+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
स्थलगत रिपोर्ट :

साँझको फ्लाइट छ, दिउँसोसम्म खोप पाएको छैन

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ साउन ४ गते २०:४५

४ साउन, काठमाडौं । म्याग्दीका याम सुन्दास सोमबार दिउँसो असिन पसिन हुँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु परिसरको खोप केन्द्र आइपुगे । काठमाडौंका आधा दर्जन खोप केन्द्र चाहारेर टेकु आइपुगेका उनी निकै हतारमा देखिन्थे ।

नहुन् पनि किन ? सोमबार साँझ वैदेशिक रोजगारीका लागि उड्नुपर्ने उनले दिउँसो चार बज्दासम्म खोप पाएका थिएनन् । ‘खोप नलगाई विदेश जानु भनेको आफैं फस्नु हो’, सुन्दास भन्छन्, ‘आजै साँझ उड्नुपर्ने मान्छेको यो हालत भइसक्यो ।’

अमेरिकी सरकारले दिएको एक डोजमात्र लगाए हुने जोनसन एण्ड जोनसनको खोपका लागि भौंतारिने युवामा सुन्दास मात्र पर्दैनन् । सोमबार टेकुस्थित अस्पतालमा उनीजस्तै वैदेशिक रोजगारीमा जान खोप खोज्ने एक दर्जन युवा भेटिए । फरक–फरक देश र कामका लागि जान लागेका उनीहरुको व्यथा भने एउटै थियो ।

म्याग्दीका सुन्दाससँगै उनका साथीहरू सरोज नेपाली र सन्तोष छन्त्याल पनि ट्याक्सी चढ्दै काठमाडौंका विभिन्न खोप केन्द्र डुलिरहे । युक्रेन जाने अन्तिम तयारीमा रहेका उनीहरूले दुई दिन डुल्दा समेत खोप पाउन सकेनन् ।

साउदी अरब जाने टिकट बुक गरिसकेका मकवानपुरका इमानसिंह घिसिङ पनि निकै निराश देखिन्थे । दिउँसो एक बजे नै टेकु आइपुगेका उनी खोप नपाएपछि फर्कने सुर गर्दै थिए । उनी दुई सातादेखि काठमाडौंको होटलमा बसिरहेका छन् ।

उनीसँगै भेटिएका युवा विनोद तामाङ पनि खोप नलगाई विदेशको कम्पनीमा जाँदा फर्किनुपर्ने डरले चिन्तित देखिन्थे । विनोदका अनुसार कम्पनीले खोप लगाएर मात्र आउनु भनेर मेल पठाएकाले जसरी पनि खोप लगाउनुपर्ने बाध्यता बनेको हो । ‘विदेशबाट फर्कायो भने हामीले नै जोखिम मोल्नुपर्छ भनी एजेन्टले बताएको छ’, तामाङ भन्छन्, ‘ऋण गरेर विदेश गएको मान्छे फर्कनुपर्‍यो त घरखेत नै जान्छ ।’

उनी बालाजुदेखि ट्याक्सी चढेर टिचिङ अस्पताल, वीर हुँदै टेकु आइपुगेका हुन् । तर सबै ठाउँमा लामो लाइन र निश्चित समूहलाई मात्र दिने तयारी छ भनेपछि उनी अर्को खोप केन्द्र खोज्दै हिँडेका थिए ।

पहिलो डोज लगाएर दोस्रो खोप लगाउन खोजेका युवाको समस्या पनि उही छ । कहिले वृद्धलाई मात्र लगाउने त कहिले सरसफाइ गर्नेलाई लगाउने भनेर फिर्ता पठाइदिने गरेको उनीहरूको गुनासो छ । बिहान १२ बजेसम्म आइपुगेका केही युवाले भने टेकु अस्पतालको खोप केन्द्रमा खोप लगाउन पाए ।

तर खोप लगाएको प्रमाण दिने कार्ड (खोप–कार्ड) नेपालीमा लेखिएकाले अर्को समस्या सिर्जना भएको छ । ‘म्यानपावरमा अंग्रेजीबाट लेखिएको खोप कार्ड चाहिन्छ भनेको छ’ सिराहाका जनक साहले भने, ‘नेपालीमा लेखिएको खोप कार्ड टेकु अस्पतालले अंग्रेजीमा बनाइदिन्छ भनेकाले यहाँ आएका हौं ।’

साह जस्तै खोप लगाइसकेका युवाहरु अस्पतालमा गएर अंग्रेजीमा लेखिएको कार्ड बनाउने हो वा नोटरी पब्लिकमा जाने भनेर अन्यौलमा थिए । उनीहरू हातमा पीसीआर रिपोर्ट, हरियो पासपोर्ट र खोप कार्ड बोकेर उभिरहेका थिए ।

टेक अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखा मातहत खोप वितरण गरिने भएकाले यसमा अस्पतालको हात हुँदैन । यद्यपि खोप कार्ड अंग्रेजीमा बनाउनेबारे पहल भइरहेको उनले बताए । ‘मैले खोप कार्ड अंग्रेजीमा पनि बनाउने भनेर कुरा राखेको छु’ बास्तोलाले भने, ‘अस्पतालको लेटरमा बनाउँदा पनि हुन्छ भने त्यो अर्को विकल्प बन्न सक्छ । जसरी हुन्छ समस्या त समाधान गरिनुपर्छ ।’

सोमबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको अमेरिकी खोप काठमाडौंमका ४४ वटा केन्द्रबाट ४ गतेदेखि ६ गतेसम्म लगाउने निर्णय सरकारले गरेको छ । एक डोजमात्र लगाए हुने भनिएकाले वैदेशिक रोजगारीमा जानेहरूले यो खोप लगाउन खोजेका हुन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?