Comments Add Comment

सन्दीपलाई नफापेको वर्ष २०२१

७ साउन, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको लागि वर्ष २०२१ खासै फापेको छैन । विगतमा नियमितजसो विश्वका प्रमुख लिग खेलेका सन्दीपले पछिल्लो समय भने खराब समयको सामना गर्नुपरेको छ ।

मंगलबार राति सन्दीपले एउटा स्ट्याटस लेखे । ‘समय मात्र खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एकदिन ठीक हुनेछ ।’ पछिल्लो पटक दी हन्ड्रेड खेल्न नपाउने भएपछि सन्दीपले यसरी निराशा व्यक्त गरेका हुन् ।

यो पनि पढ्नुहोस सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

दी हन्ड्रेड खेल्न नपाउनुमा सन्दीपको गल्ती थिएन । आयोजक इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेड बोर्ड (इसीबी) ले सन्दीपको भिसा हन्ड्रेड खेल्न भ्यालिड नभएको निर्णय गरेपछि सन्दीपले पहिलो पटक हुन लागेको हन्ड्रेड गुमाए । इंग्ल्याण्ड पुगेर त्यहाँकै नियमअनुसार अनिवार्य क्वारेन्टिनको १० दिन पूरा गरेपनि सन्दीपले दी हन्ड्रेड खेल्न नपाउने निर्णयबारे जानकारी पाए ।

दी हन्ड्रेडको पहिलो खलमै सन्दीप आबद्ध रहेको ओभल इन्भिन्सिबल्सले म्यानचेष्टर ओरिजिन्लससंग बिहीबार खेल्ने तालिका थियो । तर अब त्यो टिममा सन्दीप हुने छैनन् । उनको स्थानमा टी-२० को विश्व नम्बर वान बलर दक्षिण अफ्रिकाका ताबरेज साम्सी खेल्ने पक्का भइसकेको छ ।

सन्दीपले दी हन्ड्रेड खेल्न नपाउनुको पीडा, यसका लागि गरेको मिहिनेत र त्याग अनि शुरुमा मान्य भएको भिसा पछि किन  मान्य भएन भनेर उनले इंगल्याण्ड क्रिकेट बोर्डसँग प्रश्न सोधेका छन् ।

‘मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई ईसीबीका कसैले पनि स्पष्ट जवाफ दिएनन् । मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो । तर कम्तीमा मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक मलाई थियो’ सन्दीपले भनेका छन् ।

सन्दीपले भिसाकै कारण कुनै प्रतियोगिता गुमाएको यो पहिलो पटक भने होइन । यसअघि पनि भिसा र पासपोर्ट ढिला प्राप्त हुँदा सन्दीपले इंग्ल्याण्डमै भएको भाइटालिटी ब्लास्ट टी-२० प्रतियोगिता गुमाए ।

यो पनि पढ्नुहोस सन्दीपले गुमाए टी-२० ब्लास्ट, उनको स्थानमा इश सोधीले खेल्ने

दुवै प्रतियोगामा सन्दीप पहिलो पटक छनोट भएका थिए । अनि नेपालबाट इंग्ल्याण्डमा भाइटालिटी ब्लास्ट र हन्ड्रेड खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान नजिक थिए । तर अब त्यसका लागि सन्दीप र नेपाली क्रिकेटले नै कुर्नुपर्ने भएको छ । सन्दीपले इंग्ल्याण्डमा खेल्न पाउने विषयलाई लिएर सन्दीपसँगै नेपाली क्रिकेटप्रेमीहरु खुशी थिए ।

एक महिनाको अन्तरमै सन्दीपले दुवै प्रतियोगिता गुमाउनुपरेको खबर साँच्चै निराशाजनक बनेर आयो । त्यो पनि अन्य कारण नभई भिसाकै कारण । एउटा खेलाडी विभिन्न देशमा प्रतियोगिता खेल्न विश्व यात्रा गरिरहेको हुन्छ । तर भिसाका कारण कुनै प्रतियोगिता गुमाउनुपर्दाको पीडा शयद सन्दीपभन्दा अरुले धेरै बुझ्न नसक्ला ।

यसअघि भाइटालिटी ब्लास्ट गुमाउँदा सन्दीपले आफूले सबै पक्षसँग आग्रह गर्दा पनि कसैले केही रेस्पोन्स नै नगरेको भन्दै निराशा व्यक्त गरेका थिए ।

सन् २०२१ को शुरु नै सन्दीपका लागि राम्रो हुन सकेन । गत माघमा आईपीएलमा दिल्लीले सन्दीपलाई नयाँ सिजनअघि रिलिज गर्‍यो ।

त्यसपछि सन्दीप अक्सनमा समावेश भए । तर अक्सनमा पनि कुनै फ्रेन्चाइजले उनलाई लिएन ।

यो पनि पढ्नुहोस आईपीएलमा सन्दीप लामिछाने बिकेनन्

आईपीएलमा अनसोल्ड भएपछि लगातार चौथो पटक आईपीएल खेल्ने सन्दीपको लक्ष्य अधुरै बन्यो । यद्यपि कोभिड १९ को असरले गर्दा मार्च अप्रिलमा हुनुपर्ने आईपीएल स्थगित भयो । अब आईपीएल सेप्टेम्बर-अक्टोबरमा युएईमा हुँदैछ ।

त्यसै बेला सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा समावेश भएपनि कुनै टिमले उनलाई लिएन । पछि रासिद खान अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय खेल खेल्न जाने भएपछि सन्दीप उनको रिप्लेसमेन्ट खेलाडीको रुपमा पाकिस्तान गएका थिए । तर कोभिड-१९ ले गर्दा पाकिस्तान सुपर लिग स्थगित हुँदा सन्दीप नखेली फर्कनुपर्‍यो ।

यस्तै राष्ट्रिय टिमबाट पनि सन्दीपसहित नेपाली टोलीले विश्वकप लिग २ का दुई सिरिज खेल्ने भनेपछि कोभिडका कारण स्थगित भएकोले अझै पर्खनुपरेको छ । सन्दीपले पहिलो पटक आयोजना भएको काठमाडौं महानगर कप क्रिकेट खेल्दै घरेलु क्रिकेटमा करिब साढे दुई वर्षपछि कमब्याक गरेका थिए । यस्तै वैशाखमा नेपालमै आयोजना भएको त्रिकोणात्मक सिरिजमा नेपालले उपाधि जित्दा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए ।

सन्दीपले पछिल्लो पटक खेलेको विदेशी फ्रेन्चाइज लिग अष्ट्रेलियन बिग बास लिग थियो । गत वर्ष माघमा उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेलेका थिए । जहाँ ८ खेलमा ८ विकेट लिएका थिए ।

कुनै समय सन्दीपलाई विदेशका फ्रेन्चाइज लिग खेल्न भ्याईनभ्याई नै हुन्थ्यो । तर यस वर्ष कोरोना भाइरस महामारीका कारण वा अन्य कारण सन्दीपले धेरै प्रतियोगिता गुमाउनुपर्‍यो । सन्दीपको सामाजिक सञ्जालमा लेखेजस्तै अहिलेको समय उनलाई फापिरहेको छैन । उनले पछि ठीक हुने आशा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment