
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले आज आफूहरु अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्ने बताएका छन् ।
एजेण्डाको नेतृत्व आफूहरुले गरेको भन्दै उनले उपेन्द्र यादव पक्षमा गएका नेताहरु पनि पछि ठाकुर पक्षमा फर्किने दाबी गरे ।
निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘मलाई के थाहा छ भने मधेस, थरुहट, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम र पिछडिएको वर्गको नेतृत्व यो पक्षले गर्छ । आज हामी अल्पमतमा छौं, भोलि हामी बहुमतमा हुन्छौं । जो साथीहरु आज जानु भएको छ, भोलि हामीसँगै आउनुहुन्छ भन्ने विश्वस्त छौं ।’
अहिले उपेन्द्र यादवले चालेको कदमलाई मधेस र इतिहासले मूल्यांकन गर्ने पनि उनले बताए । झाले भने, ‘आज यो घटना भइरहेको छ, यसको शुरुवात माननीय उपेन्द्रजीले गर्नु भएको हो । यो परिघटनालाई मधेसले र आउने दिनमा इतिहासले मूल्यांकन गर्नेछ ।’
उनले निर्वाचन आयोगको प्रक्रियाबाट जे परिणाम आउँछ त्यसलाई स्वीकार्ने बताए । आफूहरु पार्टी फुटाउनका लागि अघि नबढेको दाबी गर्दै उनले भने, ‘हामीले आधिकारिकताको दाबी गरेको पनि होइन, हामीले त लिखित जवाफ प्रस्तुत गरेका मात्रै हौं । यो त्यति ठूलो विषय होइन, त्यसैले प्रक्रियाबाट जे परिणाम आउँछ, त्यसलाई स्वीकार्छौं । हामी जनताको बीचमा छौं, जनताको बीचमा जाने छौं ।’
प्रतिक्रिया 4