
२४ असार, काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो ।
त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो । असार ६ गते ३७ जना (१०.०३ प्रतिशत संक्रमणदर) मात्रै नयाँ संक्रमित थपिए । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो ।
तर पछिल्लो समय प्रदेशमा संक्रमणको दर फेरि उकालो लागेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही हुन थालेको र संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का बताउँछन् ।
‘निषेधाज्ञा खुलेपछि विस्तारै संक्रमण दर पनि बढ्दै जान्छ,’ प्रदेश अस्पतालका डा. नवराज केसी भन्छन्,’ ‘कर्णालीमा पनि निषेधाज्ञा खुलेपछि संक्रमितको दर उकालो लागेको छ, यो १४ दिन पछि झनै बढ्दै जान्छ ।’
फेरि जोखिम बढ्यो’
डा. नवराज केसी
कोरोनाको दोस्रो लहर सकिएकै थिएन । तर निषेधाज्ञा खुकुलो बनाइयो । निषेधाज्ञा खुकुलो भएपछि जनताले पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न छाडेका छन् ।
निषेधाज्ञाले नै कोरोना संक्रमण दर घटाएको थियो । यसले नागरिकमा भौतिक दुरी कायम गराएको थियो । निषेधाज्ञा खुल्ने बित्तकै संक्रमण दर बढ्दैन् तर खुलेको १४ दिन पछि भने विस्तारै बढ्दै जान्छ । कर्णाली अहिले त्यता तिर जाँदैछ ।
हामी फेरि पुरानै ठाउँमा आइपुग्छौं । निषेधाज्ञाको बेलामा घर घरमा गएर खोप लागाउनुपर्थ्यो । तर हामीकहाँ त्यसो हुन सकेन ।
अब हामीले प्रदेश अस्पतालको कोभिड विशेष अस्पताललाई १०० बेडको भेन्टिलेटर जडित बनाउन आवश्यक देखिन्छ । अब हामीले गर्ने भनेको जटिल प्रकृतिको बिरामीलाई कसरी बचाउने भन्नेतिर ध्यान दिनुपर्छ । यो भन्दा अर्को विकल्प छैन ।
कर्णालीमा अझै जटिल स्थिति आउँदै छ । हामी सबै समयमै सजग हुनुपर्ने देखिन्छ । कोरोना विशेष अस्पताललाई सुधारौं र तयारी अवस्थामा राखौं, जटिल प्रकृतिका बिरामीलाई रिफर गर्ने मेकानिजम तयार पारौं, गाउँ गाउँबाट बिरामीलाई कसरी सुविधा सम्पन्न अस्पतालमा पु¥याउने भन्नेबारे तयारी थालौं । भौतिक संरचनाले मात्रै हुँदैन, दक्ष जनशक्ति पनि तयार पारौं ।
असार ६ गते कोरोना संक्रमण दर १०.०३ प्रतिशत रहेकामा असार २४ गते ४२.४९ प्रतिशत पुगेको छ । असार २४ गते बिहीबार ३१३ नमुना (आरटी–पीसीआर र एन्टिजेन) परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार बिहीबार सबैभन्दा बढी संक्रमित सुर्खेतमा देखिएका छन् । सुर्खेतमा ४१, सल्यानमा २१, रुकुम पश्चिममा १५, जाजरकोटमा १३, जुम्लामा १२, दैलेखमा ११, मुगुमा ८, कालिकोटमा ५ र हुम्लामा २ जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा बिहीबार संक्रमण पुष्टि हुने अन्य ५ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले कर्णाली प्रदेशमा कोरोना संक्रमण दर उच्च रहेको बताए । कर्णाली प्रदेशका गाउँगाउँमा संक्रमणको जोखिम कायमै रहेको उनको भनाइ छ । उनले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र लक्षण देखिए परीक्षण गर्न आग्रह गरेका छन् ।
कर्णालीमा कति पुग्यो संक्रमित ?
बिहीबारसम्म कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या २८ हजार ८४९ पुगेको छ । कर्णालीमा अहिलेसम्म १ लाख ६५ हजार ७७४ नमुना परीक्षण भएको छ । संक्रमितमध्ये २६ हजार ३९९ जना निको भएका छन् भने ३३६ जनाको मृत्यु भएको छ ।
अस्पतालमा पनि संक्रमितको चाप बढ्दो
असार दोस्रो सातायता कर्णाली प्रदेशका कोभिड विशेष अस्पतालमा कोरोनाका जटिल प्रकृतिका संक्रमितको संख्या पनि बढेको चिकित्सकहरु बताउँछन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो एकसाता जटिल प्रकृतिका संक्रमितहरु बढ्न थालेको अस्पतालका प्रवक्ता विकास केसीले जानकारी दिए ।
उनका अनुसार असार १५ अगाडि कोभिड विशेष अस्पतालमा दैनिक ४÷५ जना जटिल प्रकृतिका बिरामी थिए भने पछिल्लो साता भने दैनिक १० देखि १२ जना जटिल प्रकृतिका बिरामी हुने गरेका छन् ।
‘अहिले ९ जना जटिल प्रकृतिका बिरामी उपचाररत छन् । ६ जनालाई अक्सिजन सपोर्टमा राखेका छौं । पछिल्लो समय प्रदेश अस्पतालमा दैनिक ३/४ जना अक्सिजन दिनुपर्ने बिरामी थपिन थालेका छन्,’ प्रवक्ता केसीले भने ।
रोपाइँले बढायो संक्रमण
नोदनारायण चौधरी
सूचना अधिकारी, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय
कर्णाली प्रदेशमा अहिले संक्रमण दर बढेको छ । अहिले रोपाइँको मौसम हो । रोपाइँका लागि बाहिरी जिल्ला र भारतमा रहेका स्थानीयहरु पनि गाउँ फर्कने प्रचलन छ । यसरी बाहिरबाट आएकाहरुसँग घुलमिल भएर रोपाइँ गर्दा पनि संक्रमण फैलिएको हुन सक्छ । हामीले प्रत्येक स्थानीय तहमार्फत गाउँगाउँमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएका थियौं ।
सुरुआती समयमा स्थानीयहरु एन्टिजेन परीक्षण गराउन पनि मानेनन् । रिपोर्ट पोजेटिभ देखिए अस्पतालमा भर्ना हुनुपर्छ भन्ने सोचाइले उनीहरुले परीक्षण गराउन मानेनन् । तर अहिले यस क्षेत्रमा रोपाइँ अन्तिमतिर पुगिसकेको छ ।
हामीले पनि परीक्षण गराउन अपील गरिरहेका छौं । जसले गर्दा मानिसहरु तुलनात्मक रुपमा पनि परीक्षणका लागि सहभागी भइरहेका छन् । जसले गर्दा प्रत्येक दिन संक्रमितको संख्या बढेको हुन सक्छ ।
वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पनि बिहीबारसम्म १० जना जटिल प्रकृतिका बिरामी उपचाररत रहेको अस्पतालकी इन्चार्ज डा. अर्चना कार्कीले बताइन् ।
‘निषेधाज्ञा खुकुलो भएपछि हामीकहाँ पनि जटिल प्रकृतिका संक्रमितको संख्या बढेको छ । आज मात्रै ७ जना अक्सिजनमा छन्, पहिलेको भन्दा जटिल प्रकृतिका बिरामी आउन थालेका छन्, यो संख्या दिनहुँ बढ्दो छ,’ उनले भनिन् ।
उनका अनुसार पछिल्लो समय युवामा बढी संक्रमण देखिएको छ । अस्पताल भर्ना भएकाहरु २५ देखि ४० वर्ष उमेर समूहका बढी छन् । ‘पहिलो ५० वर्ष माथिका जटिल प्रकृतिका बिरामी आउँथे तर पछिल्लो समय युवा मात्रै आउन थालेका छन्,’ डा. कार्की भन्छिन् ।
सबैभन्दा बढी संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारत छन् । बिहीबारसम्म ४५ जना बिरामी प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा रहेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए ।
‘हामीले जटिल प्रकृतिका बिरामीलाई मात्रै भर्ना लिने गरेका छौं, अस्पताल भर्ना भएका ८० प्रतिसतलाई अक्सिजन दिइएको छ,’उनले भने ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले संक्रमितको संख्या बढ्न थालेपछि परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाएको जनाएको छ । निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार अहिले स्थानीय तहहरूमा एन्टिजेन परिक्षण बढाइए छ र त्यसको परीक्षण नतिजा आएलगत्तै नयाँ रणनीति बनाइने छ ।
‘अहिले शहरको तथ्यांक हेरेर मात्र नीति बनाउँदा जोखिम झन् बढ्न सक्छ । स्थानीय तहमा एन्टिजेन पठाएका छौं । त्यसको नतिजा आएपछि अर्को रणनीति तयार गरेर जान्छौं,’ निर्देशक खड्काले भने ।
‘जनस्वास्थ्यको मापदण्ड अपनाएर खेती गरौं’
डा. शेरबहादुर पुन
यो समय रोपाइँको हो । किसानहरु रोपाइँ नगरी बस्न सक्ने अवस्था छैन । अहिले कोरोनाको जोखिम रहेका कारण परम्परागत तरिकाले गरिने धान रोपाइँको विकल्प भने खोज्नुपर्छ । सकिन्छ भने धान रोप्न प्रविधिको पनि प्रयोग गर्न सकिन्छ । तर यो सबैको पहुँचमा छैन । त्यसैले दुरी कायम गरेर रोपाइँ गर्नु आवश्यक हुन्छ ।
जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी रोपाइँ गर्न सकिन्छ । त्यसका लागि सबैले आ–आफ्नो व्यवहार परिवर्तन गर्नु आवश्यक छ । जोखिमतालाई मध्यनजर राखी गाउँमा रोपाइँ सञ्चालन अवधिभर जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, क्लवका प्रतिनिधिको टोली परिचालन गर्न सकिन्छ । जुन टोलीले एकअर्काबाट कोरोना सर्न सक्ने उपायका बारेमा सजगता अपनाउन सकिन्छ ।
पहाडी जिल्लामा बस्तीहरु पातलो हुन्छन् । खेतीपाती लगायत अन्य विभिन्न कारणले मानिसहरु समूहमा भेला हुने गर्छन् । जसका कारण संक्रमण फैलने डर हुन्छ । त्यसैले यसबारे टोलीले सचेतना फैलाउनु आवश्यक हुन्छ ।
कोरोना परीक्षणका लागि सबै स्थानीय तहमा एन्टिजेन किट पुगेको अवस्था छ । संक्रमणबाट बच्नका लागि परीक्षण उत्तम उपाय हो भनेर विश्वास दिलाउनु पर्ने अवस्था आइपरेको छ ।
किनकी सर्वसाधारण परीक्षण गर्न नमानेको रिपोर्ट आइरहेका छन् । परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा आफू अपहेलित हुने, एक्लै बस्नुपर्ने, अस्पताल भर्ना हुनुपर्ने त्रास सर्वसाधरणमा छ । त्यसैले परीक्षणका लागि विश्वास दिलाउन लाग्नुपर्ने हुन्छ ।
कुन प्रदेशमा कति छ संक्रमण दर ?
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमण दर भएको प्रदेश कर्णाली हो ।
बिहीबार कर्णालीमा कोरोना संक्रमण दर ४२.४९ प्रतिशत छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका अनुसार बिहीबार ३१३ जनाको नमुना परीक्षण गर्दा १३३ मा संक्रमण पुष्टि भएको छ ।
कर्णालीपछि संक्रमण दर प्रदेश–१ मा उच्च छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा बिहीबार संक्रमण दर ४०.७८ प्रतिशत छ ।
स्वास्थ्य सेवा निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक अनुसार बिहीबार गण्डकीमा कोरोना संक्रमण दर २३.५८ प्रतिशत छ । बिहीबार ११४१ नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनीमा २२.२८, बागमतीमा १९.५९, सुदूरपश्चिममा १३.६४ र प्रदेश २ मा २.७६ प्रतिशत संक्रमण दर रहेको छ ।
प्रतिक्रिया 4