Comments Add Comment
गण्डकी प्रदेशसभा बैठक :

जब सांसदले नै सिंगल सिंगल भन्दै टेबल बजारे …

३० असार, पोखरा । बजेट पास गर्ने क्रममा बुधबार गण्डकी प्रदेशको प्रदेशसभामा सत्तारुढ र विपक्षी सांसदबीच घम्साघम्सी भएको छ । सत्तारुढ सांसदतिर लक्षित गर्दै टेबल बजारेका विपक्षी नेकपा एमालेको सांसदले ‘सिंगल सिंगल आइज’ समेत भन्न भ्याए ।

२९ जेठमा बनेको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १ असारमा हतारहतार बजेट ल्याउँदा योजनासहितको बजेट पुस्तिका (रातो किताब) तयार पार्न नसकेपछि विवाद शुरु भएको थियो । रातो किताब नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको विपक्षी एमालेमाथि सरकारले, पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा बजेटमा नभएको योजनाका लागि ४ अर्बको ठेक्का लगाएको आरोप लगायो ।

प्रतिउत्तरमा एमालेले सरकारमाथि १६ करोड रुपैयाँ रकमान्तर गरी सांसदहरुमार्फत बाँडेको आरोप लगायो र प्रदेशसभामा २७ गतेदेखि शुरु बजेटमाथिको छलफल अवरुद्ध गर्‍यो ।

रोष्टमतिर जान खोजेका मुख्यमन्त्रीलाई विपक्षी सांसदहरुले घेरा हाल्ने प्रयास गरेका थिए । त्यसक्रममा मर्यादापालकले मुख्यमन्त्रीलाई विपक्षी सांसदहरुको घेराबन्दीबाट छुटाएर रोष्टमतिर पठाए । विपक्षी सांसदहरुले नाराबाजी गर्दै टेबल उचालेर फ्याँके ।

लगातार बैठक अवरुद्ध भएपछि सरकार र प्रमुख प्रतिपक्षीबीच रकमान्तर गरिएका योजना छानबिनका लागि एमाले सांसदको संयोजकत्वमा ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भयो । सहमतिअनुसार नै विनियोजन विधेयक प्रदेशसभामा पेश भयो र साउन १ अगाडि नै विनियोजन विधेयक पास गरिसक्नुपर्ने भएकाले हतारहतार छलफल सकियो ।
बुधबार बिहान एमालेले अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो र जवाफ नदिए सदन चल्न नदिने अडान थियो । त्यसपछि आफूहरुको माग पूर नगरेको भनी बिहान ११ बजे शुरु भएको बैठक अवरोध गर्‍यो ।

साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध गर्‍यो, तर सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन् । मुख्यमन्त्री पोखरेल विधेयक पेश गर्न रोष्टममा जान खोज्ने र विपक्षीहरुले अवरोध गर्दा प्रदेशसभामा घम्साघम्सी भयो ।

रोष्टमतिर जान खोजेका मुख्यमन्त्रीलाई विपक्षी सांसदहरुले घेरा हाल्ने प्रयास गरेका थिए । त्यसक्रममा मर्यादापालकले मुख्यमन्त्रीलाई विपक्षी सांसदहरुको घेराबन्दीबाट छुटाएर रोष्टमतिर पठाए । विपक्षी सांसदहरुले नाराबाजी गर्दै टेबल उचालेर फ्याँके । नेकपा एमालेका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले टेबल उचाल्दै ४ जना सांसद भएतिर फ्याँके । उनले माओवादी केन्द्रका सांसद गायत्री गुरुङ, आशा गुरुङ, नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा भएतिर कुर्सी फ्याँकेका थिए ।

सांसद बस्नेतले ठाउँ साँघुरो भएकाले टेबुल ‘हटाइएको’ दाबी गरेका छन् । सत्तारुढ सांसदले हस्तक्षेप गरेपछि आफूहरु प्रतिवाद गर्न बाध्य भएको भन्दै उनले भने, ‘त्यहाँ उचालेर राखेको देखिन्छ कि फ्याँकेको भिडियोमा नै हेर्नू !’

घटनाको केन्द्रमा सांसद विन्दु थापा

प्रदेशसभामा भएको घटनामा सत्तारुढ नेपाली कांग्रेसका विन्दुकुमार थापा पनि मुछिएका छन् । आफूहरुको अवरोधका बीच मर्यादापालकले मुख्यमन्त्री पोखरेललाई रोस्टममा लैजान खोजेपछि एमाले सांसदहरु नाराबाजी गर्दै रोस्टम घेर्न दौडिए ।

त्यही भीडमा सत्तारुढ सांसद थापा पनि पुगे । कांग्रेस सांसद मेखलाल श्रेष्ठले हतारहतार सांसद थापालाई फर्काए । तर यसले विपक्षी सांसदलाई थप आक्रोशित बनायो । ‘मैले उहाँ (सांसद थापा) लाई रोकें, उहाँ ब्याक पनि हुनुभयो’ सांसद श्रेष्ठ भन्छन्, ‘उहाँहरु (विपक्षी सांसदहरु)ले हामीलाई सिंगल सिंगल आइज पनि भनिया’थ्यो । मैले कुनै प्रतिक्रिया दिइनँ किनकि सत्तापक्ष संयमित हुनुपर्छ !’

त्यही आक्रोशमा पूर्वमन्त्री एवं एमाले सांसद बस्नेतले आफ्नो अगाडि रहेको टेबल उचालेर सत्तारुढ दलका सांसदहरुको अगाडि रहेको खाली कुर्सीहरुमाथि बजारेका हुन् । मन्त्री बस्नेतले फालेको टेबल छैटाैं लहरका मन्त्रीको टेबल हो, जसलाई तत्कालीन वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले प्रयोग गर्दै आएका थिए । यसपटक मन्त्रालय बाँडफाँट र मन्त्री नियुक्त नहुँदा यो टेबल खाली थियो ।

जनता समाजवादी पार्टी सांसद धनमाया लामा भन्छिन्, ‘टेबल हामीतिरै फालिएको थियो । लाग्ने गरी फालेको भए शायद चोट लाग्थ्यो ।’ यद्यपि उनी पनि कांग्रेस सांसद विन्दु थापा मुख्यमन्त्रीको ‘पछिपछि जाँदा’ विपक्षी सांसदहरु आक्रोशित भएको र त्यही क्रममा टेबल फाल्ने काम भएको बताउँछिन् ।

सांसद थापा भन्छन् : सहजीकरण गर्न गएँ

प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेको ठाउँमा पुगेका कांग्रेस सांसद थापाले भने मुख्यमन्त्रीमाथि हातपात हुने देखेपछि सहजीकरण गर्न गएको प्रतिक्रिया दिएका छन् । उनले अनलाइनखबरसँग भनेका छन्, ‘कुनै अप्रिय घटना घट्छ कि भनेर गएको मात्रै हो । तर, साथीहरुले मलाई रोकेपछि फर्किहालें ।’

भर्खर सत्ताबाट बाहिरिएका पूर्वमन्त्री बस्नेतले आफ्नो हैसियत बिर्सिएर अभद्र व्यवहार गरेको सांसद थापाको प्रतिक्रिया छ । ‘म त्यहाँ नपुग्दै च्यालेन्ज गर्नतिर लाग्नुभो’ उनले भने, ‘सत्ताको रसास्वादन गरेको मान्छे एक्कासी छोड्नुपर्दा गाह्रो भयो होला । यो एकदम अनुशासनहीन र घिनलाग्दो काम भयो ।’

यो सब तनावका बीच प्रदेशसभाले बहुमतका आधारमा विनियोजन विधेयक (बजेट) पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment