Comments Add Comment

रक्तचापको समस्या छैन भन्नु गलत हुनसक्छ

उच्च रक्तचाप आजभोलि एक सामान्य शब्द बनिसकेको छ किनभने आजकल यो समस्या धेरै मानिसमा देखिन्छ र धेरैले यसबारेमा सुनेको पनि हुन्छ । सामान्य बोलीचालीको भाषामा प्रेसर भनेर चिनिने यो समस्या त्यति धेरै जनचासोको विषय भएको जस्तो देखिंदैन र धेरैले आफूलाई उच्च रक्तचाप भएको थाहा हुँदाहुँदै पनि वास्ता गरेको र नियमित औषधिसेवन गरेको देखिंदैन । यो एक जनस्वास्थ्यको हिसाबले सामान्य होइन बरु एक दुःखद कुरा हो ।

जनचासोको हिसाबले हेर्दा उच्च रक्तचापलाई धेरै मानिसले सहजै स्वीकार्न खोज्दैनन् र यसको उपचार गर्ने या यसको लागि औषधिको सेवन गर्ने कुरालाई धेरैले आवश्यक ठान्दैनन् । यसको कारण उच्च रक्तचाप आफैंमा एक रोग मात्रै नभई अन्य थुप्रै घातक रोगको कारण पनि हो भन्ने बुझाई नहुनु नै हो । उच्च रक्तचापको रोग लागिसकेपछि यसलाई चुपचाप स्वीकार्नु र यसको उपचार गर्नुबाहेक अर्को उपाय नै छैन । यो एउटा कहिल्यै ननिभ्ने आगो हो, यो आगो लागिसकेपछि यसलाई कम गर्न औषधिरुपी पानी हालिराख्नुपर्दछ । यदि यो आगो निभ्यो होला भनेर पानी बन्द गर्‍यो भने यो फेरि आफैं सल्किन्छ र यदि यो दन्क्यो भने यसले मानव शरीरलाई ठूलो क्षति पुर्‍याउँदछ ।

एकचोटि औषधि शुरु गर्‍यो भने जिन्दगीभरि औषधि खाइराख्नुपर्दछ भन्ने गलत बुझाइका कारण मानिसहरू औषधिदेखि डराई रोग पालेर बस्दछन् । त्यस्तै आयुर्वेदको नाममा नामै नखुलेको र अन्य विवरण केही नभएको, किराना पसलमा सहजै किन्न पाइने औषधिको सेवन गर्दछन् । यसले गर्दा रक्तचाप नियन्त्रणमा नआई अकस्मात् दुःखद घटना घट्ने गरेको हामी धेरैले धेरै पटक सुन्ने गरेका छौं । माथि उल्लेख गरिए जस्तै एकचोटि उच्च रक्तचापको समस्या आएपछि यो हराउँदैन जसले गर्दा औषधि खाइराख्नु बाहेक अरु उपाय नै हुँदैन । यो औषधिको होइन रोगको दोष हो । औषधिको नियमित सेवन गरेन भने यसलाई नियन्त्रण गर्न निकै गाह्रो हुने मात्रै होइन कहिलेकाहीं यो अकस्मात् यति उच्च भइदिन्छ कि यसले क्षणभरमै मानव शरीरलाई यस धर्तिबाट बिदा गरिदिन्छ ।

यदि कसैले मलाई रक्तचापको समस्या छैन भन्यो भने त्यो उसको लागि गलत हुन सक्दछ किनकि त्यसको मतलब या त उसलाई रक्तचापको समस्या भएको थाहा नभएको हुन सक्दछ या त समस्या भए तापनि औषधि सेवन नगरेको हुन सक्दछ ।

अहिलेको आधुनिक समयमा हाम्रो समाजमा उच्च रक्तचापको समस्या यति धेरै छ कि यदि कसैलाई उच्च रक्तचाप छैन भन्यो भने अचम्म मान्नुपर्ने हुन्छ । रक्तचापको मापन नै नगरिकन या एक दुई पटक मात्रै रक्तचाप मापन गरेर मलाई उच्च रक्तचाप छैन भन्नु गल्ती हुन्छ । त्यस्तै उच्च रक्तचापलाई बेवास्ता गरेर औषधि सेवन नगरेकाहरू पनि मलाई उच्च रक्तचाप छैन भन्ने भ्रममा परेको देखिन्छ । त्यसैले सही अर्थमा उच्च रक्तचाप नभएको मानिस अहिले हाम्रो समाजमा भेट्न गाह्रो छ । तसर्थ यदि कसैले मलाई रक्तचापको समस्या छैन भन्यो भने त्यो उसको लागि दुःखद हुन सक्दछ किनकि त्यसको मतलब या त उसलाई रक्तचापको समस्या भएको थाहा नभएको हुन सक्दछ या त समस्या भएतापनि औषधि सेवन नगरेको हुन सक्दछ । कतिपयले औषधि सेवन नगरेपछि आफूलाई रोगै नभएको ठान्दछन् । आफू स्वस्थ भएको भ्रम पाल्न पनि कोही कोही त्यसो गर्दछन् । तर यदि उसलाई समस्या छ भने त्यो उसको लागि सुखद हुन सक्दछ किनकि उसले औषधि नियमित खाएको छ भने उच्च रक्तचापबाट हुन सक्ने समस्याबाट ऊ सहजै बच्न सक्दछ ।

रक्तचापले गर्दा हुनसक्ने घातक रोगहरू धेरै छन् । हृदय रोग, पक्षघात, मिर्गौलाको रोग आदि उच्च रक्तचापबाट हुनसक्ने दीर्घरोगका केही उदाहरण हुन् । स्वस्थ नौजवानहरू पनि अकस्मात हृदयघात भई मृत्यु भएको कुरा नौलो हुन छाडेको छ हाम्रो समाजमा । त्यस्तै मस्तिष्कघात, पक्षघात भई अपाङ्ग भएको या आजीवन ओछ्यान परेको कुरा पनि आजभोलि धेरै सुन्न पाइन्छ । दुवै मिर्गौलाले काम नगरेर मिर्गौला नै फेर्नु परेको कुराको बारेमा पनि यहाँ धेरै उल्लेख गरिरहनु आवश्यक छैन ।

उच्च रक्तचाप समयमै नियन्त्रण नगरेर हुनसक्ने घातक रोगहरू मध्ये एक हो मस्तिष्क रक्तस्राव जसलाई ब्रेन हेमोरेज पनि भनिन्छ । उच्च रक्तचापले शरीरका विभिन्न अङ्गहरूको रक्तनली (नसा) लाई पातलो बनाउँदै लैजाने गर्दछ । सामान्यतया शरीरका रक्तनलीहरू दैनिक जीवनमा आवश्यकता अनुसार फुल्ने सुक्ने गर्दछन् र त्यस अनुसार हाम्रो शरीरमा रक्तचाप एउटा सीमाभित्र स्थिर भएर बसेको हुन्छ । तर उच्च रक्तचाप भएको मानिसमा रक्तनली पातलो मात्रै होइन कमजोर पनि हुँदै गएको हुन्छ जसले गर्दा रक्तनलीका विभिन्न भागहरूमा सानासाना बेलुनहरू देखापर्दछन् जुन अति पातलो हुन्छ र कुनै पनि बेला फुटी रक्तनलीमा प्वाल पर्न सक्दछ । यस्ता बेलुनहरूलाई माइक्रोएन्युरिज्म भनिन्छ । त्यसमाथि कोलेस्टेरोल (रगतमा पाइने बोसो तथा चिल्लो पदार्थ जुन उच्च रक्तचाप, मधुमेह आदि रोग भएको बिरामीमा धेरै हुने गर्दछ)को समस्या पनि भएको मानिसमा रक्तनली झन् साँघुरो र कडा हुन्छ जसले गर्दा रक्तचाप झन् झन् बढ्न मद्दत पुग्दछ । त्यस्ता मानिसमा माइक्रोएन्युरिज्म बन्ने सम्भावना पनि धेरै हुन्छ । मस्तिष्कका रक्तनलीहरू निकै मसिना र कोमल हुन्छन्, त्यस्तै मस्तिष्क आफैं पनि एक निकै कोमल अङ्ग हो ।

उच्च रक्त चापले सजिलै असर पर्न सक्ने अङ्गहरू मध्ये एक हो मस्तिष्क, अन्य हुन् मुटु, मिर्गौला, आँखा आदि । यदि माइक्रोएन्युरिज्म फुटे भने मस्तिष्कभित्र रक्तस्राव हुन्छ । भारतका चर्चित गजल गायक जगजित सिंहको सन् २०११ मा मस्तिष्क रक्तस्रावकै कारण मृत्यु भएको थियो । त्यस्तै नेपाली कांग्रेसका युवा नेता नविन्द्रराज जोशीको पनि यसैकारण केही समयअघि मात्र मृत्यु भएको थियो । रक्तस्राव कति ठूलो छ र मस्तिष्कको कुन भागमा छ त्यसले मस्तिष्क रक्तस्रावको परिणाम निर्धारण गर्दछ । रक्तस्राव भएपछि बिरामीलाई अचानक कडा टाउको दुख्ने, बान्ता हुने, छारेरोगको कम्पन हुने, पक्षघात भई एक पाखा नचल्ने अर्थात् प्यारालाइसिस हुने, बेहोश हुने आदि समस्या हुन्छ । त्यति मात्रै होइन मस्तिष्क रक्तस्राव बढ्दै गई बिरामीको अवस्था झन् झन् नाजुक हुँदै जान्छ । यदि रक्तस्राव निकै ठूलो छ भने बिरामीको अवस्था अति नाजुक भई तत्काल मृत्यु पनि हुन सक्दछ ।

हिजोआज हाम्रो समाजमा एक सामान्य अवस्थामा रहेको मानिस अचानक बेहोश भई मृत्यु भयो भन्ने किसिममा समाचार धेरै सुन्नमा आउने गर्दछ । त्यस्तो हुनुको एक कारण मस्तिष्क रक्तस्राव हो । कतिपय अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउने समय पनि नपाउन सक्दछ । त्यसरी अचानक मृत्यु भएको मानिसलाई अस्पताल लग्यो भने इसीजी भन्ने जाँच गरिन्छ जसले मुटु चलेको छ कि छैन भन्ने देखाउँछ र यदि मुटु चलेको छैन भने बिरामी हृदयघातले मृत्यु भयो भनेर भनिन्छ । तर त्यस्ता बिरामीको सिटी स्क्यान गरेर हेरिंदैन जसले गर्दा मस्तिष्क रक्तस्राव भएको हो कि होइन भनेर थाहा हुँदैन । हिजोआज हाम्रो समाजमा तीस, चालीस वर्ष उमेरका जवान धेरै मानिसलाई मस्तिष्क रक्तस्राव भएको देखिन्छ र यो संख्या हाम्रो समाजमा बढ्दो छ जुन एक भयावह समस्या हो । तसर्थ वास्तविक मस्तिष्क रक्तस्रावको तथ्याङ्क हामीसँग नभएतापनि यो हामीले सुनेको र देखेको भन्दा निकै धेरै छ भन्नेमा कुनै शंका छैन ।

मस्तिष्क रक्तस्राव भएको बिरामीलाई अस्पतालको आईसीयूमा राखी उपचार गर्नुकपर्दछ । अवस्था नाजुक भएमा भेन्टिलेटरमा बिरामीलाई राख्नुपर्ने अवस्था पनि आउन सक्दछ । त्यति मात्रै नभई रक्तस्राव निकै ठूलो भएमा तुरुन्तै शल्यक्रिया गरेर मस्तिष्कभित्र जमेको रगत निकाल्नुपर्ने हुन्छ। त्यति गरेपछि पनि बिरामीलाई ठीक हुन्छ कि हुन्न भन्न सकिंदैन । यदि उपचारपछि राम्रो हुँदै गयो भने पनि निकै लामो समय लाग्दछ । अस्पतालको बसाइ मात्रै लामो हुने होइन घरमा गएपछि पनि लामो समय आराम गर्नुपर्ने या पुनर्स्थापना केन्द्रमा बस्नुपर्ने हुन्छ । यी सबै उपचार निकै खर्चिलो पनि हुन्छ ।

मस्तिष्क रक्तस्रावले गर्दा हुने पक्षघात पूर्णरुपमा ठीक हुन लामो समय लाग्दछ र यो पूर्णरुपमा ठीक हुन्छ भनेर भन्न पनि सकिंदैन । केही मात्रामा पक्षघात आजीवन रहन पनि सक्दछ । यसरी मस्तिष्कघात भएका बिरामीले ठूलो दुख पाउने गर्दछ । त्यति मात्र नभई उसको परिवारले पनि ठूलै दुःखको सामना गर्नुपर्ने हुन्छ । कतिपय बिरामी मस्तिष्क रक्तस्राव भएपछि आजीवन ओछ्यानमा परी हिंडडुल गर्न नसक्ने पनि हुन्छ ।

यति हुँदाहुँदै पनि आजभोलि चिकित्सा विज्ञानले धेरै ठूलो प्रगति गरेको हुनाले उपचारपछि बिरामी तन्दुरुस्त भई पहिलेकै अवस्थामा फर्किने सम्भावना पनि हुन्छ । अथवा सहज जीवनयापन गर्ने स्थितिमा पुग्न सक्दछ । तर जे नै भए पनि मस्तिष्क रक्तस्राव एक घातक रोग हो र यो रोग लागेपछि बिरामी र परिवारले ठूलो कष्ट उठाउनुपर्ने हुन्छ । तसर्थ यस्तो रोगको रोकथाम गर्नु नै उत्तम उपाय हो ।

उच्च रक्तचापको समयमै उपचार गरी रक्तचापलाई नियन्त्रित गरिराख्नु रोकथामको एक प्रमुख उपाय हो । आजकल रक्तचापको समस्या धरै मानिसलाई हुने परिप्रेक्ष्यमा आफूलाई पनि छ कि भनेर नियमित यसको जाँच गर्नुपर्दछ । विशेषगरी मोटोपन, धुम्रपान र मद्यपान, अधबैंसे र बुढेसकालको उमेर, चिनीको रोग, मिर्गौलाको रोग आदि भएको मानिसमा रक्तचापको समस्या धेरै हुनसक्ने भएको हुनाले त्यस्ता मानिसले नियमित रक्तचापको मापन गरेर हेर्नुपर्दछ । सामान्यतया वयस्क मानिसमा रक्तचाप करीब १००।६० देखि १३०।९० सम्म हुन सक्दछ । रक्तचाप १३०।९० भन्दा माथि भयो भने रक्तचाप उच्च भयो भन्ने गरिन्छ ।

मस्तिष्कको सीटी स्क्यान, रातो धनुरेखाले देखाएको सेतो भाग मस्तिष्कभित्रको रक्तस्राव हो ।

धरै पटक रक्तचाप उच्च भइराखेमा औषधिको सेवन गर्नुपर्दछ । कुनै कारणले एक दुई चोटि रक्तचाप उच्च हुन सक्दछ । त्यसो भयो भन्दैमा औषधिको सेवन गर्नुपर्ने नभए तापनि त्यो एउटा सावधानीको सूचना हुन सक्दछ । प्राय: मानिसले रक्तचाप बढेको बेला यो भर्खर हिंडेर आएकोले, शारीरिक धपेटीले या मानसिक तनावले भएको हो भनी यसलाई बेवास्ता गरी यसलाई म आफैं ठीक पार्छु भनी औषधि नखाई बस्ने गर्दछन् । माथि उल्लेख गरिएका कारणले पनि रक्तचाप सामान्य तलमाथि हुन सक्दछ । तर सामान्य धपेटी या तनावले रक्तचाप बढ्यो भने पनि त्यो राम्रो कुरा होइन किनभने सामान्य कुराले पनि रक्तचाप बढायो भने त ती सामान्य कुराहरू पनि जीवनमा गर्न नपाइने भयो ।

सामान्य धपेटी र तनाव त आधुनिक जीवनको एक प्रमुख हिस्सा नै हो । तर रक्तचापलाई नियन्त्रण गर्न त्यस्ता कुराहरूको पनि ख्याल अवश्य राख्नुपर्दछ । औषधिको अलावा नियमित व्यायाम, खानपान अनुशासित र तनावरहित जीवन आदि पनि उच्च रक्तचापको रोकथाम, उपचारका उपायहरू हुन् । तर उच्च रक्तचाप भइसकेपछि त्यतिले मात्रै पुग्दैन । आगोमा घ्यू नराख्दैमा आगो निभ्छ भन्ने होइन, आगो नबढोस् भन्नको लागि घ्यू नराख्ने हो ।

संक्षेपमा उच्च रक्तचाप मस्तिष्क रक्तस्रावको प्रमुख कारण हो । उच्च रक्तचापका औषधि प्रायः सुरक्षित हुन्छन् र आजीवन सेवन गर्न सकिन्छ । औषधि तपाईंको मित्र हो र रोग तपाईंको शत्रु । त्यसैले मित्रको साथ लिएर शत्रुलाई भगाऔं । रक्तचापलाई नियन्त्रण गरेर प्राणघातक रोगबाट बचौं र बचाऔं ।

( एण्ड ब अस्पताल, ग्वार्को, ललितपुरमा कार्यरत श्रेष्ठ कन्सल्टेन्ट न्यूरोसर्जन तथा न्यूरोसाइन्स विभागका प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment