Comments Add Comment

यस कारण ठूलो चिठ्ठा बन्यो आईपीओ पर्नु

३० असार, काठमाडौं । सोमबार मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट भयो । सर्वसाधारणका लागि तीन लाख ६३ हजार ४९२ कित्ता छुट्याइएको उक्त आईपीओ ३६ हजार ३४९ जनाले हात पारे । आईपीओका लागि आवेदन दिएका दुई जनालाई ११-११ कित्ता आईपीओ परेको थियो । उक्त आईपीओमा १९ लाख १७ हजार ९२५ जना रित्तो हात भए ।

आईपीओको नतिजा आएको केही समयपछि सामाजिक सञ्जालमा लगानीकर्ताहरुले आईपीओ नपरेकोबारे निराशा प्रस्तुत गरे । लगानीकर्ता एवम् सञ्चारकर्मी प्रजिता बुढाथोकीले लगातार पाँच पटकसम्म आईपीओ नपरेको आफ्नो फेसबुकमा लेखिन् । ‘लगातार पाँच वटा कम्पनीको आईपीओ नपरेपछि त्यो एक हजार रूपैयाँको १० किलो आँप किनेर खाने निर्णय गरियो ‘ उनले सोमबार साँझ उक्त स्ट्याटस् पोष्ट्याएकी थिइन् ।

बुढाथोकीको पोष्टमा प्रतिक्रिया जनाउन आएका अधिकांशले आफूलाई पनि लामो समयदेखि आईपीओ नपरेको बताएका छन् । कसैले पाँच पटकदेखि त कसै-कसैले त अहिलेसम्म नै आईपीओ नपरेको उल्लेख गरेका छन् । ट्वीटरमा सन्तोष पन्थले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) पछि कुनै पनि कम्पनीको आईपीओ परिवारका सदस्यलाई समेत नपरेको गुनासो लेखेका छन् ।

पछिल्लो दुई साताको अवधिमा जीवन विकास लघुवित्त र मनकामना लघुवित्तको आईपीओको नतिजा आएका छन् । कुल सार्वजनिक निश्कासनको तुलनामा आवेदक अत्यधिक हुँदा आईपीओ नपर्नेहरुको गुनासो बजारमा धेरै देखिएको छ । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा ‘एक हजार रुपैयाँले जिन्दगीभर आईपीओ भर्न पुग्ने भो !’ भन्दै ट्रोलहरु निकै बनेका छन् ।

यस्तै ट्रोल फेसबुकमा सेयर गरेका गुल्मीका अच्युत भण्डारी ११ वटा आईपीओमा आवेदन गर्न एक हजारले पुगेकाले यस्तो स्ट्याटस लेखेको बताउँछन् । निफ्रापछि निरन्तर आवेदन दिएको ११ वटा कम्पनीको आईपीओ आफूलाई नपरेको उनले सुनाए । ‘हरेक कम्पनीमा १० कित्ता आवेदन गरेको छु, त्यही एक हजारले काम चलेको छ, ११ कम्पनी पुग्दा पनि सो रकम खर्च भएको छैन,’ उनले भने । कतिपयले भने सामाजिक सञ्जालमा अमेरिकी डिभी चिठ्ठा र आईपीओ पर्नु उस्तै मुस्किल भएको चर्चा पनि गरेका छन् ।

किन मुस्किल भयो आईपीओ पर्न

असार १७ देखि खुलेर सोमबार नतिजा सार्वजनिक भएको मनकामना लघुवित्तको आईपीओमा २० लाख ३६ हजार आवेदकले आवेदन परेको थियो । तर त्यसको एकसाता पछि खुलेको यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ८२ हजार ८५५ आवेदन परेको सिडिएससी एण्ड क्लेरिङ हाउसले जनाएको छ ।

हरेक आईपीओमा झण्डै एक लाख हाराहारी नयाँ आवेदक थपिने गरेको क्लेरिङ हाउसका सूचना अधिकारी सुरेश न्यौपानले बताए । असार १७ गते खुलेको आईपीओमा भन्दा एक लाख ४६ हजार बढी आवेदन असार २४ मा खुलेको यूनियन लाईफमा परेको उनले बताए । मनकामना लघुवित्तको आईपीओमा निष्कासित आईपीओ संख्या भन्दा ७३ गुणा बढी आवेदन परेको थियो ।

यस्तै यूनियन लाइफइन्स्योरेन्सको संख्या ठूलो हुँदा पनि झण्डै चार गुणा बढी आवेदन परेको सीडिएससीले जनाएको छ । सानो संख्याको आईपीओ खुल्नु र प्राथमिक सेयरमा आवेदन गर्ने लगानीकर्ताको संख्या हृवात्तै बढ्दा आईपीओ पर्ने कुरा चिठ्ठा झै भएको उनले बताए । नेपाल पूर्नबिमा कम्पनी (एनआरआईसी) को आईपीओपछि सेयर बजारमा नयाँ आवेदकको बाढी आएको न्यौपाने बताउँछन् । उक्त आईपीओ पर्ने लगानीकर्ताले निकै राम्रो लाभ लिएपछि बजारमा आईपीओ होड बढेको सीडिएसीको बुझाO छ ।

१५ महिनामा १७ लाख ९१ हजार २२९ नयाँ आवेदक

२०७६ चैतमा खुलेको नेपाल पूर्नबिमा कम्पनी (एनआरआईसी) को आईपीओमा तीन लाख ९१ हजार ६ सय २६ जनाबाट भएको आवेदन भएको थियो । त्यतीबेला उक्त आवेदन त्यस अघिको सबैभन्दा धेरै कीर्तिमानी आवेदन रहेको सीडिएसीका एण्ड क्लेयरिङ हाउसले जनाएको छ । त्यसको १५ महिनापछि २०७८ असार २४ मा खुलेको युनियन लाइफ इन्स्योरेनसको ओईपीओमा २१ लाख ८२ हजार ८५५ आवेदन परेको छ जुन १७ लाख ९१ हजार २२९ ले बढी हो । यस बीचका सबैजसो आईपीओमा उच्च आवेदनको कीर्तिमानी रहेको कम्पनीका अधिकारी बताउँछन् ।

गत माघ ३० गते निष्कासनमा आएको महिला लघुवित्तको सेयरमा १५ लाख ४० हजार ३५ आवेदकबाट आईपीओ मागका लागि निवेदन परेको थियो । त्यस लगत्तै खुलेको रुरु जलविदुत कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदन परेको थियो । जुन अघिल्लो आईपीओमा भन्दा ६६ हजार ९०४ जनाको आवेदन बढी हो । फागुन २१ देखि खुलेको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाख ४ हजार ६४८ आवेदन परेको सिडीएससीले जनाएको छ । उक्त आवेदन संख्या रुरुमाभन्दा एक लाख ९७ हजार ७२९ ले बढी हो । यस अवधिमा खुलेका सीईडीबी र सिंगटी जलविद्युतको सेयरमा भने कम आवेदन परेको थियो ।

एनआरआईसी, निफ्रा, र महिला लघुबित्तले हौसिएका लगानीकर्ता

नेपाल पूर्नाबिमा कम्पनी (एनआरआईसी) ले २०७६ चैतमा ४ गते एक करोड ६० लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । जसमा आवेदन गर्ने सबैले आईपीओ पाए । कम्तीमा १० देखि बढीमा ६० कित्तासम्म आईपीओ निवेदकले पाएका थिए ।

दोस्रो बजारमा कारोबार खुलेपछि उक्त सेयरको मूल्य प्रतिकित्ता एक हजार ९७७ रुपैयाँसम्म पुग्यो । पाँच हजार लगानी गरेर ५० कित्ता आईपीओ पारेका लगानीकर्ताको सम्पत्ति बढेर ९८ हजार ८५० रुपैयाँसम्म पुग्यो । जसमा पाँच हजार लगानी गर्नेले कम्तीमा पनि ९२ हजार रुपैयाँ करबाहेकको नाफा आर्जन गर्‍यो । पाँच हजार लगानी गरेर वैधानिक रुपमा ९२ हजार कमाउन सक्ने सोझो अर्थमा देखिएपछि सेयर बजारमा छिर्नेको लाम बढ्न पुगेको सेयर लगानीकर्ता दिलीप श्रेष्ठ बताउँछन् । सेयर बजारमा नयाँ मान्छे थपिनुमा एनआरआईसी कोशेढुंगा भएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपाने पनि सहमत छन् ।

यस्तै नेपाल पूर्वाधार विकास बैंक निफ्राको आईपीओ आवेदन गरेका सबैले सेयर पाए । हरेक आवेदकले दामासाही ५० कित्ता तथा अन्य धेरैलाई ६० कित्ताका दरले परेको सेयरको दोस्रो बजारको मूल्य प्रतिकित्ता ६६० रुपैयाँ भन्दा माथि पुग्यो । ६ हजार रुपैयाँ लगानी गरेर ६० कित्ता आईपीओ परेका लगानीकर्ताको सम्पत्ति बढेर दोस्रो बजारमा ३९ हजारभन्दा धेरै भएपछि यसले पनि लगानीकर्तालाई शेयर बजार वैध आम्दानीको आकर्षण गन्तव्य बन्यो ।

गत फागुनमा खुलेको महिला लघुवित्तको आईपीओको दोस्रो बजारको मूल्य पनि निकै आकर्षक रहृयो । प्रति एक कित्ता सेयरको दोस्रो बजार मूल्य पाँच हजार ३९० रुपैयाँ पुगेपछि एक हजार लगानी गरेर १० कित्ता आईपीओ पर्ने लगानीकर्ताको सम्पत्ति ५३ हजार नौ सय रुपैयाँ पुग्यो । एक हजार रुपैयाँ लगानी गरेर ५२ हजार रुपैयाँ खुद नाफा निक्लिएपछि सेयर बजारमा नयाँ लगानीकर्ताको बाढी नै देखिएको सीडिएससीको भनाइ छ ।

प्रविधि मैत्री, सहज प्रवेश

कुनै बेला सेयरमा आवेदन गर्नका लागि लगानीकर्ताले दिनभरको समय छुट्याउनु पर्थ्यो । सूचनाको अभाव, सेयरबारेको ज्ञान कम र आईपीओ आवेदनको भौतिक प्रणालीका कारण सेयर बजारमा छिर्न मानिसहरु असहज ठान्थे । ‘कागजी फारम भरेर दिनभरी लाईनमा बसेर बिक्री प्रबन्धकमा फर्म बुझाउने, अर्धकट्टी लिएर राख्ने, सेयरको भौतिक प्रमाण पत्र लिने सारै झन्जटिलो काम थियो,’ पुराना लगानीकर्ता दिलीप श्रेष्ठ सम्झन्छन् ।

तर अहिले नियमक निकायले सेयर बजारमा प्रविधिको अधिकतम् प्रयोग गरेका कारण सेयर आवेदन, दोस्रो बजारमा बिक्री जस्ता कामहरु देशको जुनसुकै कुनामा बसेर मोबाइलबाटै गर्न सकिन्छ । सेयरको सबै प्रमाण डिजिटल भएको छ भने आईपीओ आवेदन देखि दोस्रो बजारमा बिक्री र रकम संकलनकालागि लगानीकर्ता अहिले कही कतै जानु नपर्ने धितोपत्र बोडको भनाइ छ । सहजता, प्रविधि प्रयोग र नाफा सुनिश्चितता भएपछि बजारमा नयाँ लगानीकर्ताको प्रवेश ब्यापक भएको बोर्डका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना बताउँछन् ।

सेयर बजार बारेको ज्ञानको दायरा पनि पछिल्लो वर्षहरुमा फराकिलो भएको र युवाको आकर्षण बढ्दा बजार फैलिएको उनले बताए । बजारमा लगानीकर्ता बढ्दा कम्पनीहरुमा पनि आईपीओ निष्कासन लागि हौसला बढेको ढुंगानाले बताए । कुनै बेला जलविद्युत कम्पनीको आईपीओ नबिक्ने समस्या थियो तर अहिले कयौं गुणा बढी आवेदन पर्छ, बजारमा व्यापक सुधार भएको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने । यसले दोस्रो बजारको भविष्यलाई थप फैलाइदिएको उनले बताए । धेरै आवेदन भएपछि सानो आकारको आईपीओ पर्न मुस्किल हुनु बजारको सामान्य नियम नै भएको पनि बोर्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नवीन ढुंगाना

Advertisment