Comments Add Comment

नेपालको तराईजस्तै लाग्ने कम्बोडियाका शहरहरू

पढेलेखेका आम नेपालीमा कम्बोडिया युद्धले जर्जर राष्ट्रका रूपमा चित्रित हुँदै आएको छ । भियतनामको हलोङ-वेमा क्रुज जहाजमा भेटिएका एक भारतीयले पनि कम्बोडियाबारे विचरा गरिब र बत्ती नभएको देशको रूपमा मलाई बताएका थिए । उनी दश वर्षअघि त्यहाँ गएका रहेछन् । मेरो मानसपटलमा पनि कम्बोडियाबारे यस्तै धारणा थियो ।

भियतनामको हनोईबाट फर्किने क्रममा कम्बोडियाको सिमरिप अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा कम्बोडियाबारे सुनिएको ‘जर्जर अवस्था’ माथिबाट हेर्दा त्यस्तो लागिरहेको थिएन । स–साना बत्ती भएका ठाउँहरू माथिबाट देखिन्थे । करिब दुई घन्टाको यात्रापछि हामी कम्बोडियाको पर्यटक नगरी सिमरिम विमानस्थलमा ओर्लियौं । माथिबाट सिमरिप नजिक ठूला पोखरी तथा तलाउहरू देखिन्थे ।

विमानस्थल सानै भए पनि अत्याधुनिक, सफा र चिटिक्क परेको थियो । यहाँ आउनेहरू अधिकांश विदेशीहरू थिए । यहाँको इमिग्रेसनमा सेनाका अधिकारीहरू देखिन्थे ।

मलाई कति पैसा ल्याएका छौ भनेर अलि केरकार गर्न खोज्यो । होटेल र जहाज सबै काठमाडौंबाटै बुकिङ थियो । शायद उसले मेरो बुकिङको कुरा बुझेन । अर्को अफिसर आएर खर्च गर्नलाई पैसा पुग्छ भनी सोध्यो । मैलै बुकिङ कागजात र ट्राभल डकुमेन्ट देखाएँ । त्यसपछि ऊ केही बोलेन र इमिग्रेसनबाट छाप लगाई एयरपोर्टबाट बाहिर निस्किएँ । यसबाट मलाई यहाँ पनि गैरकानूनी रूपमा नेपालीहरू आउन थालेको अनुमान काट्न मन लाग्यो ।

सिमरिपको मुख्य सडक फराकिलो र सफा देखिन्थ्यो । घरहरू दुई–तीन तलाभन्दा अग्ला थिएनन् । होटेलहरू सानो चिटिक्क परेको र सस्तो थियो । होटेलमा प्रवेश गर्नासाथ एक किसिमको अलि रक्सी तथा जुसको रसबाट स्वागत गर्ने चलन रहेछ । यहाँको सवारी साधनमा परम्परागत रथ र आधुनिक मोटरसाइकलको कम्बिनेसन ‘टमटम’ जताजतै देखिन्थे ।

केहीबेर बाहिर गाडी कुरें । बाहिर व्यवस्थित र सफा थियो । ट्याक्सीहरूको छुट्टै लेन थियो । ट्याक्सी-ट्याक्सी भनेर चिच्याउने चलन पाइनँ । मैले त्यहाँको सिमकार्ड लिएँ र मलाई लिन आउने एजेन्टलाई फोन गरें । उनी त्यहाँ आइसकेका रहेछन् । म ट्याक्सीमा चढें र सिमरिम बजारतर्फ हुइँकिएँ । तीनपाङ्ग्रे मोटरसाइकल यहाँको लोकप्रिय साधन रहेछ । सिमरिप एयरपोर्ट बजारबाट मात्र चार किलोमिटरको दूरीमा अवस्थित थियो ।

सिमरिपको मुख्य सडक फराकिलो र सफा देखिन्थ्यो । घरहरू दुई–तीन तलाभन्दा अग्ला थिएनन् । होटेलहरू सानो चिटिक्क परेको र सस्तो थियो । होटेलमा प्रवेश गर्नासाथ एक किसिमको अलि रक्सी तथा जुसको रसबाट स्वागत गर्ने चलन रहेछ । यहाँको सवारी साधनमा परम्परागत रथ र आधुनिक मोटरसाइकलको कम्बिनेसन ‘टमटम’ जताजतै देखिन्थे । होटेल दुईतलाको सानो चिटिक्क थियो । यसको अगाडि कम्पाउन्डमा मधेसको जस्तो बयलगाडाको मूर्ति राखिएको थियो र सँगै हात्तीको मूर्ति थियो । जसले मेरो ध्यानाकर्षण गर्‍यो ।

बिहान ६ बजे उठियो र बाहिर निस्किएँ । जुन बाटो हिंडे त्यही बाटोबाट फर्किएँ । बाटो खोज्न गुगल नक्साले सहज बनाइदिएको छ । यसले मानिसलाई अरूको भर नपर्ने बनाइदिएको छ । कहिलेकाहीं अचम्म लाग्छ, हामीकहाँ केही मानिस किन व्यर्थै प्रविधिलाई गाली गर्छन् । नुहाइधुवाइ गरेर ब्रेकफास्ट लिएँ । यहाँ भियतनामभन्दा हल्का भिन्न, हामीसँग मिल्दोजुल्दो खाना रहेछ । मलाई लिनलाई गाइड आइसकेको थियो । थारू, धिमालजस्ता लाग्ने एक अधबैंसे पुरुष थिए उनी । तिनीसँग परिचयमा मैले हात जोडेर नमस्कार गरे । तिनले पनि हात जोडेर नमस्कार फर्काए र सिमरिपमा स्वागत छ भने । मैलै उनलाई तपाईं त हामीतिरका थारू राजवंशीजस्तो देखिनु हुन्छ नि भनें ! उनी मुस्कुराए मात्र ।

०००

सिमरिपको मुख्य सडक फराकिलो र सफा देखिन्थ्यो । बाटोको दुवैतिर होटेल लजहरू थिए । मोटरसाइकलले तान्ने टमटम यहाँको मुख्य मौलिक गाडी (अर्ध भन्नुपर्ला) जस्तो लाग्दथ्यो । मुख्य बाटोको देब्रेपट्टि नहरछेउको बाटोतर्फ हाम्रो कार मोडियो र अलिपर अङ्कोर मन्दिर प्रवेशका लागि टिकट पाउने ठाउँमा गाडी रोकियो ।

यहाँ अङ्कोरको नक्सा र पर्यटकले पालना गर्नुपर्ने नियमहरू लेखिएका थिए । यो जानकारीमूलक पनि थियो । आधुनिक र व्यवस्थित टिकट काउन्टर थियो । काउन्टरमै क्यामरा थियो फोटो खिच्नलाई । फोटोसहितको डिजिटल परिचयपत्रयुक्त टिकट लिइसकेपछि हामी अगाडि लाग्यौं, बगैंचाजस्तो ठाउँमा गाडी रोकियो । यहाँबाट हिंडेर जानुपर्ने थियो । गाडीको क्रममा गाइड होउर्ट हुवोटसँग चिनजान भइसकेको थियो । उनी बुद्धिस्ट थिए । र बुद्धको जन्मथलो लुम्बिनी नेपाल हो भन्ने कुरा उनलाई थाहा थियो । मैले हिन्दूबौद्ध भनें । उसले पहिले नै मलाई तपाईंको देशका देवीदेवताहरू हामीकहाँबाट नै गएका हुन् भनेर इतिहासतर्फ लग्न खोजेको थियो । हामी पूर्वी गेटबाट छिर्‍यौं । त्यहाँ भग्नावशेषजस्तो देखिने ठूला–ठूला ढुङ्गाहरू यत्रतत्र देखिन्थे । कुनै पर्खालबाट त कुनै मन्दिरबाट खसेर पल्टेका थिए ।

यहाँको विहङ्गम दृश्यको वर्णन गरी साध्य छैन । यहाँ निकै पहिल्यै ठूलो बस्ती रहेको अनुमान सहजै लगाउन सकिन्थ्यो । मन्दिरहरू निकै ठूला ढुङ्गाहरूबाट बनेका थिए । यसमा हिन्दू देवीदेवताका आकृतिहरू कोरिएका थिए । यहाँको मन्दिरको शैली हाम्रो सिम्रौनगढ र दक्षिण भारतको मन्दिरको आकृति र शैलीसँग धेरै मेल खान्थ्यो । वा हामीकहाँको मन्दिरको आकृति र शैली यहाँसँग धेरै मेल खान्थ्यो ।

यो इतिहाससँग जोडिएकाले यसलाई मैले इतिहासकारकै भरमा छाडें । गेटबाट प्रवेश गर्नासाथ ठुल्ठूला ढुङ्गाहरूबाट बनेको कोनाक मन्दिरमा प्रवेश गरिन्छ । करिब तीनतला बराबरको भर्‍याङको माथि चढेपछि मन्दिरवरपरको दृश्यले इतिहासकाबारे केही बोल्न खोजेजस्तो लाग्थ्यो । उत्तरपट्टिको मन्दिरहरूको बीच आँगनमा विदेशी पुरुष–महिला मीठो सङ्गीतमा मग्न थिए । यो कृष्ण र राधाको जोडीजस्तै लाग्दथ्यो । शान्त र अनुशासित मुद्रामा तिनीहरूको नृत्य दक्षिण एसियाको क्लासिकल सङ्गीतसँग मेल खान्थ्यो । यो सबैको ध्यानाकर्षणको केन्द्र बनेको थियो । मन्दिरमा प्रायः सबै हिन्दू देवीदेवताका चित्रहरू कलात्मक ढङ्गबाट कोरिएका थिए ।

केही मूर्तिहरू टुक्रिएका अवस्थामा थिए, केहीको टाउको थिएन, केहीका हात आदि । यहाँका ढुङ्गाहरू अलि काला देखिन्थे, हावापानीले यसो भएको हुनुपर्छ । यो मन्दिरपछि अर्को ब्लक आउँछ र यहाँ पनि भव्य मन्दिर देखिन्छ । यो मन्दिर अलि भव्य र व्यवस्थित लाग्दथ्यो । हिन्दू देवीदेवता र बुद्धका चित्रहरू भित्तामा कोरिएका थिए । सागर मन्थनको चित्र सफा र चहकिलो सागरजस्तो देखिन्थ्यो । अप्सराहरूको चित्र पनि गज्जबको थियो । यहाँको पेन्टिङ हेरेपछि मलाई हाम्रो मिथिलाको पेन्टिङ याद आउने । यो क्षेत्र पनि पेन्टिङ तथा कलामा कति धनी थियो भन्ने कुरा यसबाट बुझ्न गाह्रो पर्दैन थियो ।

केहीबेरको आरामपछि हामी बेयन मन्दिरतर्फ लाग्यौं । यसको उत्तरमा रहेको विशाल बेयन मन्दिरको प्रवेशद्वारमा विष्णु, उनको बाहन गरुड र बाँनर सेनाहरू बाटोको दुवै छेउमा लाइनबद्ध थिए, मानौं यसले हामीलाई स्वागत गरिरहेको छ । त्यहाँ भवन तथा मूर्तिका खण्डहरू यत्रतत्र लडेका थिए र ठूल्ठूला रूखहरू पलाएका थिए ।

यहाँ भने बुद्धका आकर्षक मूर्तिहरू थिए । यहाँ वरका ठूला रूखहरू देखिन्थे, यसको जरा तथा हाँगाबिगा निकै परसम्म फैलिएको थियो । यो मन्दिर बुद्धका लागि बनाइएको प्रतीत हुन्थ्यो । भगवान् बुद्धले वरको रूखमा ज्ञान पाएको हुनाले पनि वरका रूखहरू यहाँ प्रशस्तै देखिन्थे । यहाँ भवन तथा मूर्तिका ढुङ्गाहरू धेरै नै यत्रतत्र छरिएका थिए । रूखहरू पनि भवन तथा भित्तासम्म पुगेकोले पनि भवनहरू चर्किएको देखिन्थ्यो ।

मन्दिरको छानामाथिसम्म र पर्खालहरूलाई छेडेर ठडिएका पीपल तथा वरका रूखहरू यहाँका आश्चर्यका प्रतीक बनेको थियो । यहाँको बनावट अलि भिन्न थियो । मन्दिरको गजुरदेखि आकृति पनि बुद्धको आकृतिमा ढालिएका थिए जुन गज्जबको आर्टिटेक थियो । यसको उत्तरतिर ढुङ्गाका पर्खालमा सयौं हात्तीका चित्रकला पनि आकर्षणको केन्द्र थियो । जता गए पनि मन्दिरहरू नै थिए र यसमा कुँदिएका चित्रहरूले त्यस बेलाको बैभवशाली कला र कालीगढता कत्ति विकसित थियो भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । अर्कोछेउमा प्रीरूपको अग्लो मन्दिर थियो, न्यातपोल मन्दिरजस्तो । यसलाई यहाँ बाफुन मन्दिर पनि भनिन्छ । यहाँबाट अङ्कोरको धेरै भाग देखिने रहेछ । यहाँ त्यस बेलाका राजपरिवारका मानिसहरूको मृत्युसंस्कार गरिन्थ्यो ।

करिब २०० हेक्टरमा फैलिएको विश्व सम्पदामा सूचीकृत यो अङ्कोर मन्दिर क्षेत्र एक दिनमा घुम्न सम्भव थिएन । करिब सन् १११३ देखि ११५० को बीचमा जयवर्द्धन दोस्रोले बनाएको यो मन्दिर मूलतः हिन्दू विशेषगरी दक्षिण भारतीय शैलीमा बनेको विश्वास गरिन्छ । त्यसताका यहाँ ठूलो शहर रहेको इतिहास पाइन्छ । कम्बोडियाको इतिहास, संस्कृति र पहिचान जे भने पनि यही खमेर सभ्यता नै रहेछ ।

यहाँको राष्ट्रिय झन्डा पनि अङ्कोर मन्दिर अङ्कित छ । शुरुमा हिन्दू भए तापनि १४औं शताब्दीबाट यहाँ पूरै बौद्ध प्रभाव परेको रहेछ । हिस्ट्री अफ कम्बोडियाका लेखक डेभिट पी च्यान्डलरले खमेरहरू पछि बिस्तारै यहाँको स्थानीय खम्बुजासँग मिल्न पुगेको र यसमा बौद्ध धर्मले काम गरेको बताउँछन् । अङ्कोर भनेको विशाल र वाट भनेको मन्दिर हो । हुन त खमेरहरू यहाँ ७औं शताब्तीतिर आई बस्न थालेको इतिहास पाइन्छ र यिनीहरू मेकाङ नदीसम्म फैलिएको विश्वास गरिन्छ । यिनीहरूको प्रभाव थाइल्यान्ड, लाओस र भियतनामसम्म थियो । खमेरुज वंशको पतनपछि थाइल्यान्डको प्रभाव परेको पाइन्छ ।

साँच्चै भन्ने हो भने पूर्वी कम्बोडियाको रहनसहन र हावापानी नेपालको पूर्वी तराई/मधेससँग मिल्दोजुल्दो छ । यहाँको हावापानी सबट्रपिकल (उष्ण हावापानी) क्षेत्रअन्तर्गत पर्दछ । सिमरिप बजार विराटनगर तथा भद्रपुरजस्तो लाग्ने, यद्यपि कम्बोडियाकै सबैभन्दा ठूलो पर्यटकीय शहर भएकोले भौतिक वातावरण राम्रो छ । यहाँ धेरै अग्ला घर भेटिंदैनन् ।

थारू राजंवशी, धिमाल आदि जस्ता देखिने मानिस यहाँका प्रमुख सामाजिक समूहहरू हुन् । यहाँनेर मलाई इतिहासकार इमानसिंह चेम्जोङले किरातको इतिहास तथा संस्कृतिमा लेख्नुभएको कोच किराँतीको सम्झना आयो । उहाँले कोच किरात कम्बोडियादेखि नेपालसम्म फैलिएको बताउनुभएको छ । स्थानीय मानिसहरूमा लुङ्गी लगाउने चलन छ यता । महिलाले लाउने परम्परागत कपडामा साडी नै हो यद्यपि यसलाई विशेष पहिरनमा ढालिएको देखिन्छ ।

थारू तथा राजवंशीहरूले लगाउने पहिरनसँग धेरै मिल्छ । पुरुषहरू लुङ्गीलाई विभिन्न स्टाइलका रूपमा प्रयोग गर्ने गर्दछन् । बाटोमा घुँघी बेचेको देखिन्थ्यो, यसले सुनसरीको खनार तथा दुहबीमा बेच्न राखिएको घुँघीको मलाई याद आयो । थारूहरूको सङ्गतमा हुर्किएकाले यो सानैदेखि घुँघी खाँदै आएको हुँ । मुख्य गरी भात, माछा, चटनी आदि यहाँको मुख्य खाना हो । जुन पूर्वी मधेससँग धेरै अर्थमा मिल्दोजुल्दो छ ।

(इन्डिगो इन्कबाट प्रकाशोन्मुख पुस्तक पूर्वी एशियाको आँखीझ्यालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment