Comments Add Comment

ईपीएल क्रिकेट : चितवन टाइगर्सको कप्तानी सोमपालले गर्ने

फाइल तस्वीर

३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।

यसअघि काठमाडौं किङ्स ११ बाट खेलेका सोमपाल ईपीएलको प्लेयर ट्रेड नियम अनुसार चितवन टाइगर्स पुगेका थिए । त्यसमा चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा पुगेका थिए । सोमपालले पहिलो पटक चितवनबाट ईपीएल खेल्दैछन् । यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए ।

राष्ट्रिय टोलीका नियमित तीव्र गतिका बलर सोमपालले फ्रेन्चाइज लिगमा पनि कप्तानीको अनुभव हासिल गरिसकेका छन् ।

सोमपालले नेतृत्व गर्न दिएकोमा टिम व्यवस्थापनलाई धन्यवाद दिएका छन् । ‘म कप्तानी गर्न एकदमै उत्साहित छु । म यस भूमिकामा मज्जा लिंदै त्यसमा आउने चुनौतीको सामना गर्नेछु’, सोमपालले कप्तानमा नियुक्त भएपछि भने ।

चितवन टाइगर्सकी सञ्चालन निर्देशक विनिता भट्टराईले सोमपालले नेतृत्वमा क्षमता देखाइसकेको भन्दै उनको क्षमतामा आफूहरु विश्वस्त रहेको बताइन् ।

चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । ललितपुर प्याट्रिओट्स साविक विजेता टिम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment