Comments Add Comment

टोकियो ओलम्पिक : मोरक्कोका खेलाडीले गरे प्रतिस्पर्धीको कान टोक्ने प्रयास

१२ साउन, काठमाडौं । जापानमा जारी ओलम्पिकमा मंगलबारको खेलमा एक फरक दृश्य देखियो । बक्सिङतर्फको खेलमा मोरक्को र न्युजिल्याण्डका खेलाडीबीच प्रतिस्पर्धा चलिरहेको थियो । स्पर्धाको दुई राउण्डमा दुई पटकको कमनवेल्थ गेम्समा स्वर्णपदक जितिसकेका न्युजिल्याण्डका बक्सर डेभिड न्यिका अगाडि देखिएका थिए । साथै उनले प्रतिस्पर्धी मोरक्कोका युनिस बालामाथि निरन्तर दबाब बनाइरहेका थिए ।

यद्यपि तेस्रो राउण्डमा प्रवेश गरेपछि २२ वर्षीय बालाले आफ्नो धैर्यता गुमाए र विपक्षी खेलाडीको कान टोक्ने प्रयास गरे । तर, यस्तो अनपेक्षित घटनाबाट हडबडाएका न्यिकाले समयमा नै आफूलाई बालाबाट बचाउन सफल भए । यसपछि खेल पुनः शुरु भयो र न्यिकाले बालालाई ५–० ले पराजित गरे । यससँगै उनले क्वार्टरफाइनलमा बेलारुसका उलादजिस्लाउ स्मियालिकाउसँग प्रतिस्पर्धा गर्नेछन् ।

खेलपछि न्यिकाले विपक्षी खेलाडीले गरेको कान टोक्ने प्रयास रेफ्रीले नदेखेकोमा आश्चर्य व्यक्त गरे । ‘तपाईंले देख्नुभयो ? मलाई रेफ्रीले देखेको जस्तो लागेन । उनी सबैभन्दा नजिक थिइन्,’ न्यिकाले भने ।

न्यिकाले आफूमाथि भएको प्रयासलाई असफल पारेको भन्दै यस किसिमको गतिविधि ओलम्पिकको लागि नसुहाउने प्रतिक्रिया दिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment