
नेपाली जगतमा कलाको क्षेत्रमा उँचो नाम भएका उत्तम नेपाली कविता र अभिनयका क्षेत्रमा समेत योगदान दिएका सपुत हुन् । तर लामै समयदेखि उनको सक्रियता देखिएको थिएन । केही वर्षअघि उनी अमेरिका भ्रमणको क्रममा अचानक अस्वस्थ भएपछि लामै समय बोष्टन क्षेत्रमा छोरा र छोरीका साथ बसे ।
उत्तम नेपालीसँग मेरो परिचय भए पनि घनिष्ठता कहिल्यै भएन । कलाकारको रूपमा म चिन्थें । भेट्दा अभिवादनको आदानप्रदान पनि हुन्थ्यो । तर त्यो सीमाबाट हाम्रो सम्बन्ध अघि बढेन ।
५० को दशकमा उनी प्रज्ञा प्रतिष्ठानको सदस्य थिए । त्यो कालखण्डको प्रज्ञा प्रतिष्ठानको गतिविधि निकै नमज्जालाग्दो किसिमले पक्षाघातले पीडित थियो । प्रज्ञाका उपकुलपति मदनमणि दीक्षित र सदस्य-सचिव डा. ध्रुवचन्द्र गौतमबीच शीतयुद्ध चलेको थियो । सिंगो एकेडेमी दुई खेमामा विभाजित थियो । मदनमणिको पक्षमा कमै थिए प्राज्ञ परिषदका सदस्यहरू । धेरैजसो गौतमका पक्षधर थिए । उत्तम नेपाली पनि गौतमकै पक्षधर थिए ।
यो झगडामा म र मेरा निकटका साथी नकुल सिलवालको मत अन्यको भन्दा फरक थियो । हामी दुवैको पक्षमा थिएनौं । बरू हामी दुवैको विपक्षमा थियौं । अर्थात्- यो झगडिया प्राज्ञ परिषद नै भङ्ग हुनुपर्छ भन्नेमा थियौं ।
यो मतले गर्दा मदनमणि पक्षलाई सहयोग पुग्न गएछ, जुन हाम्रो अभीष्ट थिएन । यस कारणले डा. गौतमसँग केही समय हाम्रो दूरी बढ्यो । यही दूरी बढेको कालखण्डमा उत्तम नेपालीले नेपाली साहित्यकारहरको पोट्रेट बनाउने अभियान थालेका थिए ।
नि:सन्देह यो पोट्रेट बनाउन नामहरू सुझाउन डा. गौतमको हात परोक्ष-प्रत्यक्ष हुने नै भयो । त्यसैले नकुल सिलवालको नाम र मेरो नाम पोट्रेट बनाउने साहित्यकारहरूको सूचीमा परेन । यो सूचीमा नपर्नुमा उत्तम नेपालीको कुनै दोष थिएन । तर जे जसो कारणले भए पनि हाम्रो पोट्रेट बनेन । त्यो नबन्नुले उनीसँग कलाकारिताको माध्यमले नजिक हुने अवसरबाट वञ्चित भइयो, पछि कुनै त्यस्तो अवसर प्राप्त भएन ।
उनको त्यो साहित्यकारहरूको पोट्रेट प्रोजेक्ट निकै सफल रह्यो । चर्चित रह्यो । अमूर्त कलाकारितामा साहित्यकारको प्रोट्रेटको राम्रो संयोजन भएको थियो । यद्यपि पेन्टिङबारे सामान्य ज्ञान पनि नभएका साहित्यकारहरूले अनुहार नै मिलेन भन्नेजस्ता अज्ञानी टिप्पणी पनि गरेका थिए ।
नेपाली कलाकारितामा निकै सम्मानका साथ लिइने वरिष्ठ कलाकारको माथिल्लो नम्बरमा लिइने नाम थियो उत्तम नेपालीको । तर साहित्यमा पनि उनको नजिकको उपस्थिति थियो । उनले आफ्नो कलाकारिताको उत्कर्षको बेला नेपालका नामी कविहरूका कविताका पङ्तिहरू आफ्नो पेन्टिङमा समावेश गरेर कला र कवितालाई नजिक राखेका थिए । त्यति मात्र होइन, उनी आफैं कवि थिए । सिध्दहस्त नै ।
मैले उनको पहिलो कविता २०३६ सालपछि हरिशंकर अमात्यले सम्पादन गरेको ‘दीपिका’ साहित्यिक मासिकको प्रवेशाङ्कमा पढेको थिएँ । लामै कविता थियो त्यो । तर मैले त्यसलाई गहकिलो कविताको रूपमा आत्मसात् गरेको थिएँ, आफ्नो साहित्य सिर्जनाको सुरुवातको बेलामा नै ।
यो बेग्लै कुरा हो, पछि म त्यो दीपिका पत्रिकाको सहसम्पादक भएँ र सम्पादक हरिशंकर अमात्यले एकदिन बताउनुभयो, त्यो कविता दीपिकामा प्रकाशनको रहस्य ।
हरिशंकर अमात्यले दीपिका पत्रिका प्रकाशन गर्ने निधो गरेपछि साहित्यिक रचना संकलनका लागि साहित्यकारहरूसँग सीधा सम्पर्क नभएकाले रूपरेखाको कार्यालयमा रचनाका लागि सम्पर्क राख्न गएका रहेछन् । अनि उत्तम नेपालीको कविता रूपरेखाको सौजन्यमा दीपिकालाई प्राप्त भएको रहेछ ।
१९९४ साल वैशाख १८ गते काठमाडौंको किलागल टोलमा माता रत्नदेवी कर्माचार्य र पिता विष्णुप्रसाद कर्माचार्यका सुपुत्र उत्तमप्रसाद कर्माचार्यको रूपमा उनको जन्म भएको थियो । उनको पारिवारिक व्यवसाय भारतको लखनउमा भएकोले उनको शिक्षा लखनउमै भयो । उनले लखनउबाट बीएफए अर्थात् ब्याचलर इन फाइन आर्टस् गरेका थिए । उनले लखनउमै अध्ययनको क्रममा आफूलाई नेपाली भएको पहिचान दिन नेपाली उपनाम राखेका थिए । पछि यो उपनाम नै उनको थर समान भएर उत्तम नेपालीको नामले उनलाई ख्याति दिलायो ।
उनले २०१८ सालमा काठमाडौंमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेका थिए । त्यो प्रदर्शनीका लागि तत्कालीन कवि राजा महेन्द्रको प्रेरणा रहेको थियो । प्रदर्शनीको उद्घाटनपछि राजा आफैंले उनका प्रशस्त कलाकृतिहरू किनेर उनको कलाकारितालाई हौस्याएका थिए ।
उनका कृतिहरू नेपाल लगायत भारत, बङ्गलादेश, जापान, दक्षिण कोरिया, सोभियत संघ, अष्ट्रेलियामा समेत प्रदर्शन भएका थिए ।
उनी श्री ५ को सरकारको निजामती सेवामा संलग्न भएका थिए । उनले नेपाली चलचित्रको आरम्भकालमा शाही नेपाल चलचित्र संस्थानको प्रादुर्भाव हुनु अगावै सूचना विभागले निर्माण गरेको ‘आमा’ तथा ‘हिजो आज भोलि’ चलचित्रमा अभिनय समेत गरेका थिए । तर उनको व्यक्तित्वलाई उजिल्याउनेहरूले यो पक्षको भने खासै चर्चा गरेको र उति चासो लिएको पाइन्न ।
नेपाली साहित्यका सिध्दहस्त कलमकारहरू शंकर लामिछाने, भीमदर्शन रोका, भूपि शेरचनहरूसँग उनको नजिकको हेलमेल थियो । शंकर लामिछानेले आफ्नी पत्नी रत्नालाई सानो चिठी लेखेर घर छोडेपछि उनी सर्वप्रथम उत्तम नेपालीको घर पुगेका थिए ।
उनले भीमदर्शन रोकाको विषयमा लामै कविता लेखेर ‘रूपरेखा’मा छपाएका थिए । कलाकारको आँखाले देखेको कवि भीमदर्शन रोकाको शब्दचित्र ‘भीम दर्शन रोका: आकाशजस्तो एकोहोरो, माया झैं दोहरो’ शीर्षकमा यस्तो रहेको थियो :
टलपल टलपल
टक्क अडेको
अडिने आँखा
स्वच्छ आवरणको ठूलो पुस्तक
दुईटा आँखा दुइटा नानी र एक प्रकाशन
प्रतिक्षण प्रतिकण एउटा मधुवन
कैयन् रेखामा अल्झेको एउटा मन
जनम मरणबाट टाढा जीवन
ज्ञान, ध्यान र चिन्तन
स्वच्छ पवित्र निश्चिन्त परिधिमा
प्रतिपल रोदन
प्रतिदिन चेतन
चार परखालमा अनन्त दर्शन ।
०००
शून्यभित्र जन्मेको ठोस-शून्य
एउटा धरती-एउटा जननी
मुटुभित्रको स्पन्दनमा अड्ने
आफैं आफैंमा ढल्ने
कुनै अर्को मुटु लिएर
प्रेमीहरूको प्रेमिका भएर
टाँसिएझैं गाँसिएझैं
बोलाइरहने-टोलाइरहने
चाँदलाई चाँदनी जुटाउने
आफ्नोपनमा हिंड्ने
आफ्नै मनभित्र उड्ने
एउटा चिसो पवन ।
यो कविता २०३१ साल असोजको रूपरेखामा प्रकाशित भएको थियो ।
उत्तम नेपाली रमाइलो र ठट्टा गर्न पनि हौसिने स्वभावका रहेछन् । सुनिल पोखरेलले एकताक डिल्लीबजारको एक ठाउँमा जग्गा भाडामा लिएर रङ्गमञ्चलाई उत्कर्षमा पुर्याएका थिए । म अमेरिकामै थिएँ र एक साल दशैंमा नेपालमा भएको बेला सोही रङ्गमञ्चमा दशैंको उत्सव छ भन्ने निम्तो आयो । आफूले पनि नाटकमा अभिनय गर्दाका कलाकार साथीहरू, साहित्यकारहरू पनि भेटिन्छन् भनेर म सो कार्यक्रममा पुगें ।
तर त्यहाँको माहौल चिसो चिसो लाग्यो । सबै आ-आफ्नै धुनमा थिए । कोही खाइरहेका थिए । कोही पिइरहेका थिए । आ-आफ्नै संसारमा थिए । म त कुनै अपरिचित टापुमा पुगेको अनुभव गर्दै थिएँ । खासमा सुनिलले अत्यधिक मदिरा सेवन गरेकाले निशा बम भएकी रहिछन् । अरू पनि आ-आफ्नै दुनियाँमा रमाइरहेका थिए । बाहिर भने टीका लगाइदिन उत्तम नेपाली र तुलसी दिवस प्रतीक्षारत थिए ।
कलाकारहरू आउँदै टीका थाप्दै जान्थे । म त्यो दृश्य चाख मानेर हेरिरहेको थिएँ । टीका लगाउनेहरूको लाम सकिएपछि तुलसी दिवसले भने, ‘अब म तँलाई लाइदिन्छु !’
उत्तमले भने, ‘म नै तँलाई लगाइदिन्छु !’
यसपछि दुवैले टीका लिएको हात दुवैको निधारतिर लगे । रोचक शैलीमा एकैसाथ दुवैले एकअर्कालाई टीका लगाइदिए र हाँसोको फोहोरा छुटेको थियो ।
त्यो सुन्दर, रोचक र अविस्मरणीय क्षण आजपर्यन्त मेरो मानसपटलमा कुँदिएको छ ।
पछि अमेरिकाको बोष्टनमा पनि उत्तम नेपालीसँग एक भेट जुरेको थियो । उनकै सुपुत्री कवयित्री ममता कर्माचार्यले भोजनको लागि निम्तो गरेकी थिइन् म बोष्टन पुग्दा । भोजनको आयोजना उत्तम नेपालीका सुपुत्रको निवासमा रहेछ जहाँ हामी सबैले एकसाथ भोजन गरेका थियौं । उनी अमेरिकामा अस्वस्थ भएपछि थप उपचार र आरामका लागि अमेरिकामै बसिरहेका र स्वास्थ्य लाभ गरिरहेका थिए
त्यो भेट नै मेरा लागि उनीसँगको अन्तिम भेट भयो ।
स्वास्थ्य स्थिति ओरालो लागेको महसूस भएपछि आफ्नै मुलुकमा देहत्याग गर्ने मनसुवाले उनी केही महीना अघि नेपाल फर्केका रहेछन् । नेपाल आमाको एक सिर्जनशील सुपुत्रले आफ्नो इच्छानुसार आफ्नै मुलुकमा २०७८ साउन ७ गते देहत्याग गरे ।
उनको नश्वर देह नरहे पनि उनका अक्षरमा कोरिएका भावना, कुचीले कोरेका चित्रमा अंकित अभिव्यक्ति, अभिनयका माध्यमले नेपाली सिनेमाको थालनी बेलाको जगमा हालेका शिलान्यासकालीन झझल्का सदा रहनेछन् पाठक-दर्शकका मनमा । युगयुगसम्म ।
(२३ जुलाई २०२१, फल्सचर्च भर्जिनिया)
प्रतिक्रिया 4