Comments Add Comment

फेरिएको राजनीतिक कोर्सले सेयरमा कस्तो असर पर्ला ?

२९ असार, काठमाडौं । आइतबार ७३ अंकले बढेको सेयर बजार सोमबार ४५.०६ अंकले ओरालो लागेर कारोबार बन्द भयो ।

कारोबार खुलेलगत्तै बढ्दो क्रममा देखिएको बजार सर्वोच्च अदालतले संसद पुनस्थापनासँगै सरकार परिवर्तन हुने फैसला सुनाएसँगै तीव्र गतिमा ऋणात्मक बन्न पुग्यो । सर्वोच्चको फैसला सार्वजनिक हुँदा बजार घटेर दुई हजार ८४४ अंकमा आइपुगेको थियो ।

पछिल्लो दुई घण्टाको कारोबार अवधि केही सम्हालिए पनि बजारमा सर्वोच्चको फैसला र राजनीतिक अन्योलको छाया कायमै रहँदा बजार ऋणात्मक भएर बन्द भयो । आइतबार ७३ अंकले बढेको बजारमा आठ अर्बको मात्रै कारोबार भएको थियो ।

तर, सोमबार लगानीकर्ता अन्तिम क्षणमा आएर आत्तिँदा दुई अर्ब बढीको सेयर खरिद बिक्री भएको जानकारहरू बताउँछन् । सेयर बजारको यो प्रतिक्रियालाई धेरैले फेरिएको राजनीतिक घटनाक्रमको उपजको रूपमा हेरेका छन् ।

सोमबारको सेयर बजारमा राजनीतिक परिवर्तनको सामान्य छाया परेको र त्यो दीर्घकालीन नहुने सेयर लगानीकर्ता दिलीप श्रेष्ठ बताउँछन् । बजारको आधारभूत सूचकहरू राजनीतिक परिवर्तनले तत्काल हलचल नहुने उनको बुझाइ छ ।

राजनीतिक विचारधाराको आधारमा एकथरी लगानीकर्ता सोमबार सर्वोच्चको फैसलापछि डराएर सेयर बिक्री गर्दा अर्काथरीले त्यो सेयर उठाउनुले बजारमा भय नरहेको संकेत गरेको उनीहरू बताउँछन् ।

वाषिर्क १२ अर्बको सेयर बजारबाट प्राप्त हुने राजश्वलाई प्रभावित हुने गरी कुनै पनि नयाँ सरकारले नीति अख्तियार नगर्ने उनको विश्वास छ । ‘सेयर बजारमा छोटो प्रभाव हल्ला र दीर्घकालीन असर कर्जा तथा निक्षेपको ब्याजदर भएकाले दीर्घकालीन असरमा कुनै पनि नयाँ सरकारले तत्काल नीति लिने अवस्था छैन, बजार प्रभावित हुन्न,’ श्रेष्ठले भने ।

राजनीतिक परिवर्तनले सेयर बजारको सूचकमा सामान्य प्रभाव पार्ने कुरा संसारभर नै रहेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सोमबार नेपाली सेयर बजारको एक बजेअघि र पछिको अवस्थाले सोही कुराको प्रतिनिधित्व गर्ने रौनियारको भनाइ छ ।

नेपाल स्टोक ब्रोकर एसोसिएशनका निवर्तमान अध्यक्ष भरत रानाभाट भन्छन्- सामान्यतय उदारवादी पुँजीवादको वकालत गर्ने  कांग्रेसले सरकारको नेतृत्व पाउने कुरामा बजारले सकारात्मक प्रतिक्रिया जनाउनु पर्नेमा त्यसो नभएको बताउँछन्

पहिलेको तुलनामा सेयर बजार निकै परिपक्व भएकाले अब त्यस्तो असर लामो समय नरहने दाबी उनले गरे । ‘३५ लाख डिम्याट खाता र ४० खर्बको पुँजीकरण भएको बजारका आधारभूत सूचकहरू सबै सबल रहेकाले पनि बजार थप सशक्त बन्ने तर प्रभावित नहुने देख्छु,’ रौनियारले भने ।

बजार सुधारका धेरै कामहरू नियमित भइरहेको र अबको नेतृत्व झनै उदारवादी अर्थतन्त्रको हिमायती भएकाले बजार पछाडि नफर्कने उनले दाबी गरे ।

नेपाल स्टोक ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट नयाँ राजनीतिक परिदृश्यमा बजार कस्तो हुने भन्ने कुरा अहिल्यै भन्न हतार हुने बताउँछन् । सामान्यतय उदारवादी पुँजीवादको वकालत गर्ने कांग्रेसले सरकारको नेतृत्व पाउने कुरामा बजारले सकारात्मक प्रतिक्रिया जनाउनु पर्नेमा सो नभएको रानाभाट बताउँछन् ।

‘प्रधानमन्त्री नियुक्त हुनुअघिको अवस्थासम्म लगानीकर्ताले डर पालेर ‘पर्ख र हेर’को नीति लिएको मेरो बुझाइ छ,’ रानाभाट भन्छन् । कांग्रेसको नेतृत्वमा सेयर बजार कहिल्यै प्रभावित नभएको भन्दै रानाभाटले सपथ अघिको समयमा द्वन्द्वको डर लगानीकर्तामा रहेको उनले बताए ।

नेपालको सेयर बजार निकै राम्रो लयमा रहेको र यो राजनीतिक कारणले मात्रै नभएको सेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल बताउँछन् ।

बजार सूचकहरू राम्रो अवस्थामा रहेका कारण सरकार परिवर्तनका कारण बजारमा तात्विक परिवर्तन नहुने उनले बताए । सोमबारकै बजारमा पनि आत्तिनाले सेयर बेच्दा यही राजनीतिक कारणमा हौसिनेले सेयर खरिद गरेको उनले स्मरण गरे । छोटो समय बजार हल्ला चलाएर बजार प्रभावित भए पनि दीर्घकालीन रूपमा सरकार परिवर्तनले बजार थप फैलिने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment