+
+
Shares

चिनियाँ प्राध्यापकले लेखे : देउवा ‘प्रो–इन्डियन’ प्रधानमन्त्री

‘प्रो इन्डियन भएपनि चीन–नेपाल सम्बन्ध ठोस रुपमा अगाडि बढ्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १३:२८

७ साउन, काठमाडौं । चीनका एक प्राध्यापकले नेपालमा भारतप्रति नरम (प्रो–इन्डियन) नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि नेपाल–चीन सम्बन्ध ठोस रुपमा अगाडि बढ्ने टिप्पणी गरेका छन् ।

फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिज का प्रोफेसर झाङ जिअदोङले चिनियाँ सरकारको मुखपत्र ग्लोवल टाइम्समा एक लेख लेख्दै नेपाली कांग्रेसले नेपालको परराष्ट्र नीतिलाई भारत अनुकुल दिशामा लैजाने पर्यवेक्षकहरुको बुझाइ रहेको बताएका छन् । सो विश्वविद्यालयले चिनियाँ सरकारको विदेश नीतिमा महत्वपूर्ण प्रभाव पार्छ ।

‘जुन दल सरकारमा आएपनि सो दलले चीनसँग सहकार्य नगरी मुलुकलाई समृद्धिमा लैजान सक्दैन र भारतको प्रभावलाई पनि इन्कार गर्न सक्दैनन्,’ उनले भनेका छन्, ‘नेपाल भारत र चीनबाहेक कुनै तेस्रो मुलुकसँग सम्बन्ध विस्तारका लागि पनि इच्छुक छ ।’

‘प्रो–इन्डियन नेता भएपनि नेपाल–चीन ठोस सम्बन्ध’ शीर्षकमा प्रकाशित सो लेखमा उनले देउवा सत्तामा आएपछि नेपालको भारततर्फ झुकाव बढ्नसक्ने तर यसले भारत, चीन र तेस्रो मुलुकको विचमा वहुपक्षीय सन्तुलित सम्बन्धको आधारभूत सोचमा परिवर्तन नल्याउने बताएका छन् । लेखकले नेपालको भारतसँगको निर्भरतालाई पनि व्याख्या गरेका छन् ।

लेखमा भनिएको छ, ‘यदि नेपाल विश्वको आर्थिक र व्यापार गतिविधिहरुमा भाग लिन चाहन्छ भने भारतीय बाटोमार्फत जानुपर्छ । नेपालमा विश्वको पहुँच भारतको हातमा रहेको छ । हिन्दु नेपालको मुख्य र सबैभन्दा ठूलो धर्म हो त्यसैले नेपालमा जुन दल सरकारमा आएपनि उसले भारतको प्रभावलाई टार्न सक्दैन ।’

ती प्राध्यापकले देउवा अदालतको आदेशमा प्रधानमन्त्री भएको भन्दै उनलाई जनताको सीमित समर्थन रहेको उल्लेख गरेका छन् ।

‘देउवा कति समय सत्तामा रहन्छन्, स्पष्ट छैन । उनी संसदबाट निर्वाचित भएका होइनन् सर्वाेच्च अदालतबाट भएका हुन् । यसको मतलब उनीलाई नेपाली कांगेस र जनताको सीमित समर्थन रहेको छ,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी अझै पनि नेपालको सबैभन्दा ठूलो दल हो । देउवाले संसदमा बहुमत जुटाउन सकेनन् भने आगामी निर्वाचनमा उनका लागि अनकुल वातावरण बन्द सक्दैन ।’

लेखकले नेपाल नीतिका सम्बन्धमा चिनियाँ सरकारलाई पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘चीनको लागि नेतृत्व र सत्तारुढ दलमा भएका परिवर्तनमा ध्यान केन्द्रित गर्नु भन्दा नेपालको विदेश नीतिको बारेमा आफ्नो समझदारीलाई अझ गहन बनाउनु महत्वपूर्ण हो । चीनको नेपालसँगको सम्बन्धमा नयाँ कूटनीतिक प्रणाली, स्वरुप, आयाम विकास गर्नु जरुरत मात्र छैन्, नयाँ युगमा कूटनीतिक सुधारको आवश्यकता रहेको छ ।’

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?