Comments Add Comment

इदका लागि लकडाउन हटाइएपछि बंगलादेशमा कोरोना संक्रमण बढ्ने जोखिम

४ साउन, काठमाडौं । बंगलादेशमा मुसलमानहरुको पर्व इद अल अदाको लागि लकडाउन हटाइएपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

बंगलादेशको स्वास्थ्य निर्देशनालयका पूर्वप्रमुख बे नाजिर अहमद भन्छन्, ‘अहिले नै अस्पतालमा बेड, आईसीयूको अभाव भइसकेको छ र हाम्रा स्वास्थ्यकर्मीमाथिको दबाब बढिसकेको छ । त्यसैले अब अवस्था झन् खराब बन्यो भने अझै धेरै संक्रमितहरु अस्पतालमा आउनेछन् । यस्तोमा यो संकटलाई नियन्त्रणमा ल्याउनु असम्भवजस्तै हुनेछ ।’

बंगलादेशमा कोरोना संक्रमण फैलिएसँगै गत जुलाई १ देखि अधिकांश सेवाहरु बन्द गरिएको थियो । बंगलादेश सरकारले लकडाउनको पालना गराउन प्रहरी र सेना परिचालन गरेको थियो र नियम उल्लंघन गरेको आरोपमा हजारभन्दा धेरै मानिसहरु पक्राउ परेका थिए । लकडाउन जारी रहेको बेला पनि बंगलादेशमा दैनिक करिब दुई सय जनाको मृत्यु भइरहेको थियो भने नयाँ संक्रमितको संख्या ११ हजारको हाराहारीमा थियो ।

तर, विशेषज्ञहरुको चेतावनीका बाबजुद जुलाई १५ देखि २३ सम्म पर्व मनाउनका लागि सरकारले लकडाउन हटाउने निर्णय गरेको थियो । यद्यपि मानिसहरुलाई मास्क लगाउने र कडाइका साथ स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने नियम लगाइएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

विशेषज्ञहरुले यो चाड कोरोना संक्रमण फैलाउने प्रमुख कारक बन्न सक्ने चेतावनी दिएका छन् । बुधबार इद अल अदाको क्रममा करिब तीनदेखि चार करोड मानिस प्रार्थनाको लागि मस्जिदमा भेला हुने अनुमान छ ।

अहमदका अनुसार यो पर्व सकिएपछिको महिना बंगलादेशको लागि निकै संकटपूर्ण हुन सक्छ । बंगलादेशमा हालसम्म करिब ११ लाख कोरोना संक्रमित फेला परिसकेका छन् भने संक्रमणको कारण करिब १८ हजारको मृत्यु भएको छ ।

अहमद थप्छन्, ‘अब सायद हामीले विनाशकारी अवस्था आउनबाट रोक्न सक्दैनौं ।’

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment