Comments Add Comment

क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

३ साउन, काठमाडौं। नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।

आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ । सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी भएको बताए । उनले औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए ।

कम्पनीले दिएको जानकारी अनुसार टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ भने काभ्रेको बनेपा १ नालामा १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग रहेको छ । त्यसमध्ये अहिले २० हजार स्वाएर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताए ।

वैद्यको अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिग फर्माको उद्योग डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना उद्ययोग रहेको छ । ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ वैद्यले भने ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताए ।

उनले तत्कालै पाँचवटा औषधि आईहाल्ने र त्यसपछि अरु ल्याउने योजना रहेको समेत सुनाए । एन्टीक्यान्सर औषधिको मूल्यको सन्दर्भमा गरिएको एक प्रश्नमा कार्यकारी निर्देशक बैद्यले टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए ।

‘हामीकहाँ भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गर्दछन् । जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपाली जनमानसलाई सुलभ मूल्यमा उत्पादन गराउने छौं,´कार्यकारी निर्देशक बैद्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment