+
+
Shares

क्रियाशील सदस्यता छानविनमा चनाखो हुन पौडेल समूहको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १७:३७

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको पौडेल समूहको आरोप छ ।

बिहीबार काठमाडौंमा पौडेल समूहले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गर्दै क्रियाशील सदस्यताबारे छलफल गरेको हो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेल समूहको बैठक बसेको हो । ‘अन्य पार्टीबाट आएका नेताहरुलाई संस्थापन पक्षले प्रक्रिया उल्लंघन गरेर क्रियाशील सदस्यता वितरण गरेको पाइयो,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘जति पनि उजुरी परेका छन्, त्यसमा चनाखो भएर छानविन गर्न हाम्रो टीमका साथीहरुलाई आग्रह गरेका छौं ।’

सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल समितिमा छन् । बैठकमा परियार, गुरुङसँगै सिटौला समूहका पौडेल पनि सहभागी थिए ।

समिति सदस्य परियारले अहिलेसम्म क्रियाशील सदस्यता छानविन र परेका उजुरीबारे छलफल भएको बताए । ‘हामीले अहिलेसम्म जति पनि काम भएको छ, त्यसका बारेमा जानकारी गरायौं,’ उनले भने, ‘सहमती भएकालाई टुंग्याउँदै लैजाने र विवाद नटुंगिएकालाई थाँती राख्ने काम भएको छ । असारभित्र सदस्यताको काम सकिन्छ भनेर जानकारी गराएका छौं ।’

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो ।

पौडेल समूहको छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए ।

त्यस्तै समायोजन समितिमा रहेका नेताहरु दिलेन्द्र प्रसाद बडु र दीपक गिरी पनि छलफलमा सहभागी थिए । केन्द्रीय सदस्य गिरीले क्रियाशील सदस्यताका बारेमा जानकारी लिने काम भएको बताए । समिति सदस्य परियारका अनुसार बिहीबारसम्म ५५ जिल्लाको विवाद टुंगो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?