घर गरेको छ । स्कूल कलेज जाने लाखौं युवाले विदेश गएर आफ्नो भविष्य सपार्ने सपना बुनिरहेका छन् । देशका लागि यो अत्यन्त चिन्ताजनक अवस्था हो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले उदार लोकतन्त्र भनिने राजनीतिक मार्गलाई पछ्याउँदै गर्दा ठूलो जनशक्ति खाडी र पश्चिमा मुलुकहरूतिर अवसरको खोजीमा मुलुकबाट बाहिरियो । त्यो जनशक्तिभित्र अदक्ष र दक्ष श्रमिकहरू मात्र थिएनन्, शिक्षित वर्ग पनि थियो । युरोप, अमेरिका, पूर्वी एशिया र खाडीका मुलुकहरूको विकास, त्यहाँका उन्नत भौतिक पूर्वाधार र त्यहाँको शिक्षा, स्वास्थ्य आदिको स्तर देखेर त्यसरी विदेश पसेका युवाहरू छक्क पर्नु स्वाभाविक थियो ।

विदेशको उच्चस्तरको विकास आफैंले प्रत्यक्ष रूपमा भोगेको र अँध्यारो नेपालको गहिरो अनुभूति सँगालेको एउटा सिंगो पुस्ताले आफ्नो ऊर्जाशील जीवनको सर्वाधिक महत्वपूर्ण कालखण्ड विदेशमा बिताएको पनि आज झण्डै तीन दशक पुगिसकेको छ । जानेर नजानेर त्यो पुस्ताले आफू बसेको मुलुकको विकासको स्तर र आफ्नो मातृभूमिको अवस्थालाई तुलना गरेर ‘नेपाल खत्तम छ’ भन्ने मान्यता स्थापित गर्न खोज्दैछ । ‘खातापिता’ त्यो पुस्तालाई देखेर देशभित्रका युवाहरूमा ‘नेपालमा कुनै भविष्य छैन’ भन्ने आम मान्यताले घर गरेको छ । स्कूल कलेज जाने लाखौं युवाले विदेश गएर आफ्नो भविष्य सपार्ने सपना बुनिरहेका छन् । देशका लागि यो अत्यन्त चिन्ताजनक अवस्था हो ।

यसमा कुनै शंका छैन कि नेपालको वर्तमान गरीबी र जर्जर अवस्थाका लागि २००७ सालदेखि आजसम्म सत्तामा पुगेको राजनीतिक नेतृत्व मुख्य रूपमा जिम्मेवार छ । तर, यो कुरा पनि त्यत्तिकै सत्य हो कि १०४ वर्षको राणाशासनको अन्त्य भएर २००७ सालमा सीमित लोकतन्त्रको प्रादुर्भाव हुँदा राणाहरूले हस्तान्तरण गरेको नेपाल राजनीतिक र आर्थिक रूपमा मात्र नभएर कानूनी र प्रशासनिक रूपमा पनि एउटा राष्ट्र–राज्य बन्ने प्रक्रियामै थियो । त्यति मात्र नभएर एकातिर भारत–चीनबीच र अर्कोतिर सोभियत संघ र अमेरिकाबीच नेपालमाथि बर्चस्व कायम गर्ने शीतयुद्धकालीन टकराव नेपाललाई एउटा सबल र स्वतन्त्र राष्ट्र बनाउने दिशामा ठूलो चुनौतीका रूपमा रहेको थियो ।

यो पृष्ठभूमिमा २००७ सालको परिवर्तनपछि मुलुकलाई सही दिशामा डोर्‍याउन एउटा सशक्त राजनेताको खाँचो थियो तर सत्ता साझेदार कांग्रेस दरबार र राणाहरूको दिल्लीबाट निर्देशित गठबन्धन सत्ताबाट यो सम्भव भएन । यी सबै कारणले मुलुक अस्थिरता र अविकासको शिकार बन्न पुग्यो ।

राजा महेन्द्रले मुलुकलाई स्वतन्त्र, सबल र विकसित बनाउने प्रयास गरे तर लोकतन्त्रको मजबुत जग विना र निरंकुशतन्त्रको बलबुतामा त्यो सम्भव थिएन । त्यसतर्फ केही आशलाग्दा कामहरू आरम्भ भए तर लोकतन्त्र र दलहरूलाई निषेध गरेपछि त्यसले अपेक्षित परिणाम दिन सकेन ।

नेपाल अविकसित रहिरहनु पछाडिको ऐतिहासिक कारणको बारेमा पनि यहाँ संक्षिप्त चर्चा गर्नु वाञ्छनीय हुनेछ । आधुनिक नेपालको स्थापनादेखि राणाशासनको उदयसम्म राज्यको मुख्य काम सैन्य भर्ती र नयाँ–नयाँ इलाकाहरू कब्जा गरी राज्य विस्तार गर्नु रहेको थियो । राणाशासनको उदयपछि पनि राज्यको मुख्यस्वरुप सैन्य नै रहन गयो । त्यस अवधिमा राज्यको मुख्य काम बेलायतलाई आफ्ना उपनिवेशहरूको सुरक्षाका लागि लडाइँमा सहयोग गर्नु रहेको थियो । चन्द्रशमशेरको पालादेखि औपचारिक रूपमै ब्रिटिश भारतीय सेनामा नेपाली युवाहरूको आपूर्ति गर्नु राज्यको मुख्य काम बन्न पुग्यो ।

शिक्षा र ज्ञान नै सबै प्रकारको विकासको मुख्य आधार हो । तर जनतामा शिक्षा, ज्ञान र चेतनाको विकास हुँदा आफ्नै सत्ता खतरामा पर्ने बुझाइ राणा शासकहरूको थियो । त्यसैले राणाकालमा शिक्षा आम जनताको पहँुचमा रहेन । नेपालमा पहिलो कलेजको स्थापना (त्रिचन्द्र) १९१८ मा मात्र भएको थियो । प्रथम विश्वविद्यालयको स्थापना १९५९ मा भएको थियो । जबकि बेलायतमा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरू तेह्रौं शताब्दीमै खुलिसकेका थिए । फ्रान्स, स्पेन आदि देशमा पनि त्यसै कालखण्डमा कलेज, विश्वविद्यालयहरू खुलिसकेका थिए ।

हाम्रै छिमेक भारतमा कलकत्ता, बम्बई र मद्रासमा १९औं शताब्दीको मध्यतिर नै विश्वविद्यालय र कलेजहरू स्थापित भइसकेका थिए । सत्रौं र अठारौं शताब्दीतिर नै अमेरिका, फ्रान्स, बेलायत जस्ता मुलुकहरू पूँजीवादी प्रजातन्त्रतर्फ अगाडि बढिसकेका थिए । त्यहाँका जनताले सञ्चालन गरेका ठूल्ठूला संघर्षहरूबाट सामन्तवादको अन्त्य भई पूँजीवादी लोकतन्त्रको आधार निर्माण भएको थियो । युरोप, अमेरिकातिर ठूल्ठूला राजनीतिक उथलपुथलहरू भैरहँदा नेपाल भने राजनीतिक चेतना र जागरणको युगबाट सयौं वर्ष टाढा थियो । नेपालमा राजनीतिक संघर्ष मुख्य रूपमा दोस्रो विश्वयुद्धको सेरोफेरोमा मात्र अगाडि बढेको हो । यसरी ज्ञान, विज्ञान, चेतना र राजनीतिक संघर्ष सबै हिसाबले नेपाल युरोप र अमेरिका भन्दा सयौं वर्षपछि पर्न गएको हो ।

नेपाल विकसित पश्चिमा मुलुकहरू भन्दा सयौं वर्षपछि परेको छ भन्नुको अभिप्राय यो होइन कि अब ती मुलुकको दाँजोमा पुग्नका लागि नेपालले फेरि पनि सयौं वर्षको कोर्स पूरा गर्नुपर्नेछ । आजको डिजिटल युगमा संसार एउटा विश्वग्राममा रूपान्तरित हुन पुगेको छ ।

मुलुकको राजनीतिक र आर्थिक अविकासको आजको स्थितिलाई यसै ऐतिहासिक पृष्ठभूमिमा बुझ्न सकिन्छ । अर्को शब्दमा भन्दा युरोप, अमेरिका र जापान जस्ता मुलुकहरूमा आजभन्दा डेढ दुई सय वर्ष पहिलेको पुस्ताले सामाजिक र राजनीतिक रूपान्तरणका लागि ठूला–ठूला संघर्ष गरे तर हाम्रा पुर्खाहरूको सारा जीवन सैन्य काममा वा जेनतेन जीवन धान्न मात्र सकिने निर्वाहमुखी कृषिकर्ममा बित्यो । त्यस्तो खाले सैन्य कामबाट राज्यको विस्तार त भयो, दरबारको आयस्रोतमा र सुखसयलमा वृद्धि पनि भयो, तर त्यसबाट समाजको शिक्षा, सामाजिक, राजनीतिक चेतना र ज्ञानको स्तरमा कुनै प्रगति भएन । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विकास अवरुद्ध हुन पुग्यो ।

राणा वा त्यसभन्दा पहिलेका शासकहरूले समाजलाई अग्रगति दिन, उत्थानमा डोर्‍याउन र र भौतिक विकासको पथमा अग्रसर गराउन भूमिका खेलेनन् । उनीहरू आफ्नो र आफ्नो परिवारको सत्ता सुदृढ गर्न मात्र तल्लीन रहे । त्यसको परिणाम यो भयो कि २००७ सालको राजनीतिक परिवर्तनपछि सत्तामा पुगेको राजनीतिक नेतृत्वलाई एउटा जर्जर र बिमार मुलुक मात्र हात लाग्यो । यस्तो हुँदाहुँदै पनि मुलुक सही र सक्षम नेतृत्वको हातमा पुगेको भए सात दशकको अवधिमा मुलुकमा कायापलट हुन सक्दथ्यो ।

नेपाल विकसित पश्चिमा मुलुकहरू भन्दा सयौं वर्षपछि परेको छ भन्नुको अभिप्राय यो होइन कि अब ती मुलुकको दाँजोमा पुग्नका लागि नेपालले फेरि पनि सयौं वर्षको कोर्स पूरा गर्नुपर्नेछ । आजको डिजिटल युगमा संसार एउटा विश्वग्राममा रूपान्तरित हुन पुगेको छ । उदाहरणका लागि युरोपमा सन् १८९८ मा पहिलो कारको निर्माण भएको थियो तर नेपालमा १९३८ मा मात्र पहिलो कार राजा त्रिभुवनका लागि भित्रिएको थियो । अर्थात् युरोपका धनाढ्यहरूले नेपालका राजा त्रिभुवनले भन्दा चार दशक पहिलेदेखि नै कार प्रयोग गर्न थालिसकेका थिए । तर अब अमेरिकामा बनेको आईफोन एकै दिनमा काठमाडौं र क्यालिफोर्नियाका शोरुमहरूमा उपलब्ध हुन्छ । अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने फोन नेपालको एक आम नागरिकले एउटै समयमा प्रयोग गर्न सक्छन् । यसबाट स्पष्ट हुन्छ कि यदि मुलुकमा ठीक प्रकारको दूरदृष्टियुक्त राजनीतिक नेतृत्व हुने हो भने एक–दुई दशकभित्र नै नेपाल समृद्ध मुलुकको स्तरमा पुग्न सक्छ ।

कुनै पनि मुलुकको सबैभन्दा ठूलो सम्पदा भनेको जनशक्ति हो । जापान, सिंगापुर, कोरिया, स्वीट्जरल्याण्ड जस्ता मुलुक उल्लेख्य प्राकृतिक साधन–स्रोत नहुँदा नहुँदै पनि विकसित र समृद्ध बनेका छन् भने नेपाल लगायत थुप्रै अन्य मुलुक विशाल प्राकृतिक सम्पदाहरूले परिपूर्ण हँुदाहँुदै पनि गरीब छन् । किनभने यी मुलुकको जनशक्ति विदेश पलायन भएको छ अथवा स्वदेशमै भएको जनशक्तिलाई पनि राज्यले विकासमा संलग्न गराउन सकेको छैन ।

विकसित मुलुकको झिलिमिलीबाट मन्त्रमुग्ध हुनु र आफ्नो देश त्यस्तै किन बनेन भन्ने चिन्ता र चासो हुनु स्वागतयोग्य र सकारात्मक कुरा हो । तर अन्तिम सत्य यो हो कि विश्वका विकसित र सबल राष्ट्रहरूको निर्माण त्यहाँका जनताकै सामूहिक शक्ति, बुद्धि र विवेकबाट भएको हो । नेपालको विकास र सबलता पनि जनताको सामूहिक चेतना बल र बुद्धिबाट मात्र सम्भव छ । अवसर विदेशमा देख्ने तर देश बनेन र देशमा भविष्य छैन भनेर देश र नेताहरूलाई सरापिरहने अवस्था रहँदासम्म मुलुक विकसित बन्न सम्भव छैन । त्यसैले विदेशको रंगीचंगी देखेर देशलाई गाली गर्ने होइन देशको राजनीतिक र आर्थिक रूपान्तरणका लागि विदेशको आफ्नो अनुभव, पौरख, क्षमता र सीपको स्वदेशमै लगानी गर्नु मुलुकको सबलता र विकासको पहिलो शर्त हो । विदेशको कमाइले परिवार र व्यक्तिमा समृद्धि ल्याए पनि मुलुकमा समृद्धि ल्याउन सक्तैन ।

(पन्त नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment