Comments Add Comment

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

६ साउन, काठमाडौं । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ८३८ जना संक्रमित भेटिएका छन् । त्यस्तै मंगलबार ३ हजार १२३ र सोमबार २ हजार ४४५ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो चार–पाँच दिनमा परीक्षण गराउन आउनेको संख्या बढेको बताए । मंगलबार १३ हजार १३५ र बुधबार १२ हजार ६१६ जनाले परीक्षण गराएका छन् ।

‘दैनिक पीसीआर परीक्षण गर्नेमध्ये पोजेटिभ पुष्टि हुने २५ प्रतिशत देखिन्छ । यो ठूलो संख्या हो,’ सहप्रवक्ता अधिकारीले भने ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ७१५ नमुना परीक्षण गर्दा १ हजार ९१८ र एन्टिजेन विधिबाट ३ हजार ९०१ परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर २२ प्रतिशतभन्दा बढी छ । पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना डिस्चार्ज भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ छन् । जसमध्ये २४ हजार ३४० होम आइसोलेसनमा र २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार गएको हप्तासम्म सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेका जिल्लाको संख्या ९ थियो । यो हप्ता नवलपरासी पूर्व, रुपन्देही र कैलालीमा सक्रिय संक्रमितको संख्या बढेर ५०० भन्दा माथि पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी संक्रमित पुष्टि भएको छ । त्यहाँ परीक्षण गरिएकामध्ये ४८.२ प्रतिशतमा संक्रमण देखिएको छ । यसैगरी कर्णाली प्रदेशमा संक्रमण दर ४६, गण्डकीमा ३२, प्रदेश १ मा ३१.५ प्रतिशत रहेको छ ।

अस्पतालमा बिरामीको चाप बढ्यो 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पछिल्लो समय अस्पतालमा आउने बिरामीको चाप बढ्दै गएको बताएका छन् । निषेधाज्ञा खुकुलो हुँदै गएपछि एकसाता यता कोरोनाको लक्षण भएका बिरामीको संख्या बढेर गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रत्येक दिन १५ देखि २० जना लक्षणसहितको कोरोना संक्रमित बिरामी इमर्जेन्सीमा आउने गरेको उनले बताए । जसमध्ये सातदेखि १० जना इमर्जेन्सीमा भर्ना हुने गरेको छ ।

आईसीयूको २४ बेडमध्ये २१ जना उपचाररत छन् । कोभिड एचडीयूमा ४० मध्ये ३५ जना उपचाररत छन् । कोभिड स्पेशल आइसोलेसनमा ५ जना उपचाररत छन् ।

खोप केन्द्रबाट संक्रमण सर्ने जोखिम छ

डा. अनुप बास्तोला, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

निषेधाज्ञा हट्दै जाँदा आम नागरिकले पनि जनस्वास्थ्यको मापदण्ड नअपनाएका कारण संक्रमण बढ्दै गएको अवस्था हो ।

भारतमा देखिएको डेल्टा र डेल्टा प्लस भेरियन्ट नेपालमा विद्यमान रहेको अवस्था छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यको मापदण्ड नअपनाउँदाको कारणले गर्दा जोखिम बढ्दै गएको छ । राजधानी लगायत बाहिरी जिल्लाबाट सिकिस्त संक्रमित भएर आउनेको संख्या बढ्दो रहेका कारण अस्पतालका आईसीयू एवं भेन्टिलेटर लगायतका बेड खाली हुन पाएका छैनन् ।

खोप लगाएको पाँच/छ दिन पछि ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखा परेको धेरै व्यक्ति उपचारका लागि अस्पताल आउने गरेका छन् ।

खोप अभियानमा सहभागी हुँदा दूरी कायम गर्न अपरिहार्य छ । खोप केन्द्रमा सुरक्षाको मापदण्ड पालना नगरेका कारण खोप लगाए पछि केही हुँदैन भनेर लापरबाही गर्दा खोप लगाएका व्यक्तिहरु पनि खोप लगाएको दुई–तीन सातापछि सिकिस्त संक्रमित भएर अस्पतालको आईसीयूमा भर्ना हुने क्रम रहेको छ ।

जनस्वास्थ्यका मापदण्ड तोड्यौं भने हाम्रा लागि आगामी दिन कठिन हुनेछन् । खोप केन्द्र जाँदा, अस्पताल जाँदा जनस्वास्थ्यको मापदण्ड अपनाउन छाड्नु हुन्न ।

जति पनि क्षेत्र खोलिएका छन् त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना गर्ने एवं गर्न लगाउन जरुरी हुन्छ । अन्यथा सोही स्थानबाट संक्रमण फैलिएर तेस्रो लहरको जोखिममा पर्न सक्छौं ।

संक्रमित भए निमोनिया भएर आईसीयूमा जानुपर्ने अवस्था सिर्जना हुनसक्छ, घरपरिवारमा संक्रमण सारेर सिकिस्त संक्रमित भएर अस्पताल जानुपर्ने अवस्था हुनसक्छ । मेरो जिम्मेवारी भनेको आफू सुरक्षित हुन्छु । परिवारलाई सुरक्षित राख्छु । खोप लगाएको होस् नलगाएको होस् जनस्वास्थ्यको मापदण्ड पालना गर्छौं । आफू जोगिएर सम्पूर्ण नागरिकलाई जोगाउनु सबैको दायित्व हो भन्ने सोचको विकास हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment