२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जित्दा एन्जल डि मारियाले निर्णायक गोल गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने डि मारियाले २२ औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो ।
डि मारियाले लिओनल मेस्सीले यो कोपा अमेरिका आफ्नो लागि प्रमाणित गर्ने अवसर रहेको बताएको खुलासा गरे । डि मारियाकै निर्णायक गोलमा मेस्सीले अर्जेन्टिनाका लागि पहिलो ट्रफी जिते ।
चोटका कारण सन् २०१४ को विश्वकप फाइनलसहित केही ठूला खेल गुमाएका डि मारियाले ब्राजिलविरुद्ध भने पहिलो रोजाइमा खेलेका थिए ।
डि मारियाले के भने ?
‘यो अविस्मरणीय हुन गइरहेको छ,’ डि मारियाले खेलपछि भने, ‘मेस्सीले मलाई धन्यवाद भने, मैले उनलाई धन्यवाद भनें ।’
‘उनले मलाई भने कि यो मेरो फाइनल हो, जुन फाइनल म फेरि खेल्न सक्दिनँ । यो आजै हुनुपर्छ र आजै भयो ।’
उनले थपे, ‘म मेरा छोरीहरू, मेरी श्रीमती, मेरा आमाबुवा, हामीलाई समर्थन गर्ने सबै मानिस र यहाँ आएका सबै फुटबलप्रेमीका लागि खुशी बाँड्न चाहन्छु । विश्वकप चाँडै आउँदैछ र यसले ठूलो प्रोत्साहन मिल्नेछ ।’
‘मेस्सीलाई सबैको आवश्यकता थियो, र हामी उसलाई चाहिएको थियो’ उनले थपे ।
डि मारियाले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अजेन्टिनालाई बलियो ब्राजिलविरुद्ध अग्रता दिलाए ।
मेस्सीले फाइनलमा गोल गर्न भने सकेनन् । मेस्सीले फाइनल अघिसम्म ४ गोल गरिसकका थिए । डे पउल मेस्सीलाई ट्रफी दिने मध्ये एक हुन पाउँदा खुशी थिए ।
‘यो हामीले सपना देखेभन्दा बढी हो,’ डी पउलले भने, ‘ब्राजिलको विरूद्ध माराकानामा च्याम्पियन हुनुले सबै प्रकारका अपेक्षाहरू भन्दा बढी छ। म धेरै खुसी छु ।’
प्रतिक्रिया 4