Comments Add Comment

पाँचौं प्रयासमा मेस्सी सफल, अर्जेन्टिनाको जर्सीमा पहिलो उपाधि

२७ असार, काठमाडौं । यसअघि पनि लिओनल मेसी तीन पटक कोपा अमेरिका फाइनल खेलेका थिए । तीन पटक उपाधिको मुखैमा पुगेर टाढिए । फिफा विश्वकपको पनि एक पटक फाइनल खेले तर उपाधि जित्न सकेनन् ।

चार फाइनल अनि १६ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा मेसीले अर्जेन्टिनाको सिनियर टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करणको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई उसैको मैदानमा १-० ले हराएर अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टनाले २८ वर्षदेखि उपाधि खडेरी तोड्दा ३४ वर्षीय मेसीले पनि राष्ट्रिय टिमबाट पहिलो उपाधि जिते । क्लब फुटबलमा सबैजसो उपाधि जितेका मेसीमाथि अर्जेन्टिनाका लागि कुनै उपाधि जित्न नसकेको आरोप लाग्दै आएको थियो ।

मेसी पनि पेले र डिएगो म्याराडोनाजस्तै महान् खेलाडीको सूचीमा छन् । २० औं शताब्दीमा ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनाले सनसनी मच्चाएका थिए । २१ औं शताब्दीमा मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सुपरस्टार खेलाडीका रुपमा छन् ।

रोनाल्डोले २०१६ मै पोर्चुगलका लागि युरोकप जिते । त्यसको पाँच वर्षपछि मेसीले अर्जेन्टिनाका लागि कोपा अमेरिका जिते । तर दुवैले विश्वकप जितेका छैनन् । उता पेले र म्याराडोनाले विश्वकप जिते तर कोपा अमेरिका जित्न सकेनन् । पेले त तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी समेत हुन् ।

मेसीको नाम पनि यी दुई महान् खेलाडीसँग तुलना हुँदै आएको छ । तर राष्ट्रिय टिमबाट ठूलो प्रतियोगिताको उपाधि जित्न नसकेको दाग उनीमाथि थियो ।

अर्को वर्ष कतारमा विश्वकप फुटबल हुँदैछ र मेसी त्यतिबेला ३६ वर्षका हुनेछन् । सम्भवत: मेसीका लागि त्यो अन्तिम विश्वकप हुन सक्छ । मेसी सहभागी अर्जेन्टिनी टिम विश्वकपको फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित हुँदा मेसीले उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जितेका थिए ।

तर अहिले जितेको कोपाले पनि उनको करियरलाई भने केही हदसम्म पूर्ण बनाएको छ । मेसीले कोपा उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्डसमेत जिते ।

डि मारियाको निर्णायक गोल

माराकाना स्टेडियममा अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकाको उपाधि भिडन्तका लागि उत्रँदा एन्जल डि मारियाले पहिलो रोजाइमा खेल्ने अवसर पाए । यस प्रतियोगितामा उनी केवल दोस्रो पटक खेल शुरुवात गर्दै थिए ।

यसअघिका खेलहरुमा उनले बेन्चबाट मैदान प्रवेश गर्दै खेलेका थिए । फाइनलमा प्रशिक्षक लियोनल स्कोलानीको निर्णयलाई डि मारियाले सही सावित गरिदिए । उनै डि मारियाले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० ले पराजित गर्दै कोपा अमेरिका ट्रफी उचाल्यो ।

यो कति महत्वपूर्ण थियो भने अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जित्यो । सुपरस्टार लिओनल मेसीले राष्ट्रिय टिमबाट पहिलो ठूलो उपाधि जित्यो अनि अर्जेन्टिनाले लगातार फाइनल हार्ने खराब कीर्तिमानलाई पनि ब्रेक गर्‍यो ।

मेसीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । तर त्यो यू-२३ टिमले खेल्ने प्रतियोगिता थियो ।

सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिकमा स्वर्ण पदक जित्दा पनि फाइनलमा डि मारियाले नै एक मात्र गोल गरेका थिए । १३ वर्षपछि फेरि डि मारिया नै निर्णायक बन्दा अर्जेन्टिना उपाधि जित्न सफल भयो । मेसीसँगै डि मारिया र सर्जियो अगुएरोले पनि लामो समयपछि पहिलो सिनियर टिमबाट ट्रफी उचाल्ने मौका पाए ।

फाइनल हारको जिंक तोडियो

यसपटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित गर्‍यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।

यस्तै चार फाइनलमा उपविजेतामै चित्त बुझाएका मेसीले पाँचौं फाइनलमा आएर पहिलो सफलताको स्वाद चाखे  । मेसीले पनि पाँचै पटक फाइनल खेल्दा अन्तत: पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ठूला प्रतियोगितामा अर्जेन्टिना ५ पटक फाइनलमा पराजित हुँदा ४ पटक मेसी नै टिममा थिए । ३ पटक मेसीले नै अर्जेन्टिनाको कप्तानी गरेका थिए ।

मेसीले २००७, २०१५ र २०१६ मा कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेसीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेसीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।

उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता

अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमानसमेत बनाएका मेसीले यसपटक कोपामा उपाधिका साथै व्यक्तिगत अवार्ड पनि जिते ।

कोपाको ४७ औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसी सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बने । ६ पटक बालोन डे ओर अवार्ड जितेका मेसीले कोपा जितेपछि फेरि यस अवार्डमा आफ्नो दाबेदारी पेस गरेका छन् ।

कोलम्बियाका लुइस डियाजसंगै ४ गोल गरेका मेसीले ५ असिस्ट समेत गरेकाले सर्वाधिक गोलकर्ताको अवार्ड पाए ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल अघि नै मेसी र नेमारलाई उत्कृष्ट खेलाडी घोषित गरेको थियो । फाइनलपछि भने आयोजकले मेसीलाई उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गर्‍यो ।

६ संस्करण कोपा र ३४ खेल

मेसी ६ पटक कोपा अमेरिका खेल्दा पहिलो पटक उपाधि जिते । उनी ६ संस्करण कोपा खेल्ने पहिलो अर्जेन्टिनी  खेलाडी समेत बने ।

सन् २००७ मा कोपामा डेब्यु गरेका उनले उनले कूल ३४ खेल खेल्दा २१ खेलमा जित हात पारे । यस्तै २०१५ र २०१६ को फाइनलको पेनाल्टी सुटआउटबाहेक जम्मा ३ खेलमा मात्र मेसी सम्मिलित अर्जेन्टिना पराजित भएको थियो ।

यस्तै ब्राजिलविरुद्ध फाइनल खेलपछि मेसीले कोपामा सर्वाधिक खेल खेल्ने कीर्तिमानसमेत बराबरी गरे । उनले चिलीका सर्जियो लिभिङ्स्टोनको नामम रहेका ३४ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

सन्यासबाट फर्केर उपाधि

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फाइनलमा जर्मनीसंग अतिरिक्त समयमा पराजित भएपछि २८ वर्षयता विश्वकप जित्ने अर्जेन्टिनाको सपना पूरा हुन सकेन । २०१५ मा अमेरिकामा कोपा आयोजना भयो । त्यसको फाइनल पुगेको अर्जेन्टिनालाई उपाधि जित्ने अवसर थियो । तर पेनाल्टी सुटआउटमा चिलीसंग पराजित भयो ।

कोपा अमेरिकाको सय वर्ष पुगेको अवसरमा अर्को वर्ष २०१६ मा पनि कोपा अमेरिका सेन्टेनारियो आयोजना भयो । यसमा पनि अर्जेन्टिना र चिली नै फाइनल पुग्यो । यसपटक चिलीविरुद्ध बदला लिँदै अर्जेन्टिनालाई उपाधि जित्ने अवसर थियो । तर फेरि पेनाल्टी सुटआउटमै अर्जेन्टिना पराजित भयो ।

त्यसपछि मेसीले आफूलाई सम्हाल्न सकेनन् । उनले अन्तर्राष्ट्रिय फुटबल करियरबाटै सन्यास घोषणा गरे । तर उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा केही जित्न नसकेकोमा मेसीसँगै फुटबल समर्थक पनि दु:खी भए । उनले हारको पीडा सहन नसकेर हतारमै निर्णय लिएका थिए । तर अर्जेन्टिनाका राष्ट्रपति लगायत धेरैले आग्रह गरेपछि मेसीले सन्यास फिर्ता लिएर अन्तर्राष्ट्रिय फुटबलमा फर्किए । त्यसपछि पनि मेसीले अर्जेन्टिनाबाट खेल्दै धेरै कीर्तिमान बनाए ।

 ‘ठूलो उपाधि

२८ वर्षपछि उपाधि जित्दा अहिले खेलाडीसंगै प्रशिक्षक र सारा अर्जेन्टिनी जनता र उसका समर्थक खुशी छन् ।

‘यसको अर्थ कति छ भन्ने कुरा प्रशिक्षकको भनाइले पनि पुष्टी गर्छ । यो धेरै ठूलो उपाधि हो । आशा छ अर्जेन्टिनाले यसमा खुशीयाली मनाउन सकोस्’ प्रशिक्षक लियोनल स्कोलानीले भने ।

यस्तै सेमिफाइनलमा कोलम्बियाविरुद्ध ३ पेनाल्टी रोकेर नायक बनेका एमिलियानो मार्टिनजेल खेलपछि शब्दविहLन भएको बताए । उनले आफ्नो सपना पूरा भएको समेत बताए ।

स्कोलानीको प्रशिक्षणमा अर्जेन्टिनाले अपराजित यात्रालाई २० पुर्‍याएको छ । २०१९ को कोपामा ब्राजिलसंग सेमिफाइनलमा हारेयता अर्जेन्टिना अपराजित छ । यस्तै सन् २०१८ मा को विश्वकपमा बेल्जियमसंग पराजित भएयता ब्राजिलले मुख्य प्रतियोगितामा पहिलो हार बेहोरेको हो ।

यस्तै घरेलु मैदानमा कोपा आयोजना हुँदा ब्राजिलले पहिलो पटक उपाधि जित्न सकेन । यसअघि ब्राजिलले सन् १९१९, १९२२, १९४९, १९८९ र २०१९ मा आयोजकको रुपमा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment